भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासको आयोजनामा ‘सिनेनेपाल कल्चरफेस्ट २०२६’ औपचारिक रूपमा सुरु भएको छ । नेपाल–भारतबीच चलचित्र तथा सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यसहित आयोजना गरिएको महोत्सवमा अभिनेता प्रदीप खड्का र अभिनेत्री आना शर्मालाई नेपाल–भारत चलचित्र तथा सांस्कृतिक प्रवर्द्धनका लागि नेपालको सद्भावना दूत (गुडविल एम्बेसडर) घोषणा गरिएको हो ।
महोत्सवअन्तर्गत जुलाई महिनालाई ‘नेपाली चलचित्र महिना’का रूपमा मनाउने कार्यक्रम तय गरिएको छ । सोही अभियानको सुरुवातस्वरूप नेपाली फिल्म ‘डक्टर टेक वन’ को विशेष प्रदर्शन गरिएको थियो । कार्यक्रममा फिल्मका निर्माता मोती कार्कीलाई नेपाली चलचित्रको विकास, विस्तार तथा प्रवर्द्धनमा पुर्याएको योगदानको सम्मानस्वरूप प्रशंसापत्र प्रदान गरिएको थियो ।
नेपाली दूतावासका अनुसार ‘सिनेनेपाल कल्चरफेस्ट २०२६’ को मुख्य उद्देश्य नेपाली चलचित्र, कला र संस्कृतिलाई भारतीय बजारमा थप परिचित गराउँदै नेपाली फिल्म उद्योगको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्नु हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत डा। सुरेन्द्र थापाले नेपाल र भारतबीचको सांस्कृतिक आदान–प्रदान, चलचित्र सहकार्य तथा नेपाली सिर्जनाको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा यस महोत्सवले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उद्घाटन समारोहमा इन्डो–नेपाल फिल्म एन्ड कल्चरल फोरमका अध्यक्ष सन्दीप मारवा, ग्लोबल ट्रेड एन्ड टेक्नोलोजीका अध्यक्ष गौरव गुप्ता, नेपालसहित विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि, वरिष्ठ अभिनेत्री विपना थापा, प्रवासी नेपाली, नेपाली विद्यार्थी तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाली दूतावासका मिनिस्टर काउन्सेलर अम्बिका जोशीले गरेकी थिइन् ।