--लक्ष्मीनाथ शर्मा
स्वर्गीय निर्देशक हीरासिंह खत्रीले नेपाली चलचित्रका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दा त्यस बेलाको सानो पृष्ठभूमि, अवस्था र व्यवस्थाको केही चर्चा गर्नु आवश्यक भएकाले यस लेखमा उनका क्रियाकलाप सँगसँगै छोटो प्रसङ्ग पनि उल्लेख गरिएको छ ।
चलचित्रको जन्म हुनुअघि विश्वमा अचल र स्थिर फोटोहरू मात्र हेर्न पाइन्थ्यो । स्थिर फोटो खिचेजस्तै जीवनमा झँै गति भएका चलचित्रहरू पनि बनाउन सके कति राम्रो हुन्थ्यो होला भनेर विकसित मुलुकहरूमा धेरै अनुसन्धान र प्रयासहरू भए । वैज्ञानिकहरूको अथक प्रयासपछि अन्त्यमा सन् १८९५ डिसेम्बर २८ तारिखका दिन फ्रान्सका लुई र अगस्त नामक दुई लुमियर दाजुभाइले सर्वप्रथम छोटा छोटा अमुक चलचित्रहरू निर्माण गरी प्रदर्शन गर्न सफल भए । त्यसको लगभग एक दशक बित्दानबित्दै केही अन्य देश पनि चलचित्र निर्माण गरी देखाउन सफल भए । सन् १९२० को दशकसम्ममा पश्चिमी मुलुकहरूमा चलचित्र निर्माणमा निकै ठूलो प्रगति भयो । अनि सुरु सुरुमा बनेका साधारण कथाहरू जस्ता मात्र नभई सामाजिकका साथै धार्मिक, ऐतिहासिक, युद्ध विशेष एवम् संस्कृतिजस्ता विषयहरूमा निर्माण सुरू भई चलचित्र भन्ने विषय सञ्चारको एक प्रभावकारी, शक्तिशाली, जीवन उपयोगी तथा लोकप्रिय माध्यमका रूपमा स्थापित हुन पुग्यो । यसैबिच सन् १९२७ मा चलचित्रमा ध्वनि आर्थिक उपार्जन तथा वैयक्तिक अर्थमा समेत राख्न सकियो । यसले यथार्थ मनोरञ्जन, अभिव्यक्ति र संयुक्त सञ्चारको उच्चता पनि थपियो । त्यति मात्र नभई यस्तो रोचक, मनोरञ्जक र अत्यन्त प्रभावकारी मानिएको लोकप्रिय माध्यमको उपयोग गरी जर्मनीका हिटलर, इटालीका मुसोलिनी तथा पछि गएर सोभियत रूसका लेनिनले आआफ्नो शासकीय प्रभाव बढाउनका लागि चलचित्र निर्माण गर्ने गराउने कार्यमा ठूलो सफलता पाए । छिटै नै निर्माणका विविध प्रविधि, शैली, सिद्धान्त र जेन्रहरूको प्रयोग भई व्याकरणीय दृष्टिले पनि यो माध्यम एउटा उत्कृष्ट प्राज्ञिक विषय बन्न पुग्यो ।
अब नेपालको प्रसङ्ग
तत्कालीन नेपाल एउटा गरिब मुलुक थियो र सञ्चार, यातायात, शिक्षा, वाणिज्य आदि सबै दृष्टिले पछाडि थियो । चलचित्रजस्तो अत्याधुनिक कलात्मक क्षेत्रमा नागरिकलाई यसको उपयोगिता र महत्वका बारेमा केही पनि ज्ञान थिएन । अझ यस माध्यमको ज्ञान मात्रै होइन, निर्माण प्रविधि, सिप र उपकरणहरू बारेमा जानकारी त झन् छँदै थिएन ।
