भारतको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपाली नाटक ‘क्लेशाः’ मञ्चन भएको छ । प्रतीक्षा कट्टेलको लेखन र विजया कार्कीको परिकल्पना तथा निर्देशन रहेको नाटक ‘क्लेशाः’ को २५ औं भारत रंग महोत्सवमा मञ्चन भएको हो ।
भारतको राष्ट्रिय नाट्य विद्यालयले आयोजना गर्ने महोत्सवमा नाटक क्लेशाः नयाँ दिल्लीमा र उत्तरखण्डको रामनगर नैनीताल मा गरी दुई मञ्चन भएको थियो । नयाँ दिल्लीको एलटिजी अडोटोरियममा फेब्रुअरी १७ र रामनगरको नारायण दत्त अडोटोरियममा फेब्रुअरी १९ मा मञ्चन भएको हो ।
करमन कला समूहको प्रस्तुति रहेको नाटकमा सुरक्षा पन्त, कुशल पाण्डे, सुदीप खतिवडा, सरिता गिरी, विजय बराल, विकास जोशी, रोशनी कार्की, स्वप्निल घिमिरे, सन्दिप श्रेष्ठ, संयोग गुरागाईं, मिलन कार्की, सुजन खतिवडा, सविना थापा, सरस्वती अधिकारीलगायत कलाकारको अभिनय छ ।
अभिनेत्री सुरक्षा पन्तको डेब्यू नाटक रहेको नाटकको महोत्सव टिममा निर्देशक कार्कीसँगै विभिन्न प्राविधिक भूमिकासहित रिजन परियार, उमेश तामाङ, अनुप न्यौपाने, रूपक खरेल, रूजा राउत र केदार श्रेष्ठ छन् ।