--समीर बलामी (चलचित्र पत्रकार)
नेपाली फिल्म उद्योग अर्थात् सिनेमान्डुले छ दशक पार गरिसक्यो । यो छ दशकमा कति परिवर्तन भए र फिल्म उद्योग कति परिष्कृत हुन सक्यो, त्यो हामीसामु छर्लङ्ग छ । नेपाली फिल्मले सुरुवाती दिनमा भन्दा अहिले प्रविधिमा फड्को मारेको छ । निर्माणमा सङ्ख्यात्मक वृद्धि भएको छ तर कथाशैली र गुणात्मक हिसाबले हामी अझै कमजोर संरचनामा छौँ ।
यद्यपि नेपाली फिल्मले पनि आफ्नो आकार भने ठूलो बनाउँदै गएको छ । चाहे बजारमा होस्, चाहे अन्तर्राष्ट्रियकरणमा होस् या चाहे प्रविधिमा । यो आफँैमा सुन्दर पक्ष हो । यसको कारण नेपाली फिल्मको समग्र पक्ष हो । अझ प्रभावकारी रूपमा भन्दा निर्देशक र प्राविधिक पक्ष यसका कारण हुन् ।
फिल्मको स्वामित्वमा हामी क्याप्टेन अफ द प्रोजेक्टको नाम दिएर निर्देशकलाई सम्मान गर्छौँ । असफलताका कथाहरू पनि रोचक हुन्छन् । त्यसमा पनि सङ्घर्ष, मेहनत र अथक प्रयासहरू हुन्छन् । झन् सफलताका कथाहरूमा त सङ्घर्ष, मेहनत र अथक प्रयासहरूको सङ्ग्रह नै भेटिन्छ । कति फिल्महरू सफल भए । फिल्मको चर्चा भयो । कलाकारको चर्चा भयो, कथा र विषयवस्तुको चर्चा भयो । तर निर्देशकको ?
आज हामी निर्देशकहरूको चर्चा गर्न गइरहेका छौँ जसको सङ्घर्ष, मेहनत र अथक प्रयासले सुन्दर कृतिहरू जन्मिएका छन् । सुन्दर कृतिका निर्देशकहरूलाई सम्झने प्रयास नेपाल चलचित्र निर्देशक समाजले गरेको छ । चर्चामा रहेका फिल्महरूको पर्दापछाडिका मुख्य हिरोहरूको चर्चा गर्न आवश्यक ठानेर यो प्रयत्न हामीले गरेका छौँ । फिल्म उद्योगका सफल निर्देशकको अर्थपूर्ण उपस्थिति सबै ठाउँमा प्रस्तुत होस् भन्ने उद्देश्य पनि हो ।
देशमा कतिपय नकारात्मक पक्षका बिच पनि आशाका किरणहरू छन् । त्यस्तै नेपाली फिल्मले दिने हजारौँ सन्देशहरूमा पनि यी आशाका किरणहरूको समावेश पक्कै छ । समाजमा सकारात्मक सोच र परिवर्तनको आवश्यकता यतिखेर तीव्र छ । त्यस्तो विषयमा प्रभावकारी फिल्महरू बन्नुपर्छ र त्यस किसिमको विषयमा केन्द्रित हुने निर्देशकहरू आवश्यक छ । त्यसका लागि पनि हाम्रो योे सानो प्रयासले नयाँ उर्जा दिन सक्छ ।
गएको २५ वर्षदेखि यता हजारभन्दा बढी फिल्महरू बने । कति सफलताको सूचीमा उक्लिए त कति यात्रामा थकित पनि भए होलान् तर एउटा कृतिको नेतृत्व गरेका निर्देशकहरूको कथा उस्तै छ । ती कथाबाट केही रोचक, केही अर्थपूर्ण र केही चर्चासहित नेतृत्व गरेका निर्देशकहरूबाट हामीले २५ निर्देशकको सूची तयार ग¥यौँ । गएको २५ वर्षमा बनेका सबै खालका फिल्महरूको समिश्रणबाट केही कथाशैली, केही सामाजिक विषय, केही परिवर्तित शैलीका, केही व्यावसायिक रूपमा सफल र केही राजनीतिक महत्वका निर्देशकहरूको नाम टिपेर यो सूची तयार पारेका छौँ ।
चलचित्र पत्रकारितामा बिस वर्षको मेरो अनवरत यात्रा र यसबिच मैले अध्ययन गरेको चलचित्र पत्रकारिताको अनुभवलाई मैले यो महत्वपूर्ण जिम्मेवारीको मियो बनाएको छु । सफल र परिष्कृत फिल्म, कथाशैलीमा नवीनताको प्रस्तुतीकरण र समाज परिवर्तनका लागि दिएको सन्देश, प्रविधि र परिवेशको उत्कृष्ट समिश्रण, मौलिक कथा र पात्रहरूको प्रस्तुतीकरण, बजार र बक्स अफिसको चर्चा, राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्व, नेपाली समाज, आर्थिक र राजनीतिक परिवर्तनका गहन विषय समेटेका फिल्मका निर्देशकहरू यसमा समावेश छन् ।
देशभक्त खनाल (२०५७)
वि.सं. २०१२ मा विराटनगरमा जन्मिएका अभिनेता तथा निर्देशक देशभक्त खनाल नेपाली फिल्म उद्योगमा चर्चाको नाम हो । सात वर्षको उमेरदेखि नाटकमा होमिएका उनी अभिनयमा रुची राख्ने गर्थे । दीपक आलोकको फिल्म हारजितबाट अभिनय सुरु गरेका उनले नेपाल टेलिभिजनकै भानुभक्त नामक टेलिफिल्ममा पनि अभिनय गरेका छन् ।
हिमाली कलामन्दिर नाट्यसमूहबाट उनले आफूलाई कलाक्षेत्रमा समर्पण गर्ने अठोट लिएका थिए । स्कुलबाट नै अभिनय यात्रा गरिसकेकाले उनले कलेज पुग्दा आफैँ नाटक लेख्ने र निर्देशन गर्नेसमेत गरे । उनको पहिलो नाटक गोरखा भर्ती हो । त्यसपछि उनले दर्जनौँ फिल्म र टेलिफिल्ममा काम गरे । २०५६ सालमा निर्माण भएको पिँजडा नेपाली फिल्म उद्योगका लागि चर्चिच छ ।
