निर्देशक विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्र ‘अक्षरा’को सम्पूर्ण डिजिटल अधिकार मुभिज डिजिटेनमेन्ट ले खरिद गरेको छ । निर्माण पक्ष र डिजिटल कम्पनीबीच भएको औपचारिक सम्झौतासँगै अब फिल्मका गीत, ट्रेलर तथा अन्य सम्पूर्ण डिजिटल सामग्री मुभिज डिजिटेनमेन्टमार्फत सार्वजनिक गरिने भएको हो ।
सम्झौतापत्रमा निर्माण पक्षका प्रतिनिधिसँगै मुभिज डिजिटेनमेन्टका प्रदीप धामी, पुष्कर शर्मा घिमिरे र आशिष तामाङले हस्ताक्षर गरेका छन् । निर्देशक पौडेलका अनुसार चलचित्रको युट्युब प्रतिलिपि अधिकार पनि बिक्री भइसकेको छ, जसअनुसार दर्शकले फिल्मसम्बन्धी सम्पूर्ण सामग्री सोही युट्युब च्यानलमार्फत हेर्न सक्नेछन् ।
आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको ‘अक्षरा’ले प्रदर्शनअघि नै बजारमा सकारात्मक चर्चा बटुलिरहेको छ । निर्माण टोली पनि फिल्मको प्रदर्शनलाई लिएर उत्साहित देखिएको छ ।
फिल्ममा ‘१२ गाउँ’बाट चर्चामा आएकी अभिनेत्री न्यान्सी खड्का र अभिनेता सुशील सिटौला मुख्य भूमिकामा छन् । साथै सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको पनि अभिनय रहेको छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानाले अभिनय गरेका छन् ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सोनी थापा (ढुङ्गाना)को प्रस्तुति रहेको छ भने उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले लगानी गरेका छन् । फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन् ।
चलचित्रको मूल कथा निर्माता उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक विनयराज पौडेलले संयुक्त रूपमा तयार पारेका छन् ।
फिल्मका गीतमा सुरेन्द्र रानाको शब्द तथा कर्णराज गिरीको संगीत रहेको छ। गीतमा अन्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगीको स्वर सुन्न पाइनेछ । दीपेन बस्न्यातको छायाङ्कन, रामजी लामिछानेको नृत्य निर्देशन र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको ‘अक्षरा’लाई नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्नेछन् ।