आगामी ११ फागुनबाट देशव्यापी रिलिज हुने चलचित्र गोर्खा वारियरका टिम अहिले साक्षात्कारको लागि नेपाल यात्रामा रहेको छ ।
टिमले मँगलबार धरानमा पत्रकार सम्मेन आयोजना गरेको थियो भने बुधबार बिहान हेटौंडामा पत्रकार सम्मेलन आयोजना गर्दै चलचित्रको बारेमा जानकारी गराएको छ । यो टिमले बुधबार नै चितवनको नारायणघाटमा बिहिबार बुटबलमा र शुक्रबार पोखरामा पत्रकार भेटघाट आयोजना गरेर चलचित्र गोर्खा वारियरको बारेमा जानकारी दिने भएको छ ।
चलचित्र प्रचारप्रसारको क्रममा हेटौंडा आइपुगेका निर्देशक चाम्सले चलचित्र गोर्खा वारियर ७० वर्ष अघिको नेपाली मौलिक सामाजिक कथावस्तुका साथै युद्धमा गोर्खालीहरुको कथावस्तुमा आधारित रहेको बताएका हुन् ।
पत्रकारसँगको कुराकानीमा उनले गोर्खाली नेपालीहरुको इतिहासलाई चलचित्रमा समेटिएको बताए । हामी गोर्खालीलाई बहादुरीको उपनामले चिनिन्छ तर गोर्खालीहरुको विषयमा विभिन्न भारतीय चलचित्रहरुले एउटा पालेको दर्जामा राखेर चलचित्र बनाइरहेको अवस्थामा खासमा गोर्खाली के हो ? र कस्ता हुन्छन् भन्ने कुरा गोर्खा वारियरमा समेटिएका छौं, उनले भने ।
हामीले चलचित्र सोलुखुम्बुका पहाडी क्षेत्रमा, सगरमाथा, सिन्धुलीको जङ्गल र दरवार क्षेत्रका साथै मलेसियामा चलचित्र छाँयाकन गरिएका छौं, निर्देशक चाम्सले भने । एक नेपालीले हेर्नुपर्ने चलचित्र हो गोर्खा वारियर । हाम्रा पुर्खाले भोगेको दुःख कष्ट र त्यसबेलाको नेपालको परिवेश झल्किने गरी चलचित्र निर्माण गरिएको चाम्सले बताए ।
चलचित्रमा रेविका गुरुङ, रितेश चाम्ससँगै विजय लामा, कविता आले, रिअर राई, सुरज तमु, भुवनसिं राई, त्रिछु राई, दिग्गज खत्री लगायतको कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रलाई प्रशान्त थापा, राजेन्द्र घिमिरे, सुरेश राई, ज्योतिराज राई, सुमी राई, निर्मला राई परिवेश, नितम राईले संयुक्त रुपमा निर्माण गरेका छन् । चलचित्रमा एलिश कार्की र सुरेश राईको संगीत रहेको छ भने रवीन्द्र न्यौपाने र बाबु श्रेष्ठले खिचेका हुन् । चलचित्रको पटकथा, संवाद तथा लेखन निर्देशक चाम्स र गीरिराज घिमिरेको रहेको छ ।