विशेष गरी नेपाली फिल्ममा एक्सनको अपडेटेड भर्सन भनेर पिँजडालाई लिइने गरेको छ । अभिनेता निखिल उप्रेतीले पिँजडाबाट फिल्मयात्रा सुरु गरेका हुन् । निर्देशक देशभक्तले निखिललाई उक्त फिल्मबाट एक्सन किङका रूपमा भित्राएका थिए । सामाजिक कथावस्तुमा निर्माण भएको यो फिल्ममा निखिल उप्रेतीले सातौँ तल्लाबाट हाम फालेको दृश्य राखिएको छ । सोही दृश्यका कारण फिल्मको चर्चा भएको थियो । बक्स अफिसमा समेत हिट बनेको पिँजडाबाट एक्सनको बाढी सुरु भएको थियो । पिँजडा २०५७ मा प्रदर्शन भयो जसको कथालेखन र निर्देशन दुवै गरेका यसका निर्देशक देशभक्तलाई हामीले वर्ष २०५७ को वर्ष निर्देशकका रूपमा प्रस्तुत गरेका छौँ ।
तुलसी घिमिरे (२०५८)
भारतको कालिम्पोङमा जन्मिएका तुलसी घिमिरे नेपाली फिल्म उद्योगका एक अभिभावक हुन् । उनले निर्देशन गरेका धेरै फिल्म हिट भएका छन् । त्यसमध्येको एक हो दर्पण छायाँ जो २०५८ सालमा प्रदर्शन भएको हो । तुलसी घिमिरेद्वारा लिखित र निर्देशित दर्पण छायाँ प्रदर्शनताकाको समयसम्म सर्वाधिक कमाई गर्ने फिल्म रहेको थियो । सिद्धान्त फिल्मसको ब्यानरमा यो फिल्म श्रवण घिमिरेले निर्माण गरेका हुन् । चलचित्रमा दिलिप रायामाझी, उत्तम प्रधान, निरुता सिंह, लक्ष्मी गिरी, टीका पहारी, जितु नेपाललगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्म दुई जना सबैभन्दा राम्रो मित्रहरू बिचको प्रेम र त्रिकोणात्मक प्रेमसम्बन्धसँग सम्बन्धित छ । काठमाडौँ उपत्यका र मोफसलमा यो फिल्म १५१ दिन चलेको थियो । २०५८ मा प्रदर्शन भएको दर्पण छायाँका निर्देशक तुलसी घिमिरेलाई वर्ष २०५८ बाट वर्ष निर्देशकको रूपमा प्रस्तुत गरेका छौँ ।
ज्ञानेन्द्र देउजा (२०५९)
काठमाडौँको कपनमा २०२५ मा जन्मिएका ज्ञानेन्द्र देउजाले अहिलेसम्म १७ ओटाभन्दा बढी फिल्म निर्देशन गरेका छन् । उनले निर्देशन गरेको पहिलो फिल्म रक्षक हो । त्यसपछि गोर्खाली, देवरबाबु, दागबतीलगायत निर्देशन गरेका छन् । उनले थुप्रै फिल्ममा सहायक निर्देशन पनि गरेका छन् । लक्ष्मीप्रसाद देवकोटाको चर्चित खण्डकाव्य मुनामदनमा आधारित फिल्म हो मुनामदन । निर्देशक देउजाले निर्देशन गरेको यो फिल्म २०६० सालमा ओस्कार अवार्डका लागि नेपालबाट छनौट भएको हो ।
फिल्ममा दीपक त्रिपाठी र उषा पौडेलसँगै सुभद्रा अधिकारी, विजय लामा, मिथिला शर्मा, नीर शाह, दिनेश डीसी र शिवहरि पौडेलको मुख्य भूमिका रहेको थियो । फिल्मले मुनामदनको खण्डकाव्यका पात्र (मदन) को जीवनलाई वर्णन गरेको छ । आफ्नी श्रीमती (मुना) लाई छोडेर पैसा कमाउन ल्हासा जाने मदनको वियोगान्त कथा फिल्मले प्रस्तुत गर्छ । यही फिल्मका निर्देशक ज्ञानेन्द्र देउजालाई वर्ष २०५९ बाट वर्ष निर्देशकको रूपमा प्रस्तुत गरेका छौँ ।
स्व. शिव रेग्मी (२०६०, २०६२ र २०६३)
वरिष्ठ फिल्म निर्देशक स्व. शिव रेग्मी सबै फिल्मकर्मीको मानसपटमा रहने नाम हो । २०७० सालमा दुवै मिर्गौलाले काम नगरेपछि उनको निधन भएको थियो । चितवनमा जन्मिएका निर्देशक स्वर्गीय रेग्मी सर्वाधिक हिट फिल्मका निर्देशक हुन् ।
आफन्तबाट नेपाली सिनेनगरीमा निर्देशकका रूपमा प्रवेश गरेका रेग्मीले बनाएका अधिकांश फिल्मले सुपरहिट व्यापार गरेका छन् । सिनेमान्डुलाई रेग्मीले आफन्त, सुख दुःख, आफ्नो मान्छे, ए मेरो हजुर, उपहार, पाहुना, हामी तीन भाइ, मुग्लान, कहाँ भेटिएला, दुनियाँ, मानिस, साथी म तिम्रो, मनले मनलाई छुन्छ र पराईलगायतका चलचित्र दिएका छन् ।
फिल्म सुख दुखमा मदनकृष्ण श्रेष्ठ, मिथिला शर्मा, श्रीकृष्ण श्रेष्ठ, झरना थापालगायतको अभिनय छ । पारिवारिक परिवेशको कथालाई प्रस्तुत गर्ने यो फिल्मले गरिब परिवारको प्रतिनिधित्व गर्छ । जीवनमा सुख र दुःखमा परिवार एकै ठाउँमा हुनुपर्छ भन्ने सन्देश बोकेको सुपरहिट फिल्म हो यो ।
