सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भएको छ । महोत्सव उद्घाटन गर्दै प्रदेश प्रमुख तीलक परियारले गला र कलामार्फत प्रदेशको पहिचानलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा अगाडि बढाउन सकिने बताए ।
संघीय सांसद सोबिता गौतमले कर्णालीको प्राकृतिक सौन्दर्य विश्वकै लागि लोभलाग्दो भएको बताइन् । फिल्म निर्माण तथा ऐन बनाउन आफूले संसदमा आवाज उठाउने प्रतिबद्धता उनले व्यक्त गरिन् ।
कर्णालीमा लुकेका कथा, कला, रितिरिवाज, संस्कृति, परम्परा र पर्यटकीय सम्पदालाई उजागर गर्ने उद्देश्यले महोत्सवको विशेष कार्यक्रम अन्तर्गत विमर्श सत्र आयोजना गरिएको थियो ।
कर्णाली क्षेत्रबाट नेपाली कला, बाद्यबादन, नृत्य कलाको प्रवद्र्धनमा योगदान दिएका प्रेमदेव गिरी र कुलमान नेपालीलाई सम्मान गरियो । सुर्खेतमा बसेर फिल्म निर्माण हल संचालन गरेका डाक्टरसिंह गुरुङ्गलाई समेत सम्मान गरियो ।
गएको फागुन महिनामा ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने उद्देश्यका साथ काठमाडौंमा महोत्सव सुरु भएको थियो ।
आयोजकले आइतबार दैलेखको गुराँस गाउँपालिकामा चलचित्र र पर्यटन विषयमा गुराँस संवाद चलाएका छन् ।
गाउँपालिका ८ र ६ तथा वीरेन्द्रनगर नगरपालिका १६ को सिमाना भ्यूचुलामा आयोजित गुराँस संवाद तथा चलचित्र पर्यटन अन्तरक्रियामा अध्यक्ष केसीले गुराँसको प्राकृतिक हिसाबले मनोरम वातावरण नै चलचित्र क्षेत्रको लागि महत्वपूर्ण हुने बताए ।
गाउँपालिका अध्यक्ष टोपेन्द्र बिसीले गुराँसमा चलचित्र निर्माण गर्न आह्वान गरे । गाउँपालिकामा फिल्म निर्माण गर्न आउनेलाई सघाउने प्रतिवद्धता उनले जनाए ।
गाउँपालिका अध्यक्ष बिसी, बोर्ड अध्यक्ष केसी, साहित्यकार तथा शैक्षिक अगुवा महेन्द्रकुमार मल्ल , वडाअध्यक्ष दीपेन्द्र वलीले उक्त विषयमा छलफल चलाए ।