बाहिरी देशमा बनेका कतिपय अङ्ग्रेजी र हिन्दी चलचित्रहरू तत्कालीन अवस्थामा राजा तथा राणा शासकहरूका दरबारसित सम्बन्धित व्यक्तिहरूले दरबारहरूमै हेर्ने गर्दथे तर सर्वसाधारणले हेर्न पाउँदैनथे । हालसम्म प्राप्त प्रमाणहरूका आधारमा संवत् १९५८ वैशाख २४ गते सोमबार ’गोर्खापत्र’ मा एउटा सरकारी सूचना प्रकाशित भएको थियो । त्यसमा उल्लेख गरिएको थियो – “श्री ३ महाराजबाट दुनियाँहरूले हेर्न पाउन् भनी टुँडिखेलमा प्रोजेक्टोस्कोप अर्थात् मानिसले चलफिर गरेको सबै काम तस्वीरबाट सोही बमोजिम दुरुस्त देखिन्या तमाशा वैशाख २६ गते बुधबारदेखि हुनेछ, सो तमाशा हेर्नलाई अघाडि केटाकेटीहरू ताहाँपछि निज केटाकेटीका आमाहरू, त्यहाँपछि लोग्ने मानिसहरू, वाहाँपछि बग्गीमा आउनेहरू अरुलाई नछेक्ने गरी रहने छन् ।”
त्यसको धेरैपछि मोहन शमशेरको पालामा वि.सं. २००६ मा पहिलो पटक काठमाडौँ सिनेमाघरमा राम विवाह नामक हिन्दी सिनेमा देखाइएको थियो जसबाट नेपाली दर्शकमा चलचित्रप्रति ठूलो चाख र चासो बढेको थियो । भुइँमा ओछ्याइएको गुन्द्रीमा बसेर एक सुकाको टिकट किनेर चलचित्र हेर्नुपर्ने स्थिति आजका अत्याधुनिक सिनेमा हलहरूमा हेर्ने दर्शकलाई एक अपत्यारिलो कथाजस्तो लाग्न सक्दछ ।
सन् २०५१ सालमा भारतको कलकत्तामा दार्जीलिङ निवासी नेपाली मूलका डी.बी. परियारले सर्वप्रथम नेपाली भाषाको चलचित्र सत्य हरिश्चन्द्रको निर्माण र निर्देशन गरेका थिए । त्यस चलचित्रमा उनले दार्जीलिङ, कालिम्पोङ र कलकत्ताका नेपालीहरूलाई कलाकारका रूपमा अभिनय गराएका भए पनि कलकत्तामै सुटिङ, डबिङ, प्रोसेसिङ र प्रिन्टिङ आदि सबै कार्य गरेका थिए र प्राविधिकहरू पनि सबै भारतीयहरू थिए । त्यो चलचित्र नेपालमा संवत् २००८ मा आएर दरबार एवम् जय नेपाल चलचित्रघरमा समेत प्रदर्शन गरिएको थियो । तर नेपालभित्रै चाहिँ त्यस बखतसम्म पनि चलचित्र निर्माण कार्यको ’च’ सम्म पनि चल्मलाएको थिएन । तथापि वि.सं. २००७ देखि २०११ सम्ममा काठमाडौँमा ५÷६ वटा चलचित्र हलहरू निर्माण भैसकेका थिए जसमा थोरै अङ्ग्रेजी भाषामा र धेरैचाहिँ हिन्दी चलचित्रहरू प्रदर्शन हुन थालेका थिए । हिन्दी चलचित्र हेर्नका लागि नेपाली दर्शकको विशाल घुँइचो लाग्दथ्यो ।
हीरासिंह खत्री
विश्वयुद्धताका जर्मनीका अत्यन्त महत्वाकाङ्क्षी शासक हिटलर एवम् इटालीका चतुर शासक मुसोलिनीले ती देशका युवा नागरिकलाई प्रभावकारी ढङ्गले एकोहो¥याएर आफ्नो अभीष्ट पूरा गर्न चलचित्र माध्यमको प्रयोगबाट सफलता पाएको स्थिति थियो । साथै तत्कालीन सोभियत रूसका कम्युनिस्ट नेता भी.आई. लेनिनले सन् १९१७ को अक्टोबर क्रान्तिपछि जार शासनबाट मुक्ति पाएर कम्युन प्रथाको व्यापक प्रचारप्रसार गरी कम्युनिस्ट शासन व्यवस्थालाई सुदृढ एवम् लोकप्रिय बनाउनका निम्ति चलचित्र माध्यमको प्रयोग गरी सफलता प्राप्त गरेको कुराबारे वि.