वि.सं. २०४९ देखि केही परिवर्तनका पक्षधरहरू भूमिगत विद्रोह र वर्गीय उत्थानको नारा लिएर युद्धमा होमिए । २०५५÷५६ तिरबाट चर्चामा रहेको माओवादीको जनयुद्ध २०५९ पछि झनै चर्कियो । राज्यसत्ताको विरुद्धमा चलिरहेको युद्ध होस् या वर्गीय उत्थानका लागि भएका आन्दोलनहरू, ती विषयहरू नेपाली फिल्ममा पनि समेटिएका छन् । यस्तै आन्दोलन र वर्गीय मुक्तिको कथामा निर्माण भएको फिल्म हो युद्ध । आमूल परिवर्तन र समाजवादका लागि युद्धले भूमिका खेल्छ । देशको विकास र परिवर्तनका लागि युद्ध आवश्यक रहन्छ भने सन्देश दिने फिल्म युद्धलाई पनि निर्देशक स्वर्गीय रेग्मीले नै निर्देशन गरेका थिए । फिल्ममा शिव श्रेष्ठ, निखिल उप्रेती, मिथिला शर्मा, उषा पौड्याललगायत कलाकारहरूको अभिनय थियो ।
यस्तै स्वर्गीय रेग्मीले निर्देशन गरेको अर्को फिल्म हो मानिस । आम मानिसले भोग्नुपरेको नेपाली राजनीति, सामाजिक र आर्थिक अवस्थाको परिबन्द र त्यसको प्रभावमा बाँचिरहेको जीवन र देशका लागि आम मानिसले गर्नुपर्ने योगदानका बारेमा फिल्मले कथा प्रस्तुत गरेको छ ।
भुवन केसी, निखिल उप्रेती, दिलिप रायामाझी, विपना थापा, रमित ढुङ्गाना, सुशील पोखरेल, मिथिला शर्मा आदिको भूमिका रहेको मानिस पनि २०६२ सालको हिट फिल्म हो । सुख दुःख र मानिसबाट निर्देशक स्व. शिव रेग्मीलाई वर्ष २०६० र वर्ष २०६२ को वर्ष निर्देशकको रूपमा प्रस्तुत गरिएको छ भने २०६३ मा प्रदर्शन भएको फिल्म युद्धबाट वर्ष निर्देशकका रूपमा पनि रेग्मीलाई प्रस्तुत गरिएको छ ।
सुवास गजुरेल (२०६१)
२०१८ सालमा धनुषा जिल्लामा जन्मिएका निर्देशक सुवास गजुरेल हास्य अभिनेतासमेत हुन् । मधेशी पात्रका रूपमा उनले दर्जनौँ फिल्ममा काम गरेका छन् । मधेशको रहनसहनमा जन्मेर हुर्केका उनलाई मधेशको विषयवस्तुयुक्त कथाले सधैँ घेरिरह्यो त्यसैले उनले अधिकांश फिल्ममा मधेशकै पात्र र विषयवस्तुमा काम गरे ।
२०३५ सालमा काठमाडौँ आएको दुई वर्षपछि उनले नाटकमा आफूलाई अभ्यस्त बनाए । स्टेज कार्यक्रम र नाटकमा काम गर्दागर्दै २०४२ मा उनले बाचा बिर्सेको छैन टेलिफिल्मबाट पर्दाको यात्रा सुरु गरे । पछि फिल्म सरस्वतीबाट उनले फिल्मको यात्रा पनि सुरु गरे । २०५५ सालमा माया बैगुनी नामक फिल्मको निर्देशन गर्दै उनले निर्देशकको यात्रा तय गरेका हुन् ।
वि.सं. २०५९ मा चर्चित उपन्यास बसाइँमाथि बनेको फिल्म हो बसाइँ । गाउँमा धनी र गरिबको थिचोमिचो र जातजातिको विभेदले बनाएकोे खाडललाई सहन नसकेर आफ्नो थातथलो छोडेर मधेशलाई अँगाल्नेहरूको कथा फिल्म बसाइँले प्रस्तुत गर्छ । फिल्ममा मुकुन्द बस्ताकोटी, रञ्जु लामिछाने, उत्तम प्रधान, मिथिला शर्मा, गणेश उप्रेती र लीलबहादुर क्षेत्रीलगायतको अभिनय रहेको छ । फिल्म बसाइँबाट वर्ष २०६१ को वर्ष निर्देशकका रूपमा सुवास गजुरेललाई प्रस्तुत गरेका छौँ ।
दयाराम दाहाल (२०६४)
दयाराम दाहाल सिनेमान्डुका एक सफल निर्देशक हुन् । उनले नेपाली समाजका यथार्थपरक कथायुक्त फिल्महरू निर्देशन गर्दै आएका छन् । झण्डै ५० भन्दा बढी फिल्म उनले निर्देशन गरेका छन् जसमध्ये ४० भन्दा बढी हिट भएका छन् । उनी गीतकारसमेत हुन् र नेपाली फिल्मका सयौँ हिट गीतहरूमा उनको शब्द रचना छ भने नेपाली फिल्मको विकास र प्रवद्र्धनमा उनको योगदान अतुलनीय छ ।
नेपाली फिल्मक्षेत्रका सफल निर्देशक दयाराम दाहाल २०४५ सालमा निर्मित फिल्म लाहुरेको पोस्ट प्रोडक्सनमार्फत यो क्षेत्रमा होमिएका हुन् । उनको निर्देशन रहेको पहिलो फिल्म दाइजो हो । निर्माण प्रक्रिया केही समय रोकिँदा रिलिजका हिसाबले भने पहिलो फिल्म भरिया भयो ।
दाहालले निर्देशन गरेका अधिकांश फिल्मले राम्रो व्यवसाय गरेको मात्र होइन ५१ औँ र १०० औँ दिनको व्यावसायिक रहेकर्डसमेत बनाएका छन् । चलचित्र विकास बोर्डको अध्यक्षसमेत रहिसकेका दाहालले फिल्मको हकहितका खातिर थुप्रै काम गरेका छन् । उनले निर्देशन गरेका सयौँ फिल्ममध्ये २०६४ मा रिलिज भएको फिल्म हो पालेदाइ । पालेदाइ सिनेमान्डुको एक चर्चित सामाजिक फिल्म हो जसले परिवार, प्रेम, सङ्घर्ष र नेपाली समाजको यथार्थ चित्रण प्रस्तुत गरेको छ । यो फिल्म नेपाली दर्शकमाझ निकै लोकप्रिय छ जो इतिहासकै स्मरणीय फिल्ममध्ये एक हो ।
