नेपाली फिल्ममा योगदान पुर्याउने ७ जना महिला फिल्मकर्मीलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको हात बाट सम्मान प्रदान गरिएको छ ।
बुधबार चाबहिलस्थित चलचित्र विकास बोर्डको आयोजनामा भएको कार्यक्रममा अभिनेत्री केकी अधिकारी, प्रियंका कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल, चलचित्र पत्रकार शारदा थापालाई जनही नगद राशि पच्चीस हजारसहित प्रमाणपत्रले सम्मान गरिएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर महिला चलचित्रकर्मीलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रमसँगै अन्य विविध सिर्जनात्मक क्रियाकलापलाई बोर्डले निरन्तरता दिने पनि मन्त्री शर्माले बताईन् ।
कार्यक्रममा चलचित्रमा नारी विषयमा दुईवटासंवादगरि अनुभव आदान प्रदान गरिएको थियो । पहिलो संवाद महिला सशक्तिकरणमा महिला चलचित्रकर्मीको भुमिका, ‘हिजोआज र भोली’ विषयमा गरिएको थियो । पहिलो संवादमा चलचित्रकर्मी गौरी मल्ल, झरना थापा, केकी अधिकारी, निर्देशक रक्षासिंह राणा रहेका थिए भने शारदा थापाले सहजिकरण गरेकी थिइन् । यसैगरि अर्को संवाद नेपाली चलचित्रको सुरुवाती अवस्था, चलचित्र क्षेत्रमा महिलाको समस्या र चुनौती विषयमा गरिएको थियो । संवादमा प्रथम अभिनेत्री भुवन चन्द, करिस्मा मानन्धर र कलाकार सिल्पा मास्के, सहितको प्यानल डिस्कशन गरिएको थियो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सञ्चार मन्त्री शर्मालाई दोस्रो कार्यकालको पहिलो कार्यक्रममा स्वागत गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘मन्त्रीज्युसँग हामीले धेरै कार्य योजना निर्माण गरेका थियौँ । उहाँनै पुनः मन्त्री बनेर आउँदा बोर्डलाई सहज भएको छ । हाम्रो कार्ययोजनाले छिटै मुर्तरुप पाउनेछन्’, अध्यक्ष केसीले भने ।
कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव रामहरी सुवेदी, चलचित्र विकास बोर्डका सदस्यहरू रवि अधिकारी, राजु केसी, केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषिराज आचार्य, प्रथम अभिनेत्री भुवन चन्द, अभिनेत्री चैत्य देवी, करिश्मा मानन्धर, चलचित्र निर्देशक रक्षा सिंह राणा, चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी लगायत सहभागी थिए ।