चलचित्र पत्रकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना र चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबारबाट चार दिवसीय प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला भएको छ ।
कार्यशालाको शुभारम्भ गर्दै हेटौडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले नेपालमा व्यावसायिक रुपमा चलचित्र पत्रकारिता फस्टाइरहेको देख्दा खुशी लागेको बताइन् । उनले हेटौडालाई छनोट गरेर राष्ट्रिय भेला र चलचित्र पत्रकारिता कार्यशाला आयोजना गरेकोमा आभार व्यक्त गरिन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा चलचित्र र चलचित्र पत्रकारिताको सम्बन्ध अभिन्न रहेको भन्दै आगामी दिनमा यो सम्बन्धलाई अझ मजबुत बनाएर लैजानमा जोड दिए ।
चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीले देशभरका चलचित्र पत्रकारलाई चलचित्र र चलचित्र पत्रकारिताको वर्तमान अवस्थासँगै चलचित्र पर्यटन, विज्ञापन, बजारीकरणलगायतका विषयमा जानकारी दिन कार्यशाला गरिएको बताए ।
चलचित्र पत्रकार संघ नेपालका पूर्व अध्यक्ष शान्तिप्रियले नेपालमा चलचित्र पत्रकारिताको विगत र वर्तमानको अवस्थालाई कार्यपत्रमा प्रस्तुत गरेका थिए । कार्यपत्रमा चलचित्र पत्रकारिताको पृष्ठभूमि, प्रारब्ध, रंग पत्रकारिताको वर्तमान अवस्था (पत्रपत्रिका, रेडियो÷एफएम, टेलिभिजन, अनलाइन÷डिजिल युग), चलचित्र पत्रकारिताको उद्देश्य र प्रभाव (चलचित्र पत्रकारिता र व्यावसायिक सम्बन्ध) विषयलाई समेटिएको छ ।
त्यस्तै कार्यपत्रमा चलचित्र पत्रकारिताको विद्यमान अवस्था), चलचित्र पत्रकारिताका चुनौती, चलचित्र पत्रकारितामा आकर्षण कि विकर्षण ?, चलचित्र पत्रकार संघको इतिहास र वर्तमान अवस्था र कार्यदिशालाई पनि उल्लेख गरिएको छ ।
कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले मिडिया हाउसले बिट पत्रकारिताका रुपमा चलचित्र पत्रकारितालाई स्वीकार्नु स्वागत योग्य भएको बतँए । उनले शान्तिप्रियले कार्यपत्रमा उल्लेख गरे जस्तो प्रिन्ट पत्रकारिताको अवसान भएको कुरा गलत भएको भन्दै त्यसलाई ‘डिजिटल रुपान्तरण’का रुपमा राख्न सुझाव दिए । ‘हाम्रो मिडिया अहिले फेसबुक, युट्युब तथा डिजिटल प्लेटफर्ममा गइसकेका छन् । त्यसकारण अहिले नै प्रिन्ट पत्रकारिताको अवसान भन्नु अलिक हतारो भयो कि ?’ उनले भने ।
बलले चलचित्र पत्रकारितामा व्यावसायिकता भनेको क्षमता अभिवृद्धिका रुपमा आफूले बुझेको बताए । ‘उहाँले चलचित्र पत्रकारितामा व्यावसायिकताको सवालमा विशेषत फाइदा र आर्थिक कुरालाई जोड दिनुभएको छ । तर मेरो बुझाईमा व्यावसायिकता भनेको क्षमता अभिवृद्धि हो । उहाँले कार्यपत्रमा यो कुरालाई अझ प्रष्ट खुलाइदिनुभएको भए राम्रो हुन्थ्यो’, उनले भने ।
