अभिनेता दयाहाङ राई यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र रङ्गेलीमा ग्याङस्टार चरित्रमा देखिँदै छन् । दयाहाङ रङ्गेलीमा विजय पात्रको भूमिकामा छन् ।
मैले अहिलेसम्म गरिरहेको चरित्रहरू चाहिँ प्राय ग्रे चरित्र छन् । ती चरित्रमा नेगेटिभ र पोजेटिभ दुवै कला छ । रङ्गेलीको चरित्रलाई पनि ग्रे चरित्र मान्न सकिन्छ, तर आम मानिसको आम सोचाइबाट हेर्दा यसमा डार्क चरित्र नै देखिन्छ । चलचित्रमा विजयभित्र रहेका मानवता र अनुभूतिका कुरा छ, दयाहाङ भन्छन् ।
दयाहाङ रङ्गेलीलाई सूक्ष्म तरिकाले हेरिरहँदा भोलिका दिनमा हरेक मान्छेसँग कुराकानी गर्दा विजयजस्तो मान्छे बाहिर निस्किन्छ कि भन्नेमा ढुक्क छन् । विजय जस्तो मान्छे निस्कियो भने हामीलाई नै घात हुन्छ कि भन्ने अनुभूति गराउँछ जस्तो लाग्छ । अरू चलचित्रमा मेरो चरित्रले समाजका एकदमै सामान्य मान्छेहरूको जीवनलाई उठान गरेको छ । रङ्गेली मा पनि सामान्य मान्छे कसरी असामान्य हुँदै जान्छ भन्ने कुरा देखाउँछ,दयाहाङले भने ।
दयाहाङको बुझाइमा विजय चरित्र भित्र कहीँ न कहीँ बिसाउने ठाउँ पायो भने उसले सारा चिज बिसाउने इच्छा हुन्छ । मेरो लागि यो चाखलाग्दो यात्रा थियो । किनभने विजयका लागि एउटा चुनौतीमा गएर उसको जीवनको यात्रा सकिएको छ । दयाहाङ भन्छन् ।
दयाहाङका लागि रङ्गेली को विजय चरित्र आफैँमा चाख लाग्दो चरित्र पनि रहेछ । विजयले पाउने साथीहरूको साथ, आफूभन्दा अग्रजहरूले दिएको माया, प्रेमिकाले दिएको साथ चाख लाग्दो कुरा हो । तर त्यति हुँदाहुँदै पनि वरपरकाले उसका कमजोरीलाई हतियार बनाइरहेका हुन्छन् । जसले हतियार बनाउन खोज्छ, उसको लागि त्यो कसरी फर्केर आउँछ भन्ने कुरा चाहिँ मलाई अर्को सबैभन्दा चाखलाग्दो लाग्यो । कसैलाई पनि हीन भावले हेर्नु हुँदैन भन्ने सन्देश पनि चाखलाग्दो छ । त्यो चरित्र निभाइरहँदा पनि आफूलाई महसुस गरिरहेको थिए, उनी भन्छन् ।
दयाहाङको बुझाइमा कोही मान्छे पनि समाजमा खल पात्र हुँदैनन् । उनीहरू समाजभित्र फरक भएकैले पनि ती पात्रलाई समाजले इग्नोर गर्ने गरेको उनको बुझाई छ । हरेक मान्छेमा फरक पाटो हुन्छ । म यसरी यो बाटो पुग्छु भनेर जो मान्छे यात्रा गरिरहेको हुन्छ । समाज अगाडी दौडिरहँदा कहिँकतै त्यस्ता मान्छे छुट्नु हुन्नँ भन्ने ख्याल राख्नुपर्छ । उसको आवश्यकता सुन्नुपर्छ । उसको पनि समस्या समाधान गर्नेतिर समाज लाग्नुपर्छू, दयाहाङ भन्छन् ।
‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।
चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह(निर्माता हुन् । विवेक खड्का योलो एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।