नेपाली समाजमा हुने प्रेम, बलिदान, परिवारभित्रको सम्बन्ध तथा व्यक्तिको सङ्घर्षको कथामा पालेदाइ निर्माण भएको हो । सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित सो फिल्मका निर्देशक दयाराम दाहाललाई वर्ष २०६४ बाट वर्ष निर्देशकको रूपमा प्रस्तुत गरेका छौँ ।
भूषण दाहाल (२०६५)
२०२२ मा जन्मेका भूषण दाहाल नेपाली फिल्म तथा सङ्गीत क्षेत्रका भिडियो निर्देशक एवम् चर्चित टेलिभिजनकर्मीसमेत हुन् । भिडियो निर्देशन तथा डक्युमेन्ट्री फिल्ममा उनको योगदान रहेको छ । उनले विभिन्न कलाकार तथा गायकहरू जस्तै निमा रुम्बा, रामकृष्ण ढकाल, राजेशपायल राई, १९७४ एडी, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, न्हू वज्राचार्यहरूसँग निर्देशनमा सहकार्य गरिसकेका छन् । टेलिभिजनमा पनि चर्चामा रहने गरेका उनी बहुआयामिक व्यक्तित्व हुन् ।
अहिलेको समय डिजिटल र प्रविधिमय छ । आजभोलि चलचित्रको निर्माणदेखि प्रदर्शनसम्मका हरेक गतिविधि डिजिटल प्रविधिमै हुन्छन् । यो समयसम्म आउन नेपाली चलचित्रले सेलुलाइड युगलाई पार गरेको थियो । त्यतिबेला चलचित्रको चारदेखि पाँच ओटा प्रिन्ट तयार गरेपछि प्रदर्शन गरिन्थ्यो । यो समय सुरु भएको बिन्दु भनेको फिल्म कागबेनी हो । कागबेनीले परम्परागत प्रदर्शन शैलीलाई थन्क्याइदियो । रिल र क्यान बोकेर सिनेमाघर दौडनुपर्ने अवस्थाको पनि अन्त्य गरिदियो ।
नेपाली चलचित्रको निर्माण र कथ्यशैली परिवर्तन गरेर बनेको कागबेनी भूषण दाहालले निर्देशन गरेको फिल्म हो । यो फिल्मसँगै अशोक शर्मा अध्यक्ष रहेको डीसीएन (डिजिटल सिनेमा नेटवर्क) को इतिहास पनि जोडिन्छ । डिजिटल प्रविधिमा जानकै लागि अशोक शर्मा र भाष्कर ढुङ्गानालगायतले कागबेनीको निर्माणका लागि निर्देशक दाहाललाई जिम्मेवारी दिए । फिल्ममा निमा रुम्बा, सौगात मल्ल, दिया मास्केलगायतको अभिनय रहेको छ ।
कागबेनीमा परम्परागत प्रस्तुतीकरण छैन । न त हिरो भन्ने शब्दसँग मिल्दो भाष्य नै छ । दर्शकलाई केही हदसम्म नेपाली चलचित्रको नयाँ युगसँग परिचित गराउने काम यसले ग¥यो । दर्शकले समाजसँग जोडिएको फिल्म पर्दामा पाए । आफ्नै समाजमा देखिएको पात्रलाई हिरोको रूपमा पाउँदा दर्शक कनेक्ट भए । पर्दामा देखिने हिरोको बारेमा स्थापित भाष्य फरक देखियो । यसकारण समाजसँग जोडिएर डिजिटल युगको सुरुवात भएको फिल्म कागबेनीबाट वर्ष २०६५ को वर्ष निर्देशकका रूपमा टेलिभिजनकर्मी भूषण दाहाललाई प्रस्तुत ग¥यौँ ।
मनोज पण्डित (२०६६)
मनोज पण्डित नेपाली सिनेमान्डुका चर्चित लेखक तथा निर्देशक हुन् जसले विशेष गरी सामाजिक र राजनीतिक विषयवस्तुमा केन्द्रित फिल्महरूको लेखन र निर्देशन गरेका छन् । आफूलाई सामाजिक अभियन्ता भन्नसमेत रुचाउने निर्देशक मनोज पण्डित पछिल्लो समय नेपाली फिल्ममा स्क्रिप्ट डाक्टरका रूपमा व्यस्त छन् । तयार भएका फिल्मका कथाहरू पढ्ने र त्यसमा सुझाव दिने तथा स्क्रिप्ट अझ प्रभावकारी र राम्रो बनाउन सुझाव दिनेजस्ता काममा उनी व्यस्त छन् ।
दासढुङ्गा, बधशाला, खागलगायतका फिल्म उनले निर्देशन गरेका छन् । दासढुङ्गा नेपाली राजनीति र इतिहासको एक गम्भीर रहस्यबारे निर्माण गरिएको महत्वपूर्ण फिल्म हो जसलाई पण्डितले निर्देशन गरेका हुन् । उनले नेपाली फिल्म उद्योगमा सामाजिक र राजनीतिक परिवर्तनबारे सोच्न प्रेरित गर्ने चलचित्रहरू निर्माण गर्ने क्रमलाई निरन्तरता दिइरहेका छन् ।
दासढुङ्गा नेपाली राजनीतिक इतिहासमा घटित एक रहस्यमय घटनामा आधारित राजनीतिक थ्रिलर फिल्म हो । यसले वि.सं. २०५० मा भएको चर्चित जीवराज आश्रित र मदन भण्डारीको मृत्यु प्रकरणको कथा प्रस्तुत गर्दछ । फिल्ममा अनुप बराल, किरण कुँवर, दयाहाङ राई, सञ्चिता लुइँटेल, सौगात मल्ल, अरुणा कार्कीलगायतको अभिनय रहेको छ ।
फिल्मले मदन भण्डारी र जीवराज आश्रित चढेको गाडी त्रिशूली नदीमा खस्ने रहस्यमय दुर्घटनाको छानबिन गर्ने प्रयासलाई प्रस्तुत गर्छ । यस घटनालाई कतिपयले साधारण दुर्घटना भनेका छन् भने कतिले राजनीतिक षड्यन्त्रको संज्ञा दिएका छन् । फिल्मको कथा पत्रकारिता, अनुसन्धान, र सत्य खोज्ने प्रयास वरिपरि घुम्छ । यसका निर्देशक पण्डितलाई वर्ष २०६६ बाट वर्ष निर्देशकका रूपमा प्रस्तुत गरेका छौँ ।