त्यस्तै बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले ‘चलचित्र ऐन’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रमा छलफल गर्दै निर्माता तथा निर्देशक आकाश अधिकारीले कार्यपत्रमा प्रदेशको कथा विषयवस्तुलाई प्राथमिकता दिएजस्तै नेपालका कथालाई विषयवस्तुलाई पनि समेट्न सकेमा राम्रो हुने सुझाव दिए । उनले रोल्पा, डोल्पामा छायांकन हुने फिल्महरु बागमती प्रदेशमा सुटिङ गर्न आए भने पनि त्यसलाई सहुलियतको व्यवस्था हुनुपर्ने माग गरे ।
नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले बनिसकेका फिल्म प्रदर्शनलाई सापकोटाले आफ्नो कार्यपत्रमा प्रस्तुत नगरेकोमा गुनासो गरे । उनले फिल्मको बजारको कुरा छुटेको र फिल्म हल सञ्चालनको विषयमा स्थान नदिएको बताए ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले प्रदेश र संघीय सरकारले बनाउने चलचित्र ऐन एकापसमा बाझ्ने किसिमको नहुनुपर्ने तर्क राखे ।
राष्ट्रिय भेलामा पत्रकार ध्रुव लम्सालले ‘नेपाली चलचित्र उद्योगको अवस्थाः हिजो आज र भोलि’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि टिप्पणी गर्दै पत्रकार विदुर गिरीले कार्यपत्र नभई टिपोट मात्र भएको बताए । उनले कार्यपत्रमा धेरै कुरा छुटेकाले कार्यपत्रमा मेहनत नदेखिएको उल्लेख गरे ।
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले फिल्म पर्यटनका बारेमा धेरै कुराकानी भए पनि यो विषयमा गहन छलफल हुनुपर्ने बताए । उनले चलचित्र पत्रकारिता धेरै पढिने विधा भएकाले यसलाई ठट्टाको रुपमा नलिन आग्रह गरे । ‘अब कन्टेन्टको विषयमा ध्यान दिनुपर्छ । चलचित्र पत्रकारितामार्फत चलचित्रको आयाम फेर्ने समय आएको छ । त्यसकारण चलचित्रका कन्टेन्ट लेख्दा यसको प्याटर्न चेन्ज गरौं । मर्यादित, विश्वसनीय र स्तरीय कन्टेन्ट बनाउनतिर ध्यन दिऔं’, उनले भने ।
‘चलचित्र पत्रकारिता र आचारसंहिता’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै फूलमान बलले चलचित्र पत्रकारिता गर्नेलाई चलचित्रबारे ज्ञाने हुनुपर्ने सुझाव दिए । ‘अहिले रहरमा आउने, बुम, क्यामरा बोकेर पत्रकारिता गर्नेलाई आचारसंहिताको केही थाहा छैन । भ्यूज पत्रकारिता बढ्यो’, फूलमानले गुनासो गरे ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले ‘क्लिन फिड र अनलाइन बजार व्यवस्थापन’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
हेटौडा ७ फागुन । चलचित्र पत्रकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना र चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार चार सेसनमा अन्तरसंवाद र एक फिचर लेखन कार्यशाला गरिएको छ ।
दोस्रो दिनको सेसनमा ‘फिल्म सेन्सर कि ग्रेडिङ ?’ विषयमा अन्तरसवांद गरियो । पत्रकार सञ्जोग बस्यालले सहजीकरण गरेको अन्तरसंवादमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहाल, फिल्म निर्देशक मनोज पण्डित, सेन्सर बोर्डका सदस्य निश्चल बस्नेत र चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी वक्ता थिए ।
