चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला हेटौँडामा सुरु भएको छ । संघको आयोजनामा भएको कार्यक्रममा चलचित्र पत्रकार संघ मकवानपुर शाखाले समन्वय तथा व्यवस्थापन गरेको छ । फागुन ८ गतेसम्म चल्ने भेलामा ११ सेसनमा विभिन्न कार्यक्रम हुनेछन् । भेलामा सिनेमा र पर्यटनका विभिन्न विषयमा ११ सेसनमा संवाद हुने संघका अध्यक्ष समीर बलामीले जानकारी दिए ।
स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा संघले हेटौँडाको पल्पसा प्याराडाइज होममा कार्यक्रमको आयोजना गरेको हो । सिनेमा पर्यटनको आधारलाई अघि सार्दै संघले राष्ट्रिय भेलामा सिनेमा संवाद, अन्तरक्रिया, कार्यशाला, गोष्ठी, कार्यपत्र प्रस्तुतलगायतका विभिन्न कार्यक्रमहरू गरिने उनको भनाई छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सेन्सर बोर्डका अध्यक्ष तथा सहसचिव नेत्रप्रसाद सुवेदी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल, बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा, पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलिया, सञ्चार मन्त्रालयका प्रतिनिधि, पर्यटन मन्त्रालयका प्रतिनिधिलगायत वक्ताहरूको उपस्थिति कार्यक्रममा रहनेछ ।
यस्तै दयाराम दाहाल, नरेन्द्र महर्जन, जनक तामाङ, स्वस्तिमा खड्का, केकी अधिकारी, दिनेश डिसी, आकाश अधिकारी, निश्चल बस्नेत, अशोक प्यासी राई, मनोज पण्डित, सन्जोग बस्याल, अरुण बराल, चिरञ्जीवी पौडेल, मोहन निरौला, राजु केसी, नबल खड्का, रवि अधिकारी, के एल पीडित, विदुर गिरी, शान्तिप्रिय, ध्रुव लम्साल, प्रकाश सायमी, डब्बु क्षेत्रीलगायत चलचित्रकर्मी तथा पत्रकारहरूको उपस्थिति रहनेछ ।