सं. २०१७ मा पञ्चायत व्यवस्था प्रारम्भ गर्ने तत्कालीन राजा महेन्द्रलाई राम्ररी थाहा थियो । त्यसै कारण आफ्नो अभीष्ट परिपूर्तिका निम्ति उनले अन्य थुप्रै उपायहरूका साथै चलचित्र पनि निर्माण गराउने परिकल्पनाद्वारा अभिप्रेरित भई बम्बईबाट निर्देशक हीरासिंह खत्रीलाई वि.सं. २०१६ सालमा झिकाई सर्वप्रथम आफ्नो बयालिसाँै जन्म दिवस सम्बन्धी छोटो चलचित्र निर्माण गर्न लगाएका थिए ।
नेपालमा चलचित्र निर्माणको ऐतिहासिक थालनी गर्ने अवसर प्राप्त गरेका हीरासिंह खत्री भारतको देहरादुनमा जन्मेका प्रवासी नेपाली थिए भने उनले त्यहीँबाटै म्याट्रिक पास गरी इलाहाबादमा त्यसपछिको शिक्षा हासिल गरेका थिए । त्यसपछि उनले कलकत्तास्थित टालिगन्जको फिल्म स्टुडियोमा म्यानेजर भई पर्यवेक्षकका रूपमा चलचित्र निर्माणबारे प्रारम्भिक ज्ञान प्राप्त गरेका थिए । त्यसपछि उनी बम्बई फिल्म नगरीमा पुगे । त्यहाँ चलचित्रसित सम्बन्धित कामहरू गर्दागर्दै एम.एन.टी. स्टुडियोसित आबद्ध भएर उनले लगभग पाँच वटा जति हिन्दी कथानक चलचित्रहरूको निर्देशन कार्य गरेका थिए । तीमध्ये “लाखों में एक“, “नमूना“ तथा “नादान” आदि चलचित्रहरू थिए । निर्देशक हीरासिंहले नेपाल आएपछि वि.सं. २०१८ सालमा सरकारी खर्चमा चलचित्र निर्माणको कार्य गरे । उनको निर्देशन रहेको राजा महेन्द्र सम्बन्धी त्यो वृत्तचित्र २०१९ सालमा प्रदर्शन भएको थियो । त्यसपछि तत्कालीन राष्ट्रिय निर्देशन मन्त्रालय अन्तर्गतको प्रचारप्रसार विभागका तर्फबाट आमा (२०२२), हिजो आज भोलि (२०२४) र पछि गएर सूचना विभाग अन्तर्गत स्थापना गरिएको फिल्मस् डिभिजनबाट परिवर्तन (२०२७) जस्ता तीनवटा कथानक चलचित्रका साथै प्रशस्त समाचारचित्र र केही वृत्तचित्र पनि निर्देशन गरे ।
यहाँ उल्लेखनीय कुरा के छ भने त्यो बेला निर्देशक खत्रीले नेपालमा चलचित्र बनाउने कार्य गरे जसको निर्माण अत्यन्त असहज थियो । त्यस बखत यहाँ निर्माण उपकरणहरूको अभाव थियो, चलचित्रमा काम गर्ने प्राविधिकहरू थिएनन्, घरभित्र अर्थात् इन्डोर सुटिङ गर्ने स्टुडियोहरू थिएनन् । त्यस बेला काठमाडौँमा प्रवाहित विद्युत शक्ति अर्थात् इन्टेन्सिटी अफ लाइट पनि इन्डोर सुटिङका लागि चाहिनेभन्दा धेरै कम थियो । त्यसका साथै पोस्ट प्रोडक्सनको काम (नगेटिभ डेभ्लपिङ, एनालाइजिङ, कलर करेक्सन, डाइलग तथा इफेक्ट्स एन्ड साउन्ड रेकर्डिङ, एडिटिङ, प्रिन्टिङ आदि) को व्यवस्था त झन् हुने कुरै भएन । उनले नेपालमै सर्वप्रथम नेपाली कलाकारहरू लिएर भारतको कलकत्ता गई घरभित्रका (इन्डोर) दृश्यहरूको सुटिङ गर्नु परेको थियो । घरबाहिर (आउटडोर) का दृश्यहरू चाहिँ उनले नेपालकै