बोर्डका पूर्व अध्यक्ष दयाराम दाहालले सेन्सर बोर्डका कारण चलचित्र विकास बोर्डले अपजस खाइरहने बताए । ‘सेन्सर बोर्डलाई या त बोडकै अधिनमा ल्याउनु पर्यो, या त संसर बोर्डलाई सूचना तथा सञ्चार मन्त्रालयभन्दा बाहिर निकाल्नुपर्यो’, उनले भने, ‘सेन्सर बोर्डलाई प्रमाणिकरण बोर्ड नाम राखौं । अनि ग्रेडिङको पनि काम गरौं ।’
फिल्म निर्देशक मनोज पण्डितले राज्यको दायित्व जनता र दर्शकसँग हुनुपर्ने बताए । ‘राज्यको दायित्व फिल्मकर्मीलाई प्रोत्साहन गर्ने हो, लठ्ठी बोकेर थर्काउने होइन,’ सेन्सर बोर्ड सार्वजनिक गरेको पछिल्लो २० बुँदे कार्यविधि प्रति लक्षित गर्दै उनले भने, ‘यो विधि प्रति हाम्रो आपत्ति छ । फिल्मकर्मीलाई सेल्फ सेन्सरसिपको अधिकार दिनुपर्छ ।’
बोर्डका सदस्य रवि अधिकारीले विकास बोर्डले सेन्सरका लागि सिफारिस दिने गरे पनि सेन्सर पछि त्यसको गाली बोर्डले खाने गरेको स्मरण गरे । उनले सेन्सर बोर्डका सदस्यलाई तीनदेखि पाँच वर्षसम्म तालिम लिएर योग्य बनाई बोर्डमा नियुक्ति दिनुपर्ने बताए ।
सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यले २०२६ सालमा बनेको ऐनमा टेकेर चलचित्र हिडिँ रहेकाले त्यसैमा रहेर नयाँ बुँदा थपिएको भन्दै सेन्सर बोर्डको बचाउ गरे । उनले अहिलेको अवस्थामा बनाइएका बुँदालाई परिवर्तन गर्न नसकिने बताए ।
हेटौडा ७ फागुन । चलचित्र पत्रकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना र चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार चार सेसनमा अन्तरसंवाद र एक फिचर लेखन कार्यशाला गरिएको छ ।
दोस्रो दिनको तेस्रो सेसनमा ‘सिनेमा बजार’ विषयमा अन्तरसवांद गरियो । पत्रकार सुब्रतराज आचार्यले सहजीकरण गरेको अन्तरसंवादमा नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जन, अभिनेत्री स्वस्तिमा खड्का, चलचित्र विकास बोर्डका सदस्य राजु केसी र हाइलाइट्स नेपालका प्रबन्ध निर्देशक जनक तामाङ वक्ता थिए ।
चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले आफूहरु पनि नेपाली चलचित्रको बजारको खोजीमा रहेको बताए । उनले चलचित्र भवनको संख्या घटेसँगै त्यसको चलचित्रको बजार र व्यापार पनि घट्दै गएको दाबी गरे ।
‘४ सय ५० बाट हलको संख्या १ सय ५० मा झरिसकेको छ । जबकी अहिले चलचित्र निर्माणको संख्या १ सयको हाराहारीमा छ । तराईमा हल छ, तर बजार शुन्य छ । यो अवस्था कसरी आयो हामीले समीक्षा गर्नुपर्ने बेला भइसकेको छ’, उनले भने, ‘हामी अहिले निराश छौं । सिंगल थिएटर हराउने अवस्था आइसकेको छ । दर्शकहरु राम्रो हिन्दी र नेपाली चलचित्र आउँछन् कि भनेर कुरेर बसिरहेका छन् ।’
महर्जनले चलचित्र विकास बोर्डमा ‘भिजन’ लिएर आउने मान्छेको अभाव भएकाले त्यसको मारमा चलचित्रकर्मी परेको गुनासो गरे । उनले बोर्डले चाहेको खण्डमा स्थानीय सरकारसँग समन्वय गरी हल बनाउन सकिने सुझाव दिए । महर्जनले आफूहरु सरकारलाई ‘कर’ तिर्न सधैं तयार रहे पनि सरकारबाट त्यसको सट्टा के पाउन सकिन्छ ? भनेर प्रश्न गरे ।
