सकारात्मक वर्ड अफ माउथको प्रभावसँगै चलचित्र ‘गौँथली’ ले प्रदर्शनको दोस्रो सातासम्म आइपुग्दा आफ्नो उपस्थिति थप मजबुत बनाएको छ । प्रारम्भमा करिब २०० शोबाट प्रदर्शन सुरु गरेको चलचित्रले अहिले देशभर २५० भन्दा बढी शो प्राप्त गरेको छ ।
चलचित्रको व्यापार पनि सन्तोषजनक रहेको निर्माण पक्षको दाबी छ । यद्यपि, आधिकारिक बक्स अफिस विवरण भने सार्वजनिक गरिएको छैन । निर्देशक कपिल रिजालका अनुसार नेपाल चलचित्र विकास बोर्डले हरेक सोमबार आधिकारिक बक्स अफिस तथ्यांक सार्वजनिक गर्ने भएकाले निर्माण टिमले त्यसअघि कुनै तथ्यांक बाहिर नल्याएको हो ।
उनले भने, “हामीले आधिकारिक तथ्यांक बोर्डबाटै सार्वजनिक होस् भन्ने चाहेका हौँ । तर, धेरैले अपेक्षा नगरेको भन्दा पनि सुखद बक्स अफिस रिपोर्ट आउने संकेत देखिएको छ ।”
पहिलो दिन केही हलमा औसत उपस्थिती देखिए पनि त्यसपछिका दिनमा दर्शकको चाप उल्लेखनीय रूपमा बढेको निर्माण पक्षको भनाइ छ । कतिपय शोहरू हाउसफुलसमेत भएका छन् । चलचित्रको टिम कलाकारसहित काठमाडौं उपत्यका तथा मोफसलका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिक्रिया संकलन गरिरहेको छ ।
दर्शकले चलचित्रलाई मौलिक नेपाली कथा र पारिवारिक भावनालाई जीवन्त रूपमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरेका छन् । एउटै परिवारका १० देखि १५ जनासम्म एकैपटक चलचित्र हेर्न हल पुगेका उदाहरण पनि देखिएका छन् । विशेषगरी महिला दर्शकको उपस्थिती पुरुषको तुलनामा उल्लेखनीय रहेको जनाइएको छ ।
‘गौँथली’ मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।
डा. भोला रिजालको कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद डा। कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् । घर, परिवार, सम्बन्ध र आत्मीयताको भावनालाई मुख्य विषय बनाइएको चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले गरिरहेका छन् ।