नेपालको फिल्म उद्योगमा नयाँ कलाकार र फिल्म मेकर्सका लागि आफ्नो पहिचान स्थापित गर्नु अझै पनि ठुलै संघर्षको विषय बनिरहेको छ । नेपाली सिनेमा क्षेत्रमा प्रतिभा भएर पनि नयाँहरूलाई मुलधारको सिनेमामा अवसर पाउनदेखि लिएर फिल्म रिलिज गर्नसम्म उहाँहरूले विभिन्न कठिनाइहरू झेल्नुपर्छ । यहाँ म आफै पनि नयाँ मेकर्स भएकोले आफ्नो केही भोगाई र नयाँ कलाकारहरूले भोग्नु पर्ने समस्याहरु के ? कस्ता ? कहाँ–कहाँ ? यस बारे चर्चा गर्न गइरहेको छु । अब कुरा गरौं नयाँ अनुहार र मेकर्स हेपिन्छन् किन ? नेपालमा फिल्म निर्माणको मुलधार केही निश्चित व्यक्तिहरूको वरिपरि घुम्छ । यहाँ चल्तीका कलाकार, निर्देशक, निर्माताहरूकै नियन्त्रणमा भएको देखिन्छ त्यस कारण पनि नयाँ अनुहारलाई सहजै अवसर दिइदैन । परिवार अथवा भनौ चिनजान भएकाहरूले मात्र सहज रूपमा फिल्ममा काम पाउने परिपाटीले नयाँ प्रतिभाहरू छायाँमा पर्ने गरेका छन् । यहाँ त के छ भने नयाँ भन्ने बितिकै चाहे कलाकार होस् या त मेकर्स अनुभवहीनता देखाएर हेप्ने गरिन्छ तर अवसर नै नदिई कसरी अनुभव बटुल्ने ? अहिले नेपाली फिल्म उद्योगमा नाम चलेका हरेक व्यक्ति एक दिन नयाँ नै थिए, त्यो भुल्न हुन्न । विदेशी फिल्महरुमा नयाँ प्रतिभाहरूको खोजी गरेर ल्याउने, राम्रोसँग प्रशिक्षण दिने र तिनीहरूलाई अवसर प्रदान गर्ने चलन छ, जुन नेपालि फिल्म उद्योगमा कमै देखिन्छ र अर्को कुरा मुलधारका निर्माता, वितरकहरुले नयाँ कलाकार र मेकर्स भन्ने बितिकै लगानी गर्नै हिच्किचाउने गर्छन् । फिल्म बनाउने सोच त हुन्छ तर बजेट जुटाउनु नयाँ मेकर्सका लागि ठुलो चुनौती बन्छ । उहाँहरूलाई सुरक्षित प्रोजेक्ट चाहिन्छ, जसमा सेलेब्रेटीहरू भएको फिल्म होस् । नयाँ मेकर्सले अनेक दुख गरेर लगानीको अभावमा नयाँ कलाकारलाई लिएर फिल्म निर्माण गर्छन् र वितरककोमा पुग्छ, खोई अनुहार ? गाह्रो छ चलाउन, बरु यसो गर्नुस् म कुरा गरिदिन्छु २/४ सिन थप्नुस् यो–यो कलाकार राख्नुस् अनि रिलिज मिति तय गरौंला भन्ने या त यसो नगरी हुन्न भन्दै उल्टै अनावश्यक खर्च गर्न लगाउने गरिन्छ । फिल्मको कन्टेन के हो ? कस्तो विषयको फिल्मलाई कसरी प्रभावकारी ढङ्गले प्रचार गरेर दर्शक सम्म पु¥याउन सकिन्छ भन्ने आइडिया नै दिदैनन् ।
नेपाली फिल्म क्षेत्रमा बनिसकेको फिल्म हलमा प्रदर्शन गर्न पनि कठिन छ । ठुला वितरक र मल्टिप्लेक्सहरूले प्रायः स्थापित निर्माताका फिल्मलाई प्राथमिकता दिन्छन् । यसले गर्दा पनि अब नयाँ प्रतिभाहरूले साना प्रोजेक्टहरूबाट सुरु गर्नुपर्छ, जसले अपेक्षित ध्यान नपाई जोखिम बढाउँछ । यहाँ त मिडिया हाउसहरूले पनि स्थापित कलाकार र मेकर्सलाई मात्र प्राथमिकता दिने प्रवृत्ति छ । चलेका कलाकारहरुको इन्टर–भ्यू लिन आफै खोजी–खोजी जान्छन् । अहिले मिडिया आफैलाई भ्यूजको लोभ छ र स्थापित कलाकारहरूकै चर्चा