विभिन्न स्थलहरूमा छायाङ्कन गरेका थिए । त्यसका साथै आवश्यक उपकरण, सुटिङ एवम् पोस्ट प्रोडक्सनका लागि काम गर्ने सबै प्राविधिकहरू पनि उनले कलकत्ताबाटै भाडामा ल्याएका थिए । यसरी हेर्दा नेपाली चलचित्रको निर्माण तथा निर्देशनका क्षेत्रमा त्यस्तो असहज परिस्थितिमा पनि उनले पु¥याएको योगदानलाई नेपाली चलचित्र उद्योगले प्रशंसनीय रूपमा लिनुपर्ने हुन्छ ।
हीरासिंह खत्रीले चलचित्र निर्माण कार्य सुरू गर्दासम्म नेपालमा औँलामा गन्न पनि नपुग्ने सिनेमा हलहरू थिए । त्यसमा पनि काठमाडौँको जनसेवा हल त जलेर खरानी नै भएको थियो । दर्शकहरूले सीमित हलमा देखाइने हिन्दी र फाट्टफुट्ट देखाइने अङ्ग्रेजी सिनेमाहरू मात्रै हेर्न पाएका थिए । निर्देशक खत्रीले नेपाली भाषामा नेपालमै चलचित्र निर्देशन गर्नु, नयाँ नेपाली कलाकारहरूलाई सफलतापूर्वक अभिनय गराउनु, प्रस्तुतकर्ताको आशयलाई दर्शकमाझ मनोरञ्जन दिलाउँदै पेश गर्न सक्नु उनको महत्वपूर्ण उपलब्धि तथा योगदान थियो ।
निर्देशक डी.बी. परिवारद्वारा भारतको कलकत्तामा बनाइएको नेपाली भाषाको पहिलो धार्मिक कथानक चलचित्र सत्य हरिश्चन्द्र निर्माण भएको झन्डै पन्ध्र वर्षपछि हीरासिंह खत्रीद्वारा निर्देशित नेपालमै बनेको पहिलो कथानक चलचित्र आमाको वि.सं. २०२२ असोज १५ गते शुक्रबार प्रदर्शन सुरु गरिएको थियो । यो चलचित्रले तत्कालीन पञ्चायती व्यवस्थाका मूलभूत कुराहरू सर्वसाधारण दर्शकमा व्याख्या गरी त्यसको गुणगान गर्ने उद्देश्य बोकेको थियो । यसले नेपाललाई आमाका रूपमा चित्रण गर्दै देशप्रेमको भावनालाई प्रत्यक्ष विषयवस्तु बनाउने प्रयत्न गरेको थियो । केवल हिन्दी र अङ्ग्रेजी भाषाका चलचित्र मात्र हेर्न पाएका नेपाली दर्शकहरू पहिलो पटक नेपाली कलाकारले आप्mनै भाषामा बोलेको सुन्न पाउँदा उत्साहित र खुसी हुनु स्वाभाविकै थियो । नेपाली प्रकृति, वातावरण र समाजको पृष्ठभूमिमा नयाँ र नौला कलाकारहरूले अभिनय गरेको र नेपालकै सामाजिक कथामा बनेको चलचित्र पहिलो पटक प्रस्तुत गर्ने अवसर पाएका निर्देशकको यस कार्यलाई उनको ठूलो योगदान मान्न सकिन्छ ।
चलचित्र आमाको निर्माणमा नेपाली रुपियाँ दुई लाखभन्दा केही बढी खर्च भएको थियो । यसका प्रमुख पात्रको भूमिकामा गायक तथा सङ्गीतकार शिवशङ्कर मानन्धर एवम् नायिकाको भूमिकामा भुवन थापाले अभिनय गरेका थिए । उक्त चलचित्रमा अभिनय गर्ने अन्य कलाकारहरूमा हरिप्रसाद रिमाल, वसुन्धरा भुसाल, विमला श्रेष्ठ, उत्तम नेपाली, इन्द्रकला, दुर्गाप्रसाद श्रेष्ठ, चैत्यदेवी सिंह, भीम गुरुङ, यदुकुमारी तथा निर्देशक हीरासिंह स्वयं पनि थिए ।
