निर्देशक एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘चमेलीको पोइ’ को शीर्ष गीत ‘ओइ ओइ चमेली, तिम्रा शेरे खोइ’ सार्वजनिक गरिएको छ । गीत सार्वजनिक भएसँगै निर्माण पक्षले दर्शकलाई लक्षित गर्दै आकर्षक नगद पुरस्कारसहितको टिकटक डान्स तथा कन्टेन्ट क्रिएसन प्रतियोगिता घोषणा गरेको छ ।
निर्माण टिमका अनुसार सहभागीले टिकटक, फेसबुक, इन्स्टाग्राम रिल्स वा युट्युब सर्ट्समा ‘ओइ ओइ चमेली’ गीतमा आधारित मौलिक भिडियो तयार गरी प्रतियोगितामा सहभागी हुन सक्नेछन् । भिडियो पोस्ट गर्दा #Chamelikopoi, #Ashoj16CKP र #OioiChameli ह्यासट्याग अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ ।
प्रतियोगितामा उत्कृष्ट चार जनालाई नगद पुरस्कार प्रदान गरिनेछ । प्रथम हुनेले ५० हजार रुपैयाँ, द्वितीयले ३० हजार रुपैयाँ, तृतीयले १५ हजार रुपैयाँ र चौथो स्थान हासिल गर्नेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। विजेता छनोट भिडियोको मौलिकता, प्रस्तुति तथा सिर्जनात्मकताको आधारमा गरिने निर्माण पक्षले जनाएको छ ।
सार्वजनिक गीतमा राजनराज शिवाकोटी र इन्दिरा जोशीको स्वर रहेको छ । गीतका शब्द निर्देशक एभरेष्ट सूर्य बोहराले लेखेका हुन् भने संगीत राजनराज शिवाकोटीकै रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा नारायण त्रिपाठी, सुरक्षा पन्त र विल्सन विक्रम राईलाई फिचर्ड गरिएको छ ।
पोस्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको फिल्मबाट करिब डेढ दशकपछि चर्चित हास्य अभिनेता नारायण त्रिपाठी (प्रेमचरो) नेपाली चलचित्रमा पुनरागमन गर्दैछन् । फिल्ममा मुकुन भुसाल, सुरक्षा पन्त, विल्सन विक्रम राई, उमेश राई, रबिन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बविन राई, खड्गबहादुर पुन, रजनी गुरुङ, मिना आरएल शाही, रितु मल्ल ठकुरी, तारा शर्मा, सुनीता सापकोटा, विशाल पाण्डे, श्रेया नारायण, धनलक्ष्मी बोहरा र अनुष्का नारायण लगायत कलाकारहरूको अभिनय रहेको छ ।
धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको फिल्मको छायांकन शेरबहादुर तामाङले गरेका हुन् । सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको फिल्ममा उदय विक्रम राणा, रितु मल्ल कुँवर, सुमित्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता छन् । सहनिर्मातामा नारायण त्रिपाठी, यमप्रसाद ओली, सुदीप कुँवर र प्रदीपकुमार सापकोटा रहेका छन् ।
फिल्ममा धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर, कुमार महर्जन द्वन्द्व निर्देशक तथा बन्दे प्रसाद सम्पादक रहेका छन् । आरआर फिल्म्सले वितरण गर्ने ‘चमेलीको पोइ’ आगामी असोज १६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।