तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव शनिबार रामेछापमा सम्पन्न भएको छ । महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ सर्वोत्कृष्ट सिनेमा घोषित भएको छ । यस्तै निर्देशनमा भने दिमाग खराबबाट निश्चल बस्नेत सर्वोत्कृष्ट घोषित भए ।
अभिनेत्रीतर्फ दिमाग खराबबाट स्वस्तिमा खड्का सर्वोत्कृष्ट हुँदा ‘नाङ्गो गाउँ’बाट दयाहाङ राई सर्वोत्कृष्ट अभिनेता भए । यस्तै सर्वोत्कृष्ट घोषित सतीदेवी पटकथामा पनि आफ्नो कब्जा जमायो । अभिनेत्री मलिका महतले यही सिनेमाबाट बेस्ट एक्ट्रेस जुरी मेन्सन अवार्ड जितिन भने सत्यराज चौलागाईं निर्देशित तथा मुकुन भुषाल अभिनित विच्छेदले जुरी मेन्सन अवार्ड जित्यो । यस्तै रंग संयोजनमा दिमाग खराबका राजेन्द्र मोक्तान सर्वोत्कृष्ट भए ।
यसैगरी सर्ट फिल्म तर्फ परिच्छेद सेनको मदर उत्कृष्ट हुँदा बेस्ट कल्चरल फिल्ममा बुद्दिया एस मगर निर्देशित मगर भाषाको माराङले बाजी मर्यो । यस्तै, सिनेमा आर्टस् उत्कृष्ट सिनेमा निर्माण कम्पनी घोषित भयो ।
महोत्सवमा चर्चित चलचित्र दिमाग खराब,नाङ्गो गाउँ,बिच्छेद,सतीदेवी,डेसान लगायत चलचित्रहरु निःशुल्क प्रदर्शन भए । यी सिनेमाको साथमा सर्ट फिल्म,डकुमेन्ट्री र विभिन्न भाषाभाषीका चलचित्रहरु पनि प्रदर्शन भए ।
महोत्सवमा सिनेमा प्रदर्शनका अलावा बिभिन्न विषय सिनेमा संवाद कार्यक्रम पनि भएको आयोजकले जानकारी दिएको छ । रामेछाप नगरपालिकाका नगर प्रमुख लव श्री न्यौपानेले पनि दर्शक संग बसेर सिनेमा हेरे । उनले सिनेमाले मनोरंजन मात्र नभई समाजलाइ संदेश पनि दिने बताए ।
रामेछाप नगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा भएको महोत्सवमा २००० जना भन्दा बढी दर्शकले सिनेमा हेरेका थिए ।