आमाका नायक शिवशङ्करले पछि आएर नेपाली कथानक चलचित्रहरू मनको बाँधमा नातिकाजी र चलचित्र कुमारीमा चन्द्रराज शर्मासित जोडी भएर सङ्गीतकारका रूपमा समेत काम गरेका थिए । आमाकी नायिका भुवन थापा (चन्द) ले नायिका एवम् कलाकारका रूपमा ठूलो ख्याति कमाइ धेरै सम्मान तथा पुरस्कारहरू प्राप्त गरिन् । त्यसै गरी यस चलचित्रमा चौध वर्षकै उमेरमा अत्यन्त आकर्षक अभिनय गर्न पुगेकी कलाकार वसुन्धरा भुसालले दीर्घकालसम्म नेपाली चलचित्रजगत्मा हास्य एवम् चरित्र अभिनेत्रीका रूपमा अमीट छापसहित अद्भुत लोकप्रियता कमाइन् । यसमा नायककी आमा भएर अभिनय गर्ने कलाकार चैत्यदेवी सिंहले प्रथम नेपाली रङ्गीन चलचित्र कुमारीकी नायिकाको रूपमा तथा अभिनेता हरिप्रसाद रिमालले नेपाली चलचित्रमा एक उत्कृष्ट कलाकारका रूपमा प्रसिद्धि कमाए ।
काठमाडौँ उपत्यकाका सबै सिनेमाघरमा चलाइसकेपछि उपत्यकाबाहिरका हलहरूमा पनि आमा चलचित्र अनिवार्य रूपमा प्रदर्शन गराइएको थियो । तर देशका सीमित सहरबजारमा सीमित सङ्ख्यामा चलचित्रगृहहरू भएकाले सबै नेपालीहरूले चलचित्र हेर्न सक्ने सुविधा नभएको हुँदा तत्कालीन राष्ट्रिय निर्देशन मन्त्रालय अन्तर्गतको प्रचारप्रसार विभागले व्यापक रूपमा देशका जिल्ला तथा दुर्गम कुनाकाप्चातिर समेत प्रोजेक्टर, पर्दा, जेनेरेटर आदिबाट यो चलचित्र प्रदर्शन गर्न पठायो । त्यस कथानक चलचित्रसित अन्य ससाना समाचारचित्र तथा केही वृत्तचित्रहरू पनि प्रदर्शनार्थ पठाउने गरिएको थियो ।
देशमा शिक्षाको विकास राम्ररी नभइसकेको तथा आधुनिक र वैज्ञानिक रूपमा चेतनाको विकाससमेत नभइसकेको नेपाली समाजमा पहिलो पटक आफ्नै घरआँगनमा सिनेमा हेर्न पाउँदा दर्शकले एउटा अनौठो मनोरञ्जक साधनका रूपमा ग्रहण गरे । सरकारी पक्षवाट ठूलो धनराशी खर्च गरी पहिलो पटक जनसमक्ष सम्प्रेषित गरेको चलचित्र आमाको तात्विक आशयप्रति जनताले त्यति धेरै ध्यान दिएनन् । तथापि के भन्न सकिन्छ भने यस कथानक चलचित्रले नेपाली चलचित्रको सम्भावित भविष्यबारे सर्वप्रथम आम रूपमा विचार गर्ने अवसर दिलायो । यसले नेपाली जनमानसमा चेतनाको ढोका ढक्ढक्याउन खोज्यो तथा विकासको लहर फैलिन लागेको नेपाली समाजका बुज्रुकहरूमा चलचित्रको सशक्तता र प्रभावकारिताप्रति आकर्षण बढाइदियो । विश्वको शक्तिशाली स्वर र अति लोकप्रिय आमसञ्चारको माध्यम चलचित्रले आमामार्फत नेपाल प्रवेश गर्ने अवसर पायो । यस दृष्टिकोणबाट हेर्दा नेपालमा निर्माण भएको पहिलो श्यामश्वेत कथानक चलचित्र आमाको ऐतिहासिक महत्व र यसका निर्देशक खत्रीको योगदानलाई कसैले पनि अवमूल्यन गर्न मिल्दैन ।
