नयाँ नेपाली फिल्म ‘एक्का मिस्सी बादशाह’को निर्माण घोषणा गरिएको हो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच औपचारिक रूपमा निर्माण घोषणा गरिएको हो ।
फिल्मको निर्देशन बेलायत (यूके)मा बस्दै आएका सञ्जय राईले गर्नेछन् । यो उनको निर्देशनमा बन्न लागेको पहिलो नेपाली फिल्म हो । लामो समयदेखि फिल्म निर्माण र निर्देशनमा रुचि राख्दै आएका राईले डेब्यु निर्देशनका रूपमा यो परियोजना अघि बढाएका हुन् ।
मोहिनीदेवी राईको प्रस्तुतिमा बन्न लागेको फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा रहनेछिन् । उनीले ‘आशु’ नामक पात्रको भूमिका निर्वाह गर्नेछिन् । निर्माण पक्षले उनको बोल्ड अवतार झल्किने फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै पात्रबारे जानकारी पनि दिएको छ । उनी दुई वर्षपछि नेपाली फिल्ममार्फत दर्शकमाझ फर्किने भएकी छन् ।
उनले भनिन्, “यो फिल्मको पात्र निकै मन पर्यो, त्यसैले काम गर्न तयार भएँ । सुरुमा केही अन्योल थियो, तर निर्देशकले पात्रबारे विस्तृत रूपमा बुझाएपछि मेरो सोच परिवर्तन भयो ।”
फिल्मको ट्यागलाइन ‘कोही जित्छन्, कोही हार्छन्, कोही बादशाह बन्छन्’ राखिएको छ । निर्देशक सञ्जय राईका अनुसार फिल्मले युवापुस्ताको जीवन, मित्रता, प्रेम, सम्बन्ध, सामाजिक सञ्जालको प्रभाव तथा जीवनका विभिन्न उतारचढावलाई प्रस्तुत गर्नेछ ।
उनले दुई साथीको यात्रामार्फत हुर्कँदै जाँदा आउने परिवर्तन, परिवार र समाजका अपेक्षाबीचको संघर्षलाई मनोरञ्जनात्मक शैलीमा चित्रण गरिने बताए ।
फिल्ममा कार्यकारी निर्माता सुदीप्ता, लाइन प्रोड्युसर एलोन गुरुङ र प्रोजेक्ट सुपरभाइजर सुपथ श्रेष्ठ रहेका छन् । छायांकन नरेन्द्र मैनालीले गर्नेछन् भने संगीत निकेश कार्की र रोमन बज्राचार्यको रहनेछ । आशिम रानाभाट स्टाइलिङ तथा सुनिल शिवभक्तिले सम्पादनको जिम्मेवारी सम्हाल्नेछन् । फिल्मको छायांकन आगामी फागुनदेखि सुरु गर्ने तयारी गरिएको निर्माण टिमले जनाएको छ ।
कार्यकारी निर्माता सुदीप्ताले ‘एक्का मिस्सी बादशाह’ आफ्नो लागि विशेष परियोजना भएको उल्लेख गर्दै कार्यकारी निर्माताको रूपमा नेपाली फिल्म उद्योगमा नयाँ यात्रा सुरु गर्न लागेको बताइन् ।
यसैबीच निर्माण पक्षले फिल्मका दुई मुख्य पुरुष पात्र ‘क्रिश’ र ‘अर्जुन’ का लागि अडिसन खुला गरेको छ । अन्य कलाकार र थप विवरण भने आगामी दिनमा सार्वजनिक गरिने जानकारी दिइएको छ ।