नाटक ‘झोडा’ मञ्चन अवधि थपिएको छ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चनरत नाटकको समय ४ दिन थपिएको हो । दर्शक माग बढेपछि फागुन २६ सम्मलाई समय थपिएको नाटकका परिकल्पनाकार तथा निर्देशक चेतन आङथुपोले जानकारी दिए । यसअघि नाटक फागुन २२ गतेसम्म मञ्चन हुने तय भएको थियो ।
नाटकमा पूर्वी मधेसमा झोडा फाँडेर बस्ने आदिवासी समुदायको कथा समेटिएको छ । नाटक मंगलबारबाहेक साताको प्रत्येक दिन साझ पाँच बजे र शनिबार दिउँसो १ बजे मञ्चन हुनेछ ।
चुलाचुली रंगमञ्चको प्रस्तुति रहेको नाटकमा कलाकार मन कुमार योङ्गहाङ, रमिला राई, उदय वेघा, बेन्वो सन्तोष, मनिस मगर , बविना राई, मिना नेम्बाङ, विपिसा राई, मनिक शंकर, युगल लिम्बू, दीपक खरेल, प्रविन भण्डारी, चेतना आचार्य र प्रिन्स तामाङको अभिनय छ ।
गणेश रसिकको उपन्यास ‘आकाशगंगाको ओतमुनि’ मा आधारित नाटकको नाट्य रूपान्तरण सुमन लिङ्देनले गरेका छन् । नाटकका निर्माता सुरेश माङ्पाहाङ राई हुन् । नाटकमा प्रयोग गरिएको गीत सुन्दर कुरुप र ताया राईले लेखेका छन् ।