आयंका फिल्म्सको प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘मास्टर्नी’ का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक भएको अभिनेत्री प्रियंका कार्कीको एकल पोस्टरले सकारात्मक प्रतिक्रिया पाएपछि निर्माण टिमले चलचित्रको कथावस्तुबारे थप संकेत दिने दुई फरक पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक पहिलो पोस्टरमा अभिनेत्री प्रियंका कार्की र बाल कलाकार सिम्रन खड्का देखिएका छन् । प्रियंकाको अँगालोमा सिम्रन रहेको दृश्यले आमा–छोरीबीचको भावनात्मक सम्बन्धलाई चित्रण गरेको छ। पोस्टरले चलचित्रको कथा पारिवारिक सम्बन्ध र मातृत्वको भावनामा केन्द्रित रहेको संकेत गर्छ ।
दोस्रो पोस्टरमा प्रियंका कार्कीसँगै प्रमोद अग्रहरी र सिम्रन खड्का प्रस्तुत छन् । पोस्टरमा ‘नेपाल प्रहरी अपराध घटनास्थल प्रवेश निषेध’ लेखिएको टेप, हराएका व्यक्तिहरूको पृष्ठभूमि तथा अनुसन्धानको माहोलले चलचित्रमा अपराध र रहस्यको महत्वपूर्ण पक्ष रहेको आभास गराउँछ । ‘उनले अपराध रोजिनन्, उनले त केवल आफ्नी छोरी रोजिन् ।’ भन्ने ट्यागलाइनले आफ्नी छोरीको सुरक्षाका लागि एक आमाले असामान्य निर्णय लिन बाध्य भएको कथावस्तुको संकेत दिएको छ । यी पोस्टरले चलचित्र क्राइम–थ्रिलर जनरामा आधारित रहेको स्पष्ट पार्छन् ।
शुभेन्दु घोषको निर्देशन रहेको ‘मास्टर्नी’का निर्माता प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की हुन् । चलचित्रमा प्रियंका कार्कीसँगै आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रका कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुन् भने सिमोस सुनुवार क्रिएटिभ निर्माताको भूमिकामा छन्। प्रियंका कार्कीको कथामा आधारित चलचित्रको पटकथा शान बस्नेतले तयार पारेका हुन् भने संवाद प्रियंका कार्की र शान बस्नेतले संयुक्त रूपमा लेखेका छन् । चलचित्रको छायांकन युवराज इन्दोरियाले गरेका हुन् भने सम्पादन राजा सिंह सिदुले गरेका छन् ।
निर्माण टिमले ‘मास्टर्नी’लाई नेपालीसँगै अन्य भाषामा पनि एकसाथ प्रदर्शन गर्ने तयारी गरेको जनाएको छ। चलचित्र आगामी भदौ ५ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।