नीर शाह (२०६७)
नीर शाह नेपाली सिनेमान्डुका एक चर्चित अभिनेता, निर्माता, निर्देशक तथा गीतकार हुन् । उनले सिनेमान्डुमा लामो समयदेखि योगदान दिँदै आएका छन् र सिनेमा तथा साहित्यमा एक प्रमुख व्यक्तित्वको रूपमा परिचित छन् । नेपाली फिल्मको विकास र आधुनिकीकरणमा उनको भूमिका महत्वपूर्ण मानिन्छ ।
वि.सं. २००८ सालमा जन्मेका उनले हालसम्म सयौँ फिल्ममा अभिनय गरिसकेका छन् । शाह फिल्मक्षेत्रका पहिलो पुस्ताका कलाकारहरूमध्ये एक हुन् । उनी अभिनेताका रूपमा मात्र होइन निर्माता, निर्देशक र लेखकका रूपमा पनि प्रसिद्ध छन् । शाहले वासुदेव, सिन्दुर, मनको बाँध, वसन्ती, सेतो बाघलगायत फिल्ममा अब्बल अभिनय गरेका छन् । शाहले नेपाली फिल्मको सुधार तथा व्यावसायिक फिल्महरूको उत्पादनमा पनि योगदान दिएका छन् । उनले धेरै फिल्महरूको निर्माण तथा निर्देशन गरेका छन् । नेपाली टेलिभिजनका क्षेत्रमा पनि उनले महत्वपूर्ण भूमिका खेलेका छन् । तत्कालीन नेपाल टेलिभिजनका संस्थापक अध्यक्ष तथा प्रमुख भएर उनले टेलिभिजनको इतिहासमा पनि योगदान गरेका छन् ।
मसान एउटा ऐतिहासिक तथा गहन सामाजिक सन्देश बोकेको साहित्यिक फिल्म हो । गोपालप्रसाद रिमालको चर्चित नाटकमा आधारित फिल्मलाई उनै शाहले निर्देशन गरेका हुन् । यो फिल्मले नेपाली समाजमा व्याप्त जातीय विभेद, छुवाछूत र सामाजिक असमानताको यथार्थपरक चित्रण प्रस्तुत गर्छ । मसान नेपाली समाजमा लामो समयदेखिको जातीय विभेद र छुवाछूतको कथा हो । यो फिल्म एउटा दलित युवकको सङ्घर्षको वरिपरि घुम्छ जसले समाजले लगाएका सीमाहरू तोड्ने प्रयत्न गरेको छ । यही फिल्म मसानबाट वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाहलाई वर्ष २०६७ को वर्ष निर्देशकका रूपमा प्रस्तुत गरेका छौँ ।
निश्चल बस्नेत (२०६८)
निश्चल बस्नेत सिनेमान्डुका ट्रेन्डसेटर निर्देशक हुन् । २०६२÷६३ को जनआन्दोलनपछि नेपाली फिल्म बजार निरन्तर ओरालो यात्रामा थियो । देशभरका अधिकांश हलहरू बन्द हुने क्रममा थिए । नेपाली फिल्म रिलिज गर्नै नसकिने अवस्थामा पुगेको थियो । हलवालादेखि फिल्मकर्मी निराश बनेका थिए । सरकारी नियामक निकाय चलचित्र विकास बोर्डले पनि नेपाली फिल्मका वारेमा चरणबद्ध छलफलहरू चलाएको थियो । समग्र फिल्म क्षेत्रलाई सङ्कटकाल घोषणा गर्ने तयारी भइरहेको थियो । सोही बेला निश्चल बस्नेतको निर्देशन रहेको फिल्म लुट रिलिजमा थियो । रिलिजको पहिलो हप्ता फिल्मले खासै आशा देखाउन सकेन । त्यसपछि निर्माताद्वय माधव वाग्ले र नरेन्द्र महर्जनले मिडियामा आएर सहयोगको अपिल गरे । दोस्रो हप्तादेखि फिल्मले बिस्तारै बजार बढाउँदै गयो ।
दोस्रो हप्ताबाट राम्रोसँग चल्न थालेको यो फिल्म कतै ५१ दिन त कतै ७५ औँ दिनसम्म मनाउन सफल भयो । अन्तत फिल्म लुट ब्लकबस्टर बन्न पुग्यो । व्यावसायिक रूपमा सफल मात्र हैन, नेपाली फिल्म क्षेत्रमै ट्रेन्डसेटरका रूपमा टर्निङ प्वाइन्ट बन्न पुग्यो । त्यसपछिका सबै फिल्म लुटजस्तै वा यस्तै शैलीमा बन्ने होड चल्यो । अहिलेसम्मको हिट फिल्मको सूची हेर्ने हो भने कतै न कतै लुटकै शैली केही मात्रामा भेटिन्छ । यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, कर्मा शाक्य, सृजना सुब्बालगायतको अभिनय रहेको थियो । सङ्कटकाललाई पनि अर्थहीन बनाइदिने यो फिल्मबाट निर्देशक निश्चल बस्नेतलाई वर्ष २०६८ को वर्ष निर्देशकको रूपमा प्रस्तुत गरेका छौँ ।
सुरज सुब्बा नाल्बो (२०६९)
