नेपाली फिल्म ‘हली’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार आयोजित विशेष कार्यक्रममा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो ।
सार्वजनिक ट्रेलरले पश्चिम नेपालको सामाजिक यथार्थसँग जोडिएको छाउप्रथालाई केन्द्रमा राखेको छ । महिनावारी भएका कारण किशोरीलाई विद्यालय जान नदिने, २१ दिनसम्म बुबा तथा पुरुष सदस्यको अनुहार हेर्न नहुनेजस्ता कुप्रथालाई ट्रेलरमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माता पूजा गुरुङले फिल्म वास्तविक घटनाबाट प्रेरित भएर निर्माण गरिएको बताइन् । उनका अनुसार देश परिवर्तनका लागि ठूलो शक्ति होइन, एउटा सचेत ‘हली’ नै पर्याप्त हुन सक्छ । उनले नेताका भाषणले मात्र परिवर्तन सम्भव नहुने भन्दै समाजमा चेतनाको विकास आवश्यक रहेको धारणा राखिन् ।
फिल्मका लेखक तथा निर्देशक ओम प्रतिकले पश्चिम नेपालमा पहिलोपटक महिनावारी हुँदा किशोरीलाई छाउगोठमा राख्ने परम्पराबाट प्रभावित भएर कथा तयार गरिएको बताए। उनले समाजको सोच र चेतनाको दायरा फराकिलो बनाउन सके औपचारिक शिक्षाभन्दा पनि ठूलो परिवर्तन सम्भव हुने उल्लेख गरे ।
पूजा गुरुङ र जस्मिन श्रेष्ठको निर्माण रहेको फिल्ममा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी लगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक ओम प्रतिक स्वयं पनि फिल्मको प्रमुख भूमिकामा देखिएका छन् ।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको ‘हली’ले एउटा सामान्य ‘हली’को संघर्षमार्फत समाज र देश परिवर्तनको सम्भावना देखाउने प्रयास गरेको निर्माण पक्षको दाबी छ ।
फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन् । राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मलाई नेसनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ भने यसको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । यस फिल्म आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको हो ।