नेपाली चलचित्र ‘बेहुली’को पहिलो प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ । चलचित्रको प्रचारप्रसारलाई लक्षित गर्दै तयार गरिएको लोक फ्लेभरको यो गीत शुक्रबार काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
कार्यक्रममा हलको ठूलो पर्दामा गीतको भिडियो प्रदर्शन गरिएको थियो । सार्वजनिक गीतमा चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ भने अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रबि ओडको स्वर सुन्न सकिन्छ। गीतको मिक्सिङ तथा मास्टरिङ नरेश बिबिसीले गरेका हुन् ।
गीतको भिडियोमा ‘कुल ब्वाई’का रूपमा परिचित पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङ फिचर्ड छन् । उनीहरूको अनस्क्रिन केमेस्ट्री र आकर्षक नृत्यलाई कार्यक्रममा उपस्थित सञ्चारकर्मीले सकारात्मक प्रतिक्रिया दिएका थिए। गीतको कोरियोग्राफी सियोन श्रेष्ठले गरेका हुन् ।
गीत सार्वजनिक गर्दै संगीतकार तथा निर्माता अर्जुन पोखरेलले चलचित्रको प्रचारलाई नयाँ स्वाद दिन यो गीत तयार गरिएको बताए। उनका अनुसार गीतलाई दर्शकले ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न र सुन्न सक्नेछन् ।
यसअघि सार्वजनिक भएको चलचित्रको फर्स्ट लुक पोस्टरले सामाजिक सञ्जालमा राम्रो चर्चा बटुलेको थियो । निर्माण पक्षले नयाँ गीतले पनि चलचित्रप्रतिको उत्साह र अपेक्षालाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरेको छ ।
सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको ‘बेहुली’मा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहेको छ ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रका निर्माता प्रताप शमशेर राणा हुन् भने कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल रहेका छन्। सह(निर्मातामा दुर्गा खरेल र शिशिर श्रेष्ठ छन् । कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसरका रूपमा आबद्ध छन् ।
चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ। मुख्य सहायक निर्देशक सुदीप कुँवर हुन् भने सहायक निर्देशक योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना रहेका छन् । यमप्रसाद ओली प्रोडक्सन हेड रहेको चलचित्रमा किशोर नेपालको प्रोडक्सन डिजाइन, राजु वाइबाको मेकअप र एलेक्स बासुकलाको पोशाक डिजाइन रहेको छ ।
चलचित्रलाई काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन् भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलले प्राप्त गरेको छ । यस चलचित्र भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ ।