अमेजन प्राइमको रियालिटी शो ‘द च्यालेन्जर्स : गेम अफ द हिमालयज’ को प्रिमियर अमेरिकाको न्युयोर्कसहित भारतको मुम्बई, फिलिपिन्सको मनिला लगायत सहरमा आयोजना हुने भएको छ ।
सगरमाथा क्षेत्रमा छायांकन गरिएको शोको निर्माता श्री गुरुङका अनुसार मे २५ तारिखमा न्युयोर्कको म्यानह्याटनस्थित विश्वचर्चित एएमसी फिल्म हलमा प्रिमियर हुन लागेको हो । अन्य सहरको प्रिमियर मिति भने तय हुन बाँकी रहेको जनाइएको छ ।
न्युयोर्क प्रिमियरमा राष्ट्रसंघीय अधिकारीहरु, न्युयोर्क सहरका मेयर, गभर्नरसहित नेपाली समुदायलाई निम्तो गरिने गुरुङले जानकारी दिए । उक्त अवसरमा नेपालको पर्वतीय क्षेत्रको जानकारी दिने भिडियो र सेसन पनि सञ्चालन हुनेछ ।
यो रियालिटी शोमा नेपालसहित विश्वचर्चित ११ भ्लगरले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । जेठ अन्त्यमा औपचारिकरुपमा विजेता घोषणा गर्ने तयारी छ । विजेता एक लाख अमेरिकी डलर (एक करोड ३३ लाख रुपैयाँ) प्राप्त गर्नेछन् ।
दुई नेपाली भ्लगर विश्वास राई र निशा खालिङ प्रतिस्पर्धामा छन् । भारतबाट एमटीभी रोडिज विजेता आशिष भाटिया, इण्डिया भ्लग च्यालेन्ज विजेता क्यामरावालेभाइ र अटो भ्लगर विशाखा फुलसुंगे पनि प्रतिस्पर्धामा छन् ।
अमेरिकी युट्युब हाइकर क्र्याग एडम्स र ड्रोन पाइलट स्टिल डेविस, थाइल्यान्डका नाथन बार्टलिंग, लुक मी, फिलिपिन्सका विल दासोविच र कोलम्बियाका क्रेयटर जुनेन्स वेलेजले शोमा प्रतिस्पर्धी छन् ।