कर्णाली प्रदेशमा पहिलोपटक हुन लागेको ‘लिटरेचर फेस्टिभल (साहित्य महोत्सव)’ आजबाट शुरु भएको छ । फ्युचर नेपालको पठन तथा लेखन अभियान कर्णाली रिडर्स सोसाइटीको आयोजनामा मंगलबार साहित्य महोत्सव शुरु भएको हो ।
कर्णाली प्रदेशमा पठन संस्कृतिको विकास गर्न साहित्य महोत्सव आयोजना गर्न लागिएको उनले बताए । यसका साथै नेपाली भाषाको उद्गमस्थल कर्णाली प्रदेशमा भाषा, साहित्य र संस्कृतिको विकास गर्न लिटरेचर फेस्टिभल थालिएको केसीले बताए ।
फेस्टिभलको पहिलो संस्करण एक दिन मात्र चल्नेछ । मंगलबार फेस्टिभलका क्रममा पहिलो चरणमा पठन संस्कृतिबारे बहस र विमर्श गरिनेछ । कर्णालीका बारेमा लेखिएका विभिन्न पुस्तक प्रदर्शनी, लेखक र पाठकसँग साक्षात्कार, लेखन प्रतियोगिता पनि तय गरिएको छ ।
कर्णाली साहित्य महोत्सवमा चारवटा सत्र रहेका छन् । पहिलो सत्र ‘किन पढ्ने, किन लेख्ने?’ शीर्षकका हुनेछ । जसमा लेखकहरूले आफ्ना कुरा राख्नेछन् ।
‘पठन र नेतृत्व’ शीर्षकमा दोस्रो सत्र हुनेछ । यसमा नेतृत्वमा रहेका मानिसले पढ्न किन जरूरी छ? भन्ने विषयमा बहस हुने छ । यो सत्रमा वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकाल र जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. सिके राउत सहभागी हुनेछन् ।
तेस्रो सत्रका रूपमा डा. माइकल हटले आफ्नो प्रस्तुति राख्नेछन् । माइकलले नेपाली भाषामा विद्यावारिधी गरेका छन् । हाल कर्णाली प्रदेशको दलित साहित्यका बारेमा अनुसन्धान गरिरहेका छन् ।
अन्तिम सत्रका रूपमा ‘कर्णालीमा भाषा, साहित्य र शिक्षा’ विषयमा छलफल हुनेछ । जसमा यहाँको भाषा, साहित्य र शिक्षाको बारेमा विद्यावारिधी गरेका विज्ञहरूले छलफल गर्नेछन् । महोत्सवमा कविता पनि प्रस्तुत गरिनेछ । जसमा कर्णाली प्रदेशका छोरीहरूले मात्र आफ्ना कविता सुनाउनेछन् ।