कलाकार एवं निर्देशक शंकर आचार्यले नयाँ टेलिश्रृंखला ‘विधुवाको सिन्दूर’को ट्रेलर सार्वजनिक गरेका छन् । उनको निर्माण, निर्देशन र अभिनय रहेको यो सिरियल शुक्रबारदेखि हिमालय प्रिमियम, हिमालय टिभी र युट्युब च्यानलमा आउँदैछ ।
वरिष्ठे इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको चार मिनेट लामो ट्रेलर गाउँको एक परिवारभित्र हुने उतारचढावपूर्ण सम्बन्ध र प्रेमको कथावस्तुमा आधारित छ । पतिको निधनपछि जीवन बाँच्ने, श्रृंगार गर्ने, विवाह गर्ने कुरामा भेदभाव गर्नुहुँदैन भन्ने सामाजिक सन्देश श्रृंखलाले दिने आचार्यले बताए ।
‘विधुवाको सिन्दूर’मा विद्या कार्की, रोहित कार्की, सुमन पाण्डे, लक्ष्मी थापा, सपना कँडेल, गीता खड्का, दिप्सन कार्की, हिमाल चौलागाईं र अस्मिता तामाङको उक्त शृंखलामा अभिनय छ । विधुवाको भूमिकामा अस्मिता देखिंदैछिन् ।
यो सिरियल शुक्रबारदेखि हिमालय प्रिमियममा बेलुका ७ बजे, सोही दिन युटयुबमा साढे ७ बजे र सोमबार साढे ५ बजे हिमालय टिभीमा पुनः प्रसारण हुनेछ ।