सोमबार नेपाल आइपुगेकी इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेललाई नेपालमा भव्य स्वागत गरिएको छ । पूर्वको मेचीपुल हुँदै आएकी उनलाई सर्वसाधारणदेखि संघसंस्थाले स्वागत गरे ।
पौडेललाई भारत सीमावर्ती काँकडभिट्टामा नेपालीले फूलमालाले स्वागत गरे । झाँकी र र्यालीसहित गाडीमा चढाएर उनलाई काँकडभिट्टा नगर परिक्रमा गराइएको थियो । धुलाबारी, चारआली हुँदै विर्तामोड र अर्जुनधारामा उनलाई परिक्रमा गराउँदा स्थानीयले पुष्पगुच्छा र फूलमालाले स्वागत गरे । गृहनगर चारआलीमा आयोजित विशेष कार्यक्रममा पनि स्वागत तथा सम्मान गरियो ।
उक्त समारोहमा मेनुकाले सबैलाई धन्यवाद दिइन् । नेपाली कलाकारको प्रतिनिधित्व गर्दै अभिनेता विल्सनविक्रम राई तक्मे बुढाले मेनुकालाई सम्मान प्रदान गरे ।
झापामा आयोजित स्वागत कार्यक्रममा बोल्दै मेनुकाले आफूलाई नेपाली संगीतले संघर्ष गर्नुपर्छ भनेर सिकाएको बताइन् । उनले यहाँसम्म आइपुग्नु नसोचेको सफलता भएको समेत बताइन् ।
‘मलाई एकदमै खुसी लागिरहेको । मैले नसोचेको सफलता हो यो । इण्डियन आइडलमा गीत गाउँछु भनेर मात्र भगवानसँग प्रार्थना गरेकी थिएँ । यहाँसम्म आइपुग्नु यो त सोचेको भन्दा पनि ठूलो सफलता हो । जुन हामीले विरलै मात्र प्राप्त गर्न सक्छौं,’ उनले भनिन् ।
उनले अघि भनिन्, ‘सलारको गीतपछि अरु फिल्मको पनि गीत गाउने । इण्डियन इन्डष्ट्रीमा राम्रै भइरहेको छ । बलिउडको प्लेब्याक गायनमा पनि हात हालेकी छु, आफ्नो पनि तयारी गर्छु । टपटेनमा पनि समावेश हुन पाउनु सबैको लागि खुसीको कुरा हो । मेरो मात्र होइन, नेपालको लागि पनि खुसीको कुरा हो ।’
आइतबार इण्डियन आइडलको सिजन १४ को अन्तिम १० बाट मेनुका बाहिरिएकी थिइन् । उनले शोको क्रममा चर्चित ‘सलार’बाट भारतीय फिल्ममा डेब्यु गरिन् ।