तत्कालीन श्री ५ को सरकारको प्रचार विभागको प्रस्तुतिमा हीरासिंह खत्रीले दोस्रो कथानक चलचित्र हिजो आज भोलि (२०२८) को निर्देशन कार्य पनि गरेका थिए । चलचित्रको कथा, संवाद, गीत, पटकथा निर्देशक हीरासिंह खत्री र श्रीधर खनालले लेखेका थिए । बङ्गाली सङ्गीतकार भी. बलसाराको सङ्गीतमा नारायण गोपाल र तारादेवीले स्वर दिएका थिए भने कलकत्तामै गीतहरू रेकर्डिङ गरिएका थिए । सम्पादन कार्य हरिश पठारेले गरेको हिजो आज भोलिको छायाङ्कन अन्य बङ्गाली प्राविधिकहरूका साथमा देउजी भाइले गरेका थिए । एउटा महत्वपूर्ण कुरा के छ भने त्यसै बेला पुनाको फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युटबाट छायाङ्कन विषयको अध्ययन गरेर नेपाल फर्केका वैकुण्ठमान मास्केले नेपाली प्राविधिकका रूपमा सहायक क्यामेराम्यान भई त्यस चलचित्रमा काम गरेका थिए । यसरी चलचित्र निर्माण कार्यमा प्राविधिकका रूपमा काम गर्ने पहिलो नेपाली व्यक्ति वैकुण्ठमान मास्के थिए ।
हिजो आज भोलिमा कलाकारका रूपमा भुवन थापा (चन्द), मित्रलाल शर्मा, श्रीधर खनाल, शान्ति मास्के, वसुन्धरा भुसाल, उत्तम नेपाली, इन्द्रलाल श्रेष्ठ, प्रदीप रिमाल, गुप्त सेन, यमबहादुर खड्का, सरस्वती थापा, गोपालजी नेपाली, आनन्द खनाल तथा निर्देशक स्वयम् हीरासिंह खत्री आदि थिए । बालकलाकारका रूपमा दिवाकर खड्काले अभिनय गरेका थिए ।
चलचित्र हिजो आज भोलिमा हिजो भन्नाले पञ्चायत व्यवस्था आउनुअगाडिको राणाकालको शोषण र निरङ्कुशताका साथै वि.सं. २०१७ सालपछि लागू भएको पञ्चायती प्रजातन्त्र लगत्तैका विकृतिहरू तथा आज भन्नाले पञ्चायती शासन पद्धतिले ल्याउने संसारको सर्वश्रेष्ठ र निर्विकल्प स्वर्णीम युग भन्ने कुरा इङ्गित गरिएको थियो । यसमा विशेष गरी बहुदलीय प्रजातन्त्रको नाममा विभिन्न दलहरूको आपसी वैमनस्य, दलगत र व्यक्तिगत स्वार्थ, जनता र देशविकासप्रतिको पूर्ण बेवास्ता आदि कुराहरूको विश्लेषणका साथै भोलि भन्नाले पञ्चायत प्रणाली अन्तर्गत राजाको वात्सल्यपूर्ण सुशासन र सुव्यवस्थाद्वारा अत्यन्त गतिशील रूपमा देशविकास भई जनताले पूर्ण स्वतन्त्र रूपमा सुख, शान्ति र अमन चैनको जीवन यापन गर्न पाउने कुराको राजनैतिक र सामाजिक दर्शन तथा भविष्यवाणीको गुलियो मह खुवाउने सक्दो प्रयास गरिएको थियो । हिजो आज भोलिलाई पनि आमालाई जस्तै जिल्ला जिल्ला र गाउँगाउँमा पठाएर प्रदर्शन गराइएको थियो ।