सुरज सुब्बा नाल्बो एक समय चर्चामा रहेका निर्देशक हुन् । सङ्ख्यामा कम फिल्म बनाएका उनी युवा दर्शकहरूमाझ लोकप्रिय छन् । युवाहरूको मनोविज्ञान, आवश्यकता र चाहनालाई केन्द्रमा राखेर उनले फिल्म सायद निर्देशन गरेका थिए । सायद नेपाली युवावर्गको जीवनशैली, सपना, प्रेम र सामाजिक यथार्थता झल्काउने रोमान्सेली र मुख्य रूपमा युवाहरूको जीवनशैलीमा आधारित फिल्म हो । यो फिल्मले नेपाली युवापुस्तामा बढ्दै गएको ड्रग्सको लत, प्रेम सम्बन्ध, सपना र सङ्घर्षको कथालाई प्रस्तुत गर्छ । युवाहरूको भुलभुलैया र भ्रामक सोच, लागूऔषधको असर र दुष्प्रभाव, प्रेम, मित्रता, पारिवारिक सम्बन्ध र जीवनका अप्रत्याशित उतारचढावलाई प्रस्तुत गरेको छ । लागूऔषधको लतले कसरी एक होनहार विद्यार्थीको जीवनलाई तहसनहस पार्न सक्छ भन्ने कुरा फिल्मले देखाउँछ ।
फिल्ममा समाजमा लागूऔषधको समस्या र त्यसको असरलाई स्पष्ट रूपमा देखाइएको छ । युवाहरूले गर्ने गल्ती, प्रेम सम्बन्ध र मित्रताको वास्तविक चित्रण यो फिल्मले गरेको छ । यो फिल्म हेर्न युवा दर्शकहरूको हलमा भिड लागेको थियो भने यस्ता दर्शकलाई यही फिल्मले हलमा दोहो¥याउन सुरु गरेको थियो । सायदपछि सिनेमान्डुमा युवामुखी फिल्महरूको बाढी आयो । नेपाली फिल्मलाई युवापिढीँले हेला गर्ने अवस्थामा उनले सायदबाट युवालाई हलसम्म तान्ने कोशिस गरे । त्यसपछि नेपाली फिल्म हेर्न युवापिढीँ आकर्षित भएको हो । यसर्थ सामाजिक विषयवस्तु र व्यावसायिक निर्देशकका रूपमा सफल फिल्म सायदबाट निर्देशक सुरज सुब्बा नाल्बोलाई वर्ष २०६९ को वर्ष निर्देशकका रूपमा प्रस्तुत गरेका छौँ ।
दिनेस डिसी (२०७०)
टेलिभिजनदेखि स्टेज र नेपाली फिल्मदेखि रङ्गमञ्च तथा विविध गतिविधिमा उत्तिकै संलग्न र क्रियाशील निर्देशक हुन् दिनेश डिसी । हाल चलचित्र विकास बोर्डको अध्यक्षसमेत रहेका डिसीले दर्जनभन्दा बढी टेलिभिजन कार्यक्रम तथा टेलिफिल्म र आधादर्जनभन्दा बढी फिल्म दिर्नेशन गरेका छन् । दर्जनौँ फिल्महरूमा उनी अभिनेताका रूपमा समेत सक्रिय रहँदै आएका छन् । छ एकान छ, मायाज बार, फूलै फूलको मौसम तिमिलाईलगायतका फिल्म उनले निर्देशन गरेका छन् ।
उनको निर्देशन रहेको फिल्म छ एकान छ २०७० को सफल फिल्म हो । छ एकान छ नेपाली सिनेमाको इतिहासमा एक महत्वपूर्ण हास्यफिल्म हो । सिनेमान्डुमा कमेडी फिल्मको व्यावसायिक सफलताको समय यहीँबाट सुरु हुन्छ । यो फिल्मले नेपाली समाजमा देखिने प्रेम, विवाह र हास्य परिवेशलाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गर्छ । यस फिल्मको लेखन पक्ष निकै उत्कृष्ट रहेको छ जसले दर्शकलाई हँसाउन र भावनात्मक रूपमा जोड्न सफल भएको छ । यो चलचित्र बक्स अफिसमा सुपरहिट साबित भएको थियो । फिल्मको रमाइलो कथावस्तु, उत्कृष्ट संवाद र कलाकारहरूको प्रभावशाली अभिनयका कारण दर्शकले अत्याधिक मन पराएका थिए । यही फिल्मबाट निर्देशक दिनेश डीसीलाई वर्ष २०७० को वर्ष निर्देशकका रूपमा प्रस्तुत गरेका छौँ ।
रामबाबु गुरुङ (२०७१)
सिनेमान्डुमा निरन्तर सफल निर्देशक हुन् रामबाबु गुरुङ । उनले निर्माण र निर्देशन गरेका अधिकांश फिल्महरू हिट छन् । अभिनेता दयाहाङ राईलाई ब्रान्डिङ गर्दै सफल अभिनेता बनाउन उनको अधिकतम मेहनत र योगदान छ । कबड्डी सिरिजका सफल निर्देशक रामबाबु गुरुङले कबड्डीबाट नै आफूलाई स्थापित गरेका हुन् ।
मौलिक कला, संस्कृति, गाउँले परिवेश र पात्र, उस्तै लवज र प्रस्तुतिले फिल्म कबड्डी सुन्दर बनेको छ । कबड्डी प्रेमकथात्मक सामाजिक फिल्म हो जसले तीन प्रमुख पात्रहरूको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गर्छ । यो चलचित्र रौनकविक्रम कँडेल, निश्चल बस्नेत र सुनील रौनियारद्वारा निर्माण गरिएको थियो । फिल्ममा निश्चल बस्नेत, दयाहाङ राई, ऋष्मा गुरुङ, राजन खतिवडा र दर्शन सिलवाल मुख्य भूमिकामा थिए । यो फिल्मले मौलिकता, पटकथा, कलाकारहरूको अभिनय र उत्कृष्ट निर्देशनका कारण समीक्षक र दर्शकहरूको अत्याधिक सकारात्मक प्रतिक्रिया पाएको थियो । फिल्म बक्स अफिसमा ब्लकबस्टर साबित भयो र नेपाली सिनेमाको एक कालजयी फिल्मका रूपमा रह्यो । यसलाई आधुनिक नेपाली सिनेमाका लागि एक ऐतिहासिक माइलस्टोन पनि मानिन्छ । यसै फिल्मबाट निर्देशक रामबाबु गुरुङलाई वर्ष २०७१ म वर्ष निर्देशकका रूपमा प्रस्तुत गरेका छौँ ।
दीपेन्द्र के खनाल (२०७२)
