सत्य हरिश्चन्द्रको कथामा आधारित नाटकको विराटनगरमा मञ्चन सुरु भएको छ । भारतेन्दु हरिश्चन्द्रले लेखेको उक्त नाटकमा आधारित भएर भारतमा पहिलो फिचर फिल्म बनेको थियो भने नेपाली भाषाको डब गरिएको पहिलो फिल्म पनि ‘सत्य हरिश्चन्द्र’ नै हो ।
विराटनगरको आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा ‘सत्य हरिश्चन्द्र’को प्रदर्शन सुरु भएको हो । शिक्षण पेशा र साहित्यमा आबद्ध रंगेलीका केदार सत्यालले २०३३ सालमा नेपालीमा अनुवाद गरेको उक्त नाटकले मञ्चमा स्थान पाएको छ ।
एक घण्टा ४५ मिनेट मञ्चन अवधिको यो नाटकमा राजा हरिश्चन्द्रसँगै रानी शैव्या, भगवान ईन्द्र, नारदमुनी, विश्वामित्र लगायत पात्रहरु देखिन्छन् । नाटकमा प्रदीप दाहाल, दीक्षा मिश्र, सविन भट्टराई, रविन चिमरिया, आयुषप्रसाद कोइराला, विकास अधिकारी, निशान राई, जितेन्द्र रजक, पंकज शाह, मेलिना कार्की, एलिजा ठाकुर, दिवश ढकाल, रागन मानन्धर, दिक्षा चौधरी, मनिषकुमार ठाकुर लगायतको अभिनय छ ।
भरत कार्कीको प्रकाश परिकल्पना, सविन भट्टराईको मञ्च परिकल्पना तथा सहनिर्देशनमा तयार यस नाटक चैतको ३० गतेसम्म साँझ सवा ५ बजेबाट मञ्चन हुने गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।