हिजो आज भोलिको इन्डोर सुटिङ कार्य कलकत्तामा गरिएको थियो भने आउटडोर सुटिङचाहिँ नुवाकोटस्थित बट्टार, ककनी, काठमाडौँको केन्द्रीय कारागार, मखनगल्ली तथा अन्य केही स्थानहरूमा गरिएको थियो । निर्देशक हीरासिंहको विशेषता के थियो भने प्राविधिक ज्ञान कमीबेसी जे भए पनि व्यावहारिक रूपमा कलाकार तथा प्राविधिकहरूलाई कुनै पनि दृश्यको छायाङ्कन गर्नुअघि राम्रोसित व्याख्या गरी जानकारी दिन्थे र अभ्यास गराएपछि कुनै पनि कलाकारले भने बमोजिम गर्न सकेन भने नझर्किकन आफैँ अभिनय गरेर देखाउँथे । सुटिङ टोलीमा सबैले खाए नखाएको, सञ्चो बिसञ्चो बुझ्ने र मिलनसार भएर काम गर्दथे । अन्य कुराहरू योगदानपूर्ण हुँदाहुँदै पनि हिजो आज भोलि आमाजत्तिकै लोकप्रियचाहिँ बनेको थिएन । तत्कालीन पञ्चायत व्यवस्थामा प्रचारप्रसार मन्त्रालय अन्तर्गतको सूचना विभागको फिल्मस डिभिजनद्वारा तेस्रो सरकारी प्रस्तुतिका रूपमा परिवर्तन नामक श्यामश्वेत चलचित्रको निर्माण गरिएको थियो ।
सूचना विभाग अन्तर्गतको फिल्मस् डिभिजनबाट नेपाली रुपियाँ छ लाख लगानी भएको चलचित्र परिवर्तनको निर्देशन कार्य हीरासिंह खत्रीद्वारा गरिएको थियो । यसअघि उल्लेख गरिए झैँ परिवर्तनका घरबाहिरका धेरैजसो दृश्य पोखरा र काठमाडौँमा पनि छायाङ्कन गरिएका थिए । घरभित्रका अन्य दृश्यहरू चाहिँ कलकत्ताको इन्द्रपुरी स्टुडियोमा सेट बनाएर खिचिएका थिए । यसमा लाइट ब्वाइज र अन्य कामदारहरू पनि कलकत्ताकै प्रयोग गरिएका थिए । छायाङ्कनका लागि आवश्यक क्यामेरा र नेगेटिभजस्ता उपकरणहरू कलकत्ताबाट भाडामा ल्याइएका थिए । यद्यपि परिवर्तनको छायाङ्कन गर्ने बेलासम्ममा एउटा ३५ मि.मि. को एरिफ्लेक्स क्यामेरा तथा ध्वनि रेकर्ड गर्ने नागरा फिल्मस डिभिजनका निम्ति किनेर ल्याइएको थियो तर दरबारका क्रियाकलाप, भ्रमण तथा ससाना वृत्तचित्र एवम् समाचारचित्रहरू खिच्नका निम्ति ती उपकरणहरू प्रयोग गरिने भएकाले परिवर्तनमा तिनको प्रयोग भएन । यसको सुटिङ समाप्त हुन्जेलसम्म पनि नेपालमा ट्रली, रिफ्लेक्टर तथा लाइट्सजस्ता अत्यावश्यक उपकरणहरूको बन्दोबस्त गरिएको थिएन ।
परिवर्तनको छायाङ्कन कार्य वि.सं. २०२६ सालमा शुरू भएको र त्यसका सबै पोस्ट प्रोडक्सन कार्य कलकत्तामा सम्पन्न गरी वि.सं. २०२७ जेठ २९ गते काठमाडाँै ल्याइएको हो । २०२७ पौषमा रञ्जना सिनेमा हलमा प्रदर्शन गरिए पनि चलचित्रको नाम चेतनाबाट परिवर्तन बनाई वि.सं. २०२८ वैशाखमा मात्र जय नेपाल चलचित्रघरमा सर्वसाधारणका लागि प्रदर्शनमा ल्याइएको कुरा उल्लेखनीय छ । निर्देशक हीरासिंह तथा चेतन कार्कीद्वारा संयुक्त रूपमा पटकथा लेखन एवम् वैकुण्ठमान मास्केद्वारा देउजी भाइको मातहतमा रही अपरेटिभ क्यामेराम्यानका रूपमा काम गरेको, चेतन कार्कीद्वारा लोकशब्द तथा लोकभाकाका आधारमा सबै गीतहरू लेखी नेपाली चलचित्रजगत्मा प्रवेश गरेको कुरा यहाँ उल्लेखनीय छ ।