वडा नं. ६, रेशम फिलिली, कबड्डी कबड्डी, परदेशीजस्ता सफल फिल्महरू २०७२ अर्थात् भूकम्पकै आसपासमा रिलिज भए । यद्यपि २०७२ मै रिलिज भएको पशुपतिप्रसादलाई त्यस वर्षको वर्ष फिल्मका रूपमा लिएका छौँ । सिनेमान्डुमा नयाँ प्रयोग गर्न रुचाउने वा चुनौती मोल्ने निर्देशकको छवि बनाएका निर्देशक हुन् दीपेन्द्र के खनाल ।
लुट, कबड्डी, कबड्डी कबड्डी, टलकजङ्ग भर्सेस टुल्के, नाइ नभन्नु ल को सिक्वेल, ६ एकान ६, वडा नम्बर ६ लगायत आफ्नै शैलीका कारण चर्चामा रहेका थिए । त्यसमा उही शैली तर फरक प्रस्तुति लिएर पशुपतिप्रसाद आयो । २०७२ को महाभूकम्पलगत्तै प्रदर्शनमा आएको यो फिल्मले भूकम्पकै परिवेश र एक भुइँमान्छेको सपना र सङ्घर्षलाई प्रस्तुत गरेको छ । पशुपतिप्रसादको कथा कतैबाट आयातित होइन । एउटा पुरुषले पशुपतिनाथ परिसरमा भोगेका जीवनका अनेक भोगाइलाई नै फिल्ममा देखाउन खोजिएको छ । यसैले दर्शकलाई यो कथा मौलिक लाग्छ । फिल्मको सफल पक्ष संवाद हो जहाँ हाम्रै परिवेशका कथालाई निर्देशकले मन छुने किसिमले पस्केका छन् । पशुपतिप्रसाद हाम्रो आफ्नै समाजको पात्र हो । पशुपतिप्रसादमा निर्देशक दीपेन्द्र के खनालले प्रशंसनीय काम गरेका छन् । हाम्रै समाजमा रहेको कथावस्तुलाई निर्देशकले टपक्क टिपेर पस्केर दर्शकलाई बाँधेका छन् त्यो आफैँमा उत्कृष्ट छ । यही फिल्मबाट निर्देशक दीपेन्द्र के खनाललाई वर्ष २०७२ को वर्ष निर्देशकका रूपमा प्रस्तुत गरेका छौँ ।
मीनबहादुर भाम (२०७३)
सिनेमान्डुलाई विश्व फिल्मीबजारमा पु¥याउनेमध्ये एक हुन् मीनबहादुर भाम । उनले नेपाली फिल्मलाई अन्र्तराष्ट्रिय मञ्च र प्लेटफर्ममा प्रतिनिधित्व गराएका छन् । साना फिल्मदेखि फिचर फिल्महरूलाई अन्तर्राष्ट्रियकरण गर्दै नेपाली फिल्मलाई विश्वबजारमा पु¥याउन उनको योगदान ठूलो छ ।
फिल्मले कथा बोल्नुपर्छ, कथा देखाइनुपर्छ । यी कुराबाट पर हटेको फिल्म व्यापारिक रूपमा हिट होला तर मानसपटलमा रहिरहन सक्दैन । फिल्मले हेर्नेको मन छुनुपर्छ अनि मात्र सफल मानिन्छ । मुगुका दुई बालक, उनीहरूको मित्रता र सपना अनि एउटा सेतो कुखुराको वरिपरि घुमेको फिल्म कालो पोथी त्यस्तै एउटा सान्दर्भिक फिल्म हो । कर्णालीको मुगुमा बोलिने खस भाषालाई संवाद शैलीमा ढालेर फिल्म बनेको छ । सन् २००१ मा जब तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु ग¥यो, त्यसले कर्णालीको एउटा क्षेत्रलाई पारेको प्रभाव र बाबुले छलकपट गरेर बेचेको पोथी खोजीको अभियानमा यो फिल्म बनेको छ । दुई बालकको जीवनसँग सम्बन्धित रहेर युद्ध, सपना र सङ्घर्षमा फिल्म केन्द्रित छ ।
नेपालमा यो फिल्म हिट भयो । त्यसलगतै विभिन्न देशमा भएका फिल्म फेस्टिभलहरूमा यसले अवार्डहरू हात पा¥यो । यसर्थ ऐतिहासिक फिल्म कालो पोथीका निर्देशक मीनबहादुर भामलाई वर्ष २०७३ बाट वर्ष निर्देशकका रूपमा प्रस्तुत गरेका छौँ ।
दीपाश्री निरौला (२०७४)
टेलिभिजन कार्यक्रम हुँदै सिनेमान्डुमा प्रवेश गरेकी दीपाश्री निरौला सफल निर्देशक हुन् । उनी अभिनेत्रीका रूपमा पनि उतिकै सफल छिन् । सानो पर्दा अर्थात् टेलिभिजन कार्यक्रममा पनि चर्चामा रहेकी दीपाश्री र दीपकराज गिरीले तितो सत्य नामक टेलिशृङ्खलामा लामो समय सहकार्य गरे । यही टेलिशृङ्खलाबाट बनेको यो जोडी अहिले पनि एकसाथ काम गरिरहेको छ ।
दीपक–दीपा एक सफल रिल जोडी मात्र नभई एउटा ब्रान्ड पनि हो । यही ब्रान्डले छक्का पञ्जा सिरिजलाई पाँचसम्म ल्याइपु¥याएको छ । उनै दीपाश्रीको निर्देशन रहेको छक्का पञ्जा २ सफल व्यावसायिक फिल्म हो । विषयवस्तु र प्रस्तुतिका हिसाबले कमजोर रहे पनि प्रदर्शनताका यो फिल्मले नेपाली फिल्मको बजारलाई वृद्धि गर्न सहज वातावरण निर्माण गरेको थियो ।
फिल्म हेरिरहँदा हाई काढ्नु पर्दैन । फिल्मको सबैभन्दा बलियो पक्ष भनेको दर्शकले यसको अन्त्यबारे पूर्वानुमान गर्न सक्दैनन् । फिल्मको मूल कथा प्रेम र धोका नै हो तर त्यसको पृष्ठभूमि अब्रोड स्टडीको बहानामा विदेशिने ट्रेन्डलाई लिइएको छ । डिपेन्डेट भिसामा युरोप र अमेरिका उड्ने तन्नेरी लहडको फेरो समाएर कथा बुनिएको छ । फिल्ममा अधिकांश कलाकार परिपक्व छन् । उनीहरूको अभिनय स्वाभाविक लाग्छ र हास्यरसयुक्त संवादले फिल्मलाई मनोरञ्जनात्मक बनाएको छ । यद्यपि दृश्यमाथि संवाद हाबी भएको छ । संवेदनशील विषयमाथि केही ठट्टा गरिएको जस्तो भान पनि हुन्छ । यद्यपि यो फिल्मलाई दर्शकहरूको अथाह माया र साथ रह्यो । व्यावसायिक रूपमा पूर्ण सफल फिल्म छक्का पञ्जा २ बाट निर्देशक दीपाश्री निरौलालाई वर्ष २०७४ को वर्ष निर्देशकका रूपमा प्रस्तुत गरेका छौँ ।
