हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘बाः एक योद्धा’ को मर्मस्पर्शी टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले सार्वजनिक गरेको टिजरले एक सुखी परिवारमाथि आइपर्ने अकस्मात् विपत्ति, बुवाको त्याग र परिवारको संघर्षलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ ।
‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ भन्ने संवादबाट सुरु हुने टिजरमा मुख्य अभिनेता दिव्यदेव पन्त रगतले लत्पतिएको अवस्थामा देखिन्छन् । उनी कुनै भयावह घटनाबाट फर्किएको संकेत गर्ने दृश्यले दर्शकमा जिज्ञासा पैदा गर्छ । उनको हाउभाउ र घर फर्किने क्रममा देखाइएका दृश्यहरूले परिवारकै कुनै सदस्य हराएको वा ठूलो दुर्घटना भएको अनुमान गर्न सकिन्छ ।
टिजरमा ‘आज बाउको मुख हेर्ने दिन, तर एउटा बाले आफ्नै छोराको मुख हेर्न पाएन’ भन्ने संवादले कथाको पीडादायी पक्षलाई अझ गहिरो बनाएको छ । त्यससँगै दिव्यदेव गाडीमा कतै गइरहेको दृश्य तथा झरना थापा र सुहाना थापा रोइरहेका दृश्यहरूले दर्शकलाई भावुक बनाउँछन् ।
यद्यपि परिवारमाथि आएको विपत्तिको वास्तविक कारण भने टिजरले खुलाएको छैन । तर, अप्रत्याशित घटनाले कसरी एउटा सुखी परिवारको जीवन तहसनहस हुन्छ भन्ने विषयलाई चलचित्रले मुख्य कथावस्तु बनाएको संकेत टिजरले दिएको छ ।
आगामी भदौ १९ गते प्रदर्शनमा आउन लागेको ‘बाः एक योद्धा’ ले नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीलाई मुख्य विषय बनाएको निर्माण पक्षले जनाएको छ । चलचित्रलाई कुशे औँसी (बुबाको मुख हेर्ने दिन)को पूर्वसन्ध्यामा प्रदर्शनमा ल्याइँदैछ ।
चलचित्रमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।
दर्जनौँ चर्चित गीतका सर्जकका रूपमा परिचित हरि लम्साल ले यस चलचित्रमार्फत पहिलो पटक फिचर फिल्म निर्देशन गरेका हुन् । आर्टिस्टिक इन्टरटेनमेन्ट को ब्यानरमा निर्माण भएको चलचित्रको कथा र पटकथा पनि लम्साल स्वयंले तयार पारेका छन् ।
वसन्त लम्साल निर्माताको रूपमा रहेका यस चलचित्रमा शिवराम श्रेष्ठ को छायांकन, तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक तथा आशिष एच तामाङ र प्रदीप धामी को कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।