गर्ने हुँदा नयाँ अनुहारहरू ओझेलमा पर्छन् । नयाँ अनुहारहरूको संघर्ष र उपलब्धिलाई चर्चा नगरिदिँदा मेकर्स होस् अथवा कलाकार नयाँहरूको नाम स्थापित हुन निकै कठिन बनिरहेको छ यति मात्रै कहा हो र ? नयाँ मेकर्स र अनुहारलाई त दर्शकहरुले पनि विस्वास गरिरहेको छैन । नयाँ कलाकार वा निर्देशकको नाम सुन्ने बित्तिकै दर्शकहरू फिल्मप्रति उत्साहित नै हुदैनन् । दर्शक पनि नाम चलेका कलाकारहरू प्रति आकर्षित हुन्छन् । यहाँ नयाँ अनुहारलाई सहजै स्वीकार्न गाह्रो मान्ने भएकाले उनीहरूलाई सिनेमा हिट बनाउन कठिन हुन्छ । यहाँसम्म कि नयाँ कलाकार वा निर्देशकसँग काम गर्न धेरै अनुभवी प्राविधिक, कलाकारहरू पनि इच्छुक हुदैनन् । यसले गर्दा निर्माता पनि नयाँ कलाकारलाई लिएर काम गर्न डराउँछन् र नयाँ कलाकार वा निर्देशकले कम पारिश्रमिकमा काम गर्न बाध्य हुन्छन् । अझ कत्तिले त के भन्छ भने ” पहिले फिल्म हो, नाम बनाउनुपर्छ ” भन्दै काम मात्र गराउछन् ।
यसरी नयाँलाई हेप्ने चलन हटाउन अब सबै पक्षले पहल गर्नुपर्छ अझ भनौ नयाँबाटै सुरुवात गर्नु पर्छ । नेपोटिजमको जालो तोडेर वास्तविक प्रतिभालाई अगाडि बढाउने र नेपाली फिल्म उद्योगमा नयाँ ऊर्जा शक्ति ल्याउन हामिले स्वतन्त्र (independent) फिल्म निर्माणमा जोड दिनुपर्छ । हामी नयाँ मेकर्सहरुले पनि आफ्नै सोच र सिर्जनामा विश्वास गरी काम गर्नुपर्छ । आजको समयमा क्राउडफन्डिङ, सह–निर्माण (co–production) र चलचित्र विकास बोर्ड अथवा अन्य सरकारी अनुदानको अवसर खोज्ने, डिजिटल प्लेटफर्महरू जस्तै (YouTube, Netflfixलगायत अन्य OTT) को प्रयोग गर्ने, विभिन्न फेस्टिभलहरूमा भाग लिएर फिल्मलाई प्रचार गर्दा पनि अगाडि बढ्न सजिलो बाटो हुन सक्छ । अहिले त सामाजिक सञ्जाल (Facebook, Instagram, TikTok, YouTube) को सही प्रयोग गरेर दर्शकहरूसँग प्रत्यक्ष सम्पर्कमा पुग्न सकिन्छ । नयाँ र पृथक शैलीका कथाहरू प्रस्तुत गरेर फिल्मको ट्रेलर, पोस्टर लगायत प्रोमोशनका कन्टेनलाई आकर्षक तरिकाले मार्केटिङमा ध्यान दिने हो भने सहजै दर्शन सम्म पुग्न सकिन्छ । हामीले टिम निर्माण गर्दा नै समान सोच भएका साना तर प्रतिभाशाली नयाँ टिम बनाउन सके आफ्नो काम देखाएर ठुलो प्रभाव पार्न सक्छौ । यदि अरु ठुला ब्यानरसँग काम गर्दैछौ भने पनि आफ्नो श्रमको उचित मूल्य निर्धारण गरि पहिले नै अनुबन्ध (contract) गरेर काम गर्नुपर्छ ।
नयाँ कलाकार र मेकर्सका लागि नेपाली फिल्म उद्योगमा पाइलो चाल्नु चुनौतीपूर्ण अवश्य छ तर दृढ इच्छाशक्ति, नयाँ सोच र सही रणनीतिबाट सफलता प्राप्त गर्न सकिन्छ । अब परम्परागत संरचनालाई परिवर्तन गरेर, आत्मनिर्भर बन्ने र सशक्त टिम बनाउने दिशामा अघि बढ्नुपर्छ । जब हामी आफैमा विश्वास गर्छौ तब मात्र अरूले पनि हामीलाई गम्भीरतापूर्वक लिन्छन् ।
कमल एक्चै मगर
चलचित्र निर्देशक