विनोद पौडेल (२०७५)
बुलबुल २०७५ को सर्वाधिक चर्चामा रहेको फिल्म हो । यसै वर्ष प्रसाद, छक्का पञ्जा ३ र जय भोलेजस्ता सफलहरू पनि थिए तर बुलबुलले देशमा मात्र हैन विदेशमा पनि उतिकै चर्चा पायो । विशेष गरी विभिन्न फिल्म महोत्सवहरूमा सहभागी भएर नेपालको प्रतिनिधित्व गरेको बुलबुल २०७५ को सफल फिल्म हो ।
फिल्म पढेका र बुझेका विद्यार्थीले फिल्म बनाउँदा कस्तो बन्ला भन्दा गौरवका साथ भन्नु पर्ने एउटा उदाहरण हो बुलबुल । हरेक दृश्य, अझ भनौँ हरेक सटमा निर्देशकको रचनाशिल्प कसरी पोतिन्छ यसको घतलाग्दो जवाफ छ बुलबुलसँग । विनोद पौडेल निर्देशित फिल्ममा कथाको दस्तावेजीकरण त छैन तर अव्यक्त कथा र अदृश्य पीडा छ । यो एक ट्याम्पु चलाउने महिलाको कथाजस्तो लाग्छ । ट्याम्पु चलाएर जेनतेन आफ्नो जीवन घिसार्ने महिलाको एक्लोपन र सङ्घर्षलाई फिल्मले प्रस्तुत गरेको छ । त्यसैले पनि यसको कथ्य–संचरना सबैभन्दा बलियो पक्ष हो । एक नारी उत्पीडन र अझ त्यसभित्र पैदा हुने ज्वारभाटाको दृश्य अनि सजीव तस्वीर यो फिल्ममा भेटिन्छ । यो फिल्मबाट निर्देशक विनोद पौडेललाई वर्ष २०७५ को वर्ष निर्देशकका रूपमा प्रस्तुत गरेका छौँ ।
दीपेन्द्र लामा (२०७६)
घामपानीबाट निर्देशन यात्रामा प्रवेश गरेका सञ्चारकर्मी दीपेन्द्र लामाले आधा दर्जनभन्दा बढी फिल्म निर्देशन गरेका छन् । लामो समय रङ्गपत्रकारितामा आफूलाई अभ्यस्त राखेका उनी फिल्म लेखन हुँदै निर्देशनमा आएका हुन् । उनको पहिलो फिल्म घामपानी सफल फिल्म हो । यस्तै उनले निर्देशन गरेका अधिकांश फिल्महरूले चर्चा पाएका छन् । गोपी र दुखी आत्माले व्यावसायिक रूपमा कम चर्चा पाए भने बाँकी फिल्मले औसत रूपमा व्यावसायिक सफलता पनि पाए ।
दीपेन्द्र लामा निर्देशित फिल्म छ माया छपक्कै सफल फिल्म हो । दीपक–दिपा टिममा सहकार्य गरी रोहित अधिकारीले एकल निर्माण गरेको यो फिल्मले नेपाली राजनीति र कोकाकुल गाउँको परिवेशलाई प्रतिनिधित्व गर्छ । छ माया छपक्कैमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको अभिनय रहेको छ । यही फिल्मबाट निर्देशक दीपेन्द्र लामालाई वर्ष २०७६ को वर्ष निर्देशकका रूपमा प्रस्तुत गरेका छौँ ।
एभरेष्ट सूर्य बोहोरा (२०७७)
विशेष गरी २०७७ साल कोरोनाको महामारीको चपेटामा प¥यो । यस वर्ष नयाँ कुनै पनि फिल्म रिलिज भएनन् । ओटीटी प्लेटफर्ममा केही फिल्महरू रिलिज भए । केही फिल्म हलमै रिलिज गरियो तर सबै फिल्म व्यावसायिक र विषयवस्तुको आधारमा असफल बने । कोरोना कहरकै बिचमा रिलिज भएको एउटा फिल्म हो श्री ।
एभरेष्ट सूर्य बोहोराले कोरोना महामारीको लकडाउनलाई विषय बनाएर निर्माण भएको फिल्म श्री त्यति बेलाको परिवेशको फिल्म हो । महामारीका बेला कसरी संयमता अपनाउने भन्नेबारे फिल्मले बोलेको छ । लकडाउनको समयमा निर्देशक बोहराले आफ्नै निर्माण र निर्देशनमा तयार पारेको श्री जम्मा ७२ घण्टामा खिचिएको हो । सनेमान्डुको इतिहासमै सबैभन्दा कम समयमा खिचिएको फिल्म हो यो । श्रीमा सन्दिप क्षेत्री, वर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, वसुन्धरा भुसाल, रविन्द्र झा, भोला सापकोटा, कमलजङ्ग बोहरा, मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, स्वर्गीय श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यान्सिका कार्कीले अभिनय गरेका छन् । यस फिल्मबाट निर्देशक एभरेष्ट सूर्य बोहरालाई वर्ष २०७७ को वर्ष निर्देशकका रूपमा प्रस्तुत गरेका छौँ ।
सुजित बिडारी र कमल एक्चै मगर (२०७९)
२०७८ मा सम्झन लायकका कुनै पनि फिल्महरू प्रदर्शन भएनन् । सङ्ख्याका लागि २५ भन्दा बढी फिल्म प्