अभिनेत्री सुजाता तिमिल्सिना भिरबाट लडेर घाइते भएकी छिन् । फिल्म ‘द्रौपदी’ सुटिङको क्रममा डोल्पाको अप्ठ्यारो लोकेसनमा सुटिङ गर्दागर्दै मंगलबार दिउँसो सुजाता भीरबाट लडेर घाइते भएकी हुन् ।
उनको मुख, दाँत तथा हातखुट्टामा चोट लागेको छ । उनको मुड्केचुला गाउँपालिकास्थित स्थानीय अस्पतालमा उपचार भइरहेको फिल्मका निर्माता तथा निर्देशक ऋषिराज आचार्यले जानकारी दिए ।
एउटा अग्लो ठाउँमा सुटिङ भइरहेको थियो । एकाएक खुट्टा चिप्लिएर उनी लडिन्, निर्देशक आचार्यले भने,अहिले उनको स्वास्थ्य स्थिति खतरामुक्त छ । गाह्रो भएमा काठमाडौँ पठाउनु पर्ला ।
कलाकार घाइते भएपछि मंगलबार सुटिङ अवरुद्ध भएको थियो । सुजाता द्रौपदीका लागि अडिसन दिएर अभिनेत्रीका लागि चयन भएकी हुन् ।
अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरी निर्माण भइरहेको भनिएको फिल्ममा आश्वीनी शाही, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली, रवि ओड, सीता बौडेल, सुरज अधिकारीलगायत कलाकार छन् ।