चीनमा सम्पन्न ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’का विभिन्न विधाका विजेतालाई काठमाडौंमा आयोजित विशेष समारोहमा सम्मानित गर्दै कुल १० हजार अमेरिकी डलर बराबरको नगद पुरस्कार प्रदान गरिएको छ ।
गत अप्रिल १४ देखि १९ सम्म चीनको हुनान प्रान्तस्थित छाङसामा आयोजित नेपाली चलचित्र सप्ताहअन्तर्गत ‘एन्जिला’ उत्कृष्ट चलचित्र घोषित भएको थियो । उक्त चलचित्रले ४ हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको हो ।
उत्कृष्ट निर्देशकतर्फ ‘तेल भिसा’का निर्देशक शंकर घिमिरेले २ हजार अमेरिकी डलर पुरस्कार जिते। त्यस्तै, ‘छक्का पञ्जा’का दीपकराज गिरी उत्कृष्ट अभिनेता र ‘कबड्डी ४’की मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भए। उनीहरू दुवैले जनही एक हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरे ।
अन्य विधातर्फ ‘महाजात्रा’का पुरुषोत्तम प्रधान उत्कृष्ट छायाकार घोषित भए भने ‘होस्टेल ३’ले उत्कृष्ट सम्पादनको पुरस्कार जित्यो । यी दुवै विधाका विजेताले जनही एक हजार अमेरिकी डलर प्राप्त गरेका छन् ।
आयोजकका अनुसार चलचित्रहरूको मूल्यांकन डा. सिमोन किउको नेतृत्वमा चिनियाँ प्राध्यापक, चलचित्र विज्ञ तथा फिल्म कलेजका विद्यार्थी सम्मिलित निर्णायक टोलीले गरेको थियो ।
पुरस्कार वितरण समारोहमा सहभागी हुन हलिउड निर्देशक चेन शि–झेङसहित आठ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ अभिनेता हरिहर शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित थिए । समारोहमा उपस्थित चलचित्रकर्मीहरूले चिनियाँ प्रतिनिधिमण्डललाई उभिएर ताली बजाउँदै ‘स्ट्यान्डिङ ओभेसन’ दिएका थिए ।
फेस्टिभलका संस्थापक अध्यक्ष ली होङ्सुले चलचित्र आदानप्रदानमार्फत नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । फेस्टिभल अध्यक्ष करुण थापाले यस कार्यक्रमले नेपाली चलचित्रलाई चिनियाँ सिनेमा हल तथा ओटीटी बजारसम्म पुग्ने अवसर सिर्जना गरेको विश्वास व्यक्त गरे ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नेपाली चलचित्रका लागि चीन भविष्यमा ठूलो व्यावसायिक बजार बन्न सक्ने सम्भावना रहेको बताए ।
समारोहमा सहभागी चिनियाँ लगानीकर्ताहरूले नेपाली निर्मातासँग सह–उत्पादनमा चलचित्र निर्माण गर्न तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित नेपाली चलचित्रलाई चिनियाँ ओटीटी प्लेटफर्ममार्फत प्रदर्शन गर्न सहकार्य गर्ने इच्छा व्यक्त गरेका थिए ।
कार्यक्रमका आर्थिक प्रायोजक तथा ग्वाङझाउ सिगुआङयुन टेक्नोलोजीका अध्यक्ष ली हानसहित चिनियाँ प्रतिनिधिमण्डलका सदस्यलाई विशेष सम्मान गरिएको थियो । त्यसैगरी, चिनियाँ प्रतिनिधिमण्डलले चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र फेस्टिभल अध्यक्ष करुण थापालाई पनि सम्मान गरेको थियो ।