नेपाली फिल्म ‘पार्वती’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा सफलता हासिल गरेको छ । फिल्मको अमेरिका प्रदर्शन अधिकार माया डिजिटलले खरिद गरेको निर्माण टिमले जनाएको छ । यद्यपि, अधिकार बिक्रीबाट प्राप्त रकमबारे भने निर्माण पक्षले खुलाएको छैन ।
अमेरिकामा प्रदर्शन सुनिश्चित भएपछि फिल्मकी निर्देशक तथा प्रमुख अभिनेत्री नीता ढुङ्गानाले खुशी व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत अमेरिकामा रहेका नेपाली तथा चलचित्रप्रेमी दर्शकलाई फिल्म हेरेर साथ दिन आग्रह गरेकी छन् । उनले ‘पार्वती’ माया, संघर्ष, स्वीकार्यता र आत्मीय सम्बन्धको भावनात्मक कथा बोकेको चलचित्र भएकाले अब अमेरिकामा रहेका नेपाली दर्शकमाझ पनि पुग्न लागेको बताएकी छन् ।
निर्देशक ढुङ्गानाका अनुसार अमेरिकाबाहेक अन्य देशका वितरकसँग पनि फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनबारे छलफल भइरहेको छ । यसले ‘पार्वती’लाई विश्वका विभिन्न मुलुकमा रहेका नेपाली दर्शकमाझ पुर्याउने सम्भावना बढाएको निर्माण पक्षको विश्वास छ ।
यता, फिल्ममा समावेश रत्यौली शैलीको गीत ‘नौतुना रेलैमा’ पनि यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। एक साताअघि सार्वजनिक गरिएको उक्त गीतले छोटो समयमै दर्शकको सकारात्मक प्रतिक्रिया पाउँदै लोकप्रियता हासिल गरिरहेको छ ।
नीता ढुङ्गानाकै कथा तथा निर्देशनमा बनेको ‘पार्वती’मा उनी स्वयं मुख्य भूमिकामा देखिएकी छन् । फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ ।
शिवम् अधिकारीको पटकथा, सुदीप बरालको छायांकन तथा रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्म नीता फिल्म्सको प्रस्तुतिमा निर्माण भएको हो । हरिहर अधिकारी निर्माता रहेको यस फिल्मका कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर शंकर पाण्डे हुन् । यस चलचित्र आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको हो ।