चलचित्र विकास बोर्डका सदस्य राजु केसीले नेपाली चलचित्रले पाँच दशकको यात्रा गरिरहँदा बजार कति खोज्न सकियो भन्दै प्रश्न गरे । ‘धेरै टाढा नजाउँ, नजिकै विश्वकै दोस्रो ठूलो चलचित्र बजार बलिउड छ । तर पनि त्यहाँ हामीले बजार खोज्ने प्रयास गरेका छैनौं’, उनले भने, ‘अर्को कुरा हामीले चलचित्र संस्कारको विकास गर्न सकेनौं । यसतर्फ राज्यको ध्यान जान जरुरी छ ।’
अभिनेत्री स्वस्तिमा खड्काले आफू निर्माताका रुपमा आउँदा बजारको विषयलाई नजिकबाट बुझेको खुलाइन् । ‘पहिला अभिनेत्रीकै रुपमा काम गर्दा म मेरो पारिश्रमिक लिएर त्यही अनुसार अभिनय गर्थें । अब निर्माताका रुपमा आउँदैछु । चलचित्र निर्माणका विषयमा मेरो एकजना साथीसँग आर्थिक पाटोको कुरा गर्दा निर्मातालाई पैसा उठाउन गाह्रो हुने गरेको थाहा पाएँ’, स्वस्तिमाले भनिन्, ‘चलचित्र दिमाग खराबको प्रदर्शनकै समयमा निर्माताको दुःख थाहा पाएँ । चलचित्रको बजारको कुरा गर्ने हो भने मैले पनि पारिश्रमिक लिँदा गर्व गर्ने अवस्था छैन ।’
हाइलाइट्स नेपालका प्रबन्ध निर्देशक जनक तामाङले नेपाली बजारमा ओटिटी प्लेटफर्मको माहौल नभएको जिकिरे गरे । उनले नेट्फ्क्लिसले भर्खरै मात्र नेपाली बजारमा आफूलाई भित्र्याएको उल्लेख गर्दै त्यसको प्रयोगका विषयमा अधिकांश जानकार नरहेको दाबी गरे ।
हेटौडा ७ फागुन । चलचित्र पत्रकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना र चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार चार सेसनमा अन्तरसंवाद र एक फिचर लेखन कार्यशाला गरिएको छ ।
दोस्रो दिनको दोस्रो सेसनमा ‘मिडिया प्रमोसन र कर्पोरेट लगानी’ विषयमा अन्तरसवांद गरियो । पत्रकार अशोकप्यासी राईले सहजीकरण गरेको अन्तरसंवादमा चलचित्र निर्देशक निश्चल बस्नेत, निर्माता तथा निर्देशक आकाश अधिकारी, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल र निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँ वक्ता थिए ।
सेसनमा आकाश अधिकारीले आफू नेपाल उद्योग वाणिज्य महासंघको समितिमा रहँदा चलचित्र र उद्योगबीच नजिकपनको अवस्था नदेखेको बताए । उनले उद्योगीलाई चलचित्रमा लगानी, रेभेन्यु, करका कुरा थाहा नभएकोसमेत बताए । ‘हामी चलचित्रमा कर्पोरेट लगानीको कुरा गर्छौ । तर अझै पनि हामीले उद्योग वाणिज्य महासंघमा तथ्यपरक डाटा देखाउन सकेका छैनौं’, उनले भने, ‘निर्माताले फरक फरक किसिमको डाटा दिएपछि ती डाटा समाचारमा आउँछन् । जसकारण उद्योगी र चलचित्रकर्मी नै अन्योलमा छन् । डाटाबेस नभईकन कर्पोरेट लगानी आउँदैन ।’
निर्माता तथा अभिनेता रविन्द्र सिंह बानियाँले चलचित्रको प्रमोसनमा मिडियोका नयाँ आयाम खोज्ने प्रयासमा आफूहरु रहेको बताए । चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ निर्माणदेखि रिलिजको तयारीमा रहेको ‘महाजात्रा’ सम्म आइपुग्दाको मिडिया प्रमोसनको स्मरण गर्दै अब भने नयाँ योजना र आयाममा चलचित्र प्रमोसन गरिने खुलाए । ‘हामीले तथ्यमा आधारित भएर समाचार लेख्न सक्यौं भने चलचित्र हेर्न दर्शक आउँछन् । तर एकै चलचित्रको समाचार सञ्चारमाध्यममा फरक फरक ढंगले आइदिनाले दर्शकमा अन्योलता पायौं । मिडियाले पनि सेल्फ सेन्सरसिप गर्नुपर्छ,’ उनले भने ।
नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले नेपालमा अझै पनि फिल्मको मिडिया प्रमोसन परम्परागत शैलीको रहेकाले त्यसलाई परिवर्तन गर्न सुझाव दिए । ‘अब मिडिया प्रमोसनलाई व्यावसायिक ढंगबाट अगाडि बढाउनुपर्छ’, बलले भने ।
निर्देशक निश्चल बस्नेतले वर्तमान समयमा व्यवसाय र पत्रकारिता छुट्याउने पर्ने बताए । उनले पत्रकारले व्यावसायिक धर्म निर्वाह गरेर पत्रकारिता गरे फिल्म प्रमोसनमा सघाउ पुग्ने बताए ।
हेटौडा ७ फागुन । चलचित्र पत्रकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना र चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार चार सेसनमा अन्तरसंवाद र एक फिचर लेखन कार्यशाला गरिएको छ ।
दोस्रो दिनको चौथो सेसनमा ‘सिनेमा पर्यटन’ विषयमा अन्तरसवांद गरियो । सञ्चारकर्मी दिनेश डिसीले सहजीकरण गरेको अन्तरसंवादमा नेपाल पर्यटन बोर्डका डा. सूर्य थपलिया, चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहाल, अभिनेत्री केकी अधिकारी र चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी वक्ता थिए ।
पर्यटन बोर्डका डा. सूर्य थपलियाले आजसम्म पनि चलचित्र र पर्यटनलाई उद्योगको मान्यता नदिइरहँदा पनि चलचित्रले नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान दिइरहेको बताए । उनले गाउँका अग्र्यानिक कथा, संस्कृतिलाई प्राथमिकता दिएर चलचित्र निर्माण गर्न सके त्यसले आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा योगदान दिने बताए ।
चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहालले आफू चलचित्र विकास बोर्डमा हुँदा सुरु गरेको ‘स्टोरी बैंक’को अवधारणा चलचित्र पर्यटनकै लागि ल्याएको बताए । उनले बोर्डमार्फत सञ्चार मन्त्रालयमा विश्वका ४३ वटा देशमा चलचित्र पर्यटन दुत नियुक्त गर्न माग गर्दै प्रस्ताव पेस गरेको स्मरण गर्दै त्यसमा मन्त्रालयबाट नीतिगत उल्झन रहेको बताए । उनले आफ्नै पालामा ‘फिल्मिङ इन नेपाल’ नामक पुस्तक प्रकाशन गरेको स्मरण गर्दै त्यो पुस्तकले नेपालको चलचित्र पर्यटनमा केही हदसम्म योगदान दिएको दाबी गरे ।
अभिनेत्री केकी अधिकारीले नेपालका सम्भावना भएका स्थानलाई ‘पर्यटन हटस्पट’ बनाउन सकिने भन्दै त्यसमा चलचित्रकर्मी, सरकारले चासो दिनुपर्ने बताइन् । उनले आफूले अभिनय गरेका चलचित्रका गीत र दृश्यले चलचित्र पर्यटनमा योगदान दिएको स्मरण गरिन् ।
विकास बोर्डका अध्यक्ष भुवन केसीले पर्यटनसँग नेपाली चलचित्र रहेकाले विदेशीले जबसम्म नेपाली चलचित्र हेर्दैनन्, तबसम्म नेपालको पर्यटन प्रवद्र्धन नहुने ठोकुवा गरे । उनले नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्नका लागि चलचित्र विकास बोर्डले निरन्तर छलफल गरेको सम्झँदै लण्डन र कतार भ्रमणका क्रममा त्यहाँका राजदुतसँग चलचित्र पर्यटन प्रवद्र्धनका लागि पहल गरेको बताए ।