प्रदर्शनरत नेपाली चलचित्र ‘गौंथली’ अब अमेरिकाभर एकसाथ प्रदर्शनमा आउने भएको छ । वितरण कम्पनी सेभेन सिज इन्टरनेसनलका अनुसार चलचित्र जुलाई २४ शुक्रबारदेखि अमेरिकाका २६ राज्यका ५६ सहरमा पहिलो सातामै एक हजारभन्दा बढी शोसहित रिलिज हुन लागेको हो ।
टेक्सासको डलासस्थित फोर्ट वर्थमा रहेको सिनेपोलिस लक्जरी सिनेमाज, पेन्सिलभेनियाको ह्यारिसबर्गस्थित रिगल थिएटर तथा ओहायोको कोलम्बसस्थित मार्कस थिएटरमा दर्शकले विशेष शोमार्फत चलचित्र हेर्न पाउनेछन् ।
शुक्रबारदेखि टेक्सासका ९, ओहायोका ७, क्यालिफोर्नियाका ४, न्युयोर्कका ४, आयोवाका ३ र पेन्सिलभेनियाका ३ हलमा चलचित्र प्रदर्शन हुनेछ। यसका साथै एरिजोना, कोलोराडो, केन्टकी, मिजौरी, भर्जिनिया, वासिङ्टन डीसीसहित अन्य २० राज्यका विभिन्न हलमा पनि नियमित प्रदर्शन हुने वितरण कम्पनीले जनाएको छ ।
वितरण कम्पनीका अनुसार अमेरिकास्थित दर्शकले चलचित्रको टिकट कम्पनीको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत पनि खरिद गर्न सक्नेछन् ।
डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौंथली’मा अरुण क्षेत्री र सिम्रन खड्काले मुख्य भूमिका निर्वाह गरेका छन्। चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, संजोग रसाइली, सीतादेवी तिमल्सिना, लक्ष्मीनाथ तिमल्सिना, राजेन्द्र नेपाली, अंशु ओली र प्रिन्स नेपालीलगायत कलाकारको अभिनय रहेको छ ।