तत्कालीन पञ्चायती व्यवस्थामा परिकल्पना गरी निकै ठूलो दर्शनका रूपमा प्रस्तुत गर्ने प्रयास भएको गाउँफर्क राष्ट्रिय अभियानलाई व्याख्या गर्ने जमर्को गरिएको परिवर्तनमा यज्ञनाथ घिमिरे, मित्रलाल शर्मा, आनन्द खनाल, हरिप्रसाद रिमाल, रामलाल जोशी, इन्द्रलाल जोशी, लक्ष्मण थापा मगर, नीर शाह, तीर्थ शेरचन, तथा निर्देशक हीरासिंह खत्री, सुवर्ण श्रेष्ठ, प्रेम सिजापति, लक्ष्मीनाथ भट्टराई, तुला शेरचन, कुमार शर्मा, महेश्वरी श्रेष्ठ, सुषमा शाही, शीला गुरुङ, रीता थापा आदि कलाकारले लामोछोटो अभिनय गरेका थिए । यो चलचित्रमा तारादेवी, मीरा राणा तथा नारायण गोपालको पाश्र्वगायन थियो । परिवर्तित परिवर्तनको सम्पादन हरिश पठारे, ध्वनि नियन्त्रण कलकत्ताकै रवीन्द्र बाबु, पाश्र्वसङ्गीत भी. बलसाराले गरेका थिए भने नृत्य निर्देशनचाहिँ कलाकार तीर्थ शेरचनले गरेका थिए ।
परिवर्तनमा लागू पदार्थ सेवन गरी खराब आचरण अँगालेर आप्mनो जीवन समाप्त गर्ने एक युवतीको अमेरिकाबाट चिकित्साविज्ञान अध्ययन गरी नेपाल फर्केको डाक्टर दाजुले बहिनीको मृत्युबाट सचेत भई आफ्नै गाउँमा फर्केर दीन, हीन र गरिब गाउँलेहरूको सेवा गर्ने अठोट गरेको कथालाई मुख्य कथ्य बनाइएको छ । विषयवस्तुको राम्रो चयन हुँदाहुँदै पनि निर्देशक खत्रीले आफ्नो दोस्रो चलचित्र हिजो आज भोलिमा जस्तै परिवर्तनमा पनि भाषणबाजीको पट्यारलाग्दो शैली अँगालेर चलचित्रको रोचकतालाई घटाएका थिए ।
तथापि नेपाली चलचित्र निर्माणको प्रारम्भिक कालको पूर्वाद्र्धलाई हेर्दा उनले बनाएका तीनवटै चलचित्रहरूको बेग्लै र महत्वपूर्ण स्थान रहेको छ । सिर्जनात्मकता र कलात्मकताका दृष्टिबाट विश्लेषण गर्दा यी कृतिहरू उत्कृष्ट नठहरिए पनि उपरोक्त तीनवटै चलचित्रले नेपाल र नेपालीकै कथाव्यथालाई चित्रीकरण गरेको कुरा ऐतिहासिक रूपले प्रशंसनीय छ । यसलाई उनको विशेष योगदानका रूपमा मान्नुपर्ने हुन्छ ।
यी चलचित्रबाहेक त्यस अवधिमा भएका र भइरहेका विकास निर्माण सम्बन्धी कार्यहरूको झलक दिने उनको वृत्तचित्र विकासको बाटोमा नेपाल (२०२५) लाई पनि एउटा महत्वपूर्ण दस्तावेजका रूपमा लिनुपर्ने हुन्छ । निर्देशक खत्री नेपाल आउँदा माथि भने झैँ यहाँ चलचित्रको ‘च’ पनि थिएन । उता विकसित मुलुकहरूमा भने चलचित्र तीव्र गतिमा विकास पथमा गइरहेको थियो । नेपाली चलचित्रको निर्माण कार्यमा उनले धेरै अभाव र समस्याहरूको सामना गर्दै देशमा यसको जग बसाएका थिए । नेपालमा सर्वथा नौलो माध्यमको थालनी गर्ने निर्देशक खत्रीको वि.सं. २०५४ अर्थात् सन् १९९७ मा भारतको मुम्बईमा निधन भएको थियो ।
(नेपाल चलचित्र निर्देशक समाजद्वारा रजत जयन्ती वर्षको उपलक्ष्यमा प्रकाशित स्मारिका बाट साभार)