नेशनल डेल्फिक काउन्सिल नेपालले बेलायतको लण्डनमा आयोजना गरेको ‘नेपाली चलचित्रको छ दशक, चुनौतीहरू र अन्तर्राष्ट्रिय बजारको खोजी’ विषयक कार्यक्रम सोमवार सम्पन्न भएको छ । शनिवार देखि भएको कार्यक्रममा पहिलो दिन अन्तर्क्रिया र चलचित्र प्रदर्शनी, दोस्रो दिन बेलायतका लागि नेपाली राजदूतावासमा छलफल र तेस्रो दिन ब्रिटिस फिल्म इन्स्टिच्युटका पदाधिकारीसँग छलफल र इन्स्टिच्युट भ्रमण कार्यक्रम रहेको थियो ।
यस कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहित नेपाल डेल्फिकका अध्यक्ष श्रीदेव बिएल, उपाध्यक्ष जीवन पराजुली र नेपाल तथा बेलायतबाट नेपाली चलचित्रकर्मीहरू सहभागी भएका थिए ।
बेलायतको बजारमा नेपाली चलचित्रको उपस्थिति, सम्भाव्यता, जटिलता, नेपाली डायस्पोराले खेलेको भूमिका, राज्यले गरेका प्रयासहरू, राज्यले निभाउनुपर्ने भूमिका, नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारको लागि नेपाली डायस्पोरा कम्युनिटीले राज्यबाट गरेको अपेक्षा, नेपालको आर्थिक तथा सामाजिक विकासको लागि चलचित्रको अन्तर्राष्ट्रिय बजारको महत्त्व लगायतका विषयमा अन्तर्क्रिया भएको थियो ।
अन्तर्क्रियामा बोल्दै चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले प्रवासमा बस्ने चलचित्रकर्मीलाई नेपाली चलचित्रको बजारको अध्ययन गरेर मात्र चलचित्र बनाउन सुझाव दिए । “विदेशमा बस्ने मेकरले चलचित्र बनाएपछि नेपालमा पनि प्रदर्शनका लागि हल पाइँदैन भन्ने गुनासो सुन्ने गरेको छु । तर, चलचित्र बनाउनुभन्दा अगाडि कसरी बनाउने, किन बनाउने र कसरी चलाउने भन्ने ज्ञान हुनुपर्छ । नेपालमा कति वटा हल छ रु नेपाली चलचित्रको मार्केट कति हो रु दर्शकले कस्तो चलचित्र रुचाउँछन् रु त्यसलाई पनि अध्ययन गरेर चलचित्र बनाउनुपर्छ,” उनले बताए ।
अध्यक्ष केसीले नेपाली चलचित्रको सम्भावना रहेका अन्तर्राष्ट्रिय बजारहरूमा चलचित्र प्रतिनिधि तोकेरै बोर्डले सहजीकरणको काम थालनी गर्ने बताए । यसको सुरुवात बेलायती बजारबाटै गर्न आफूले पहल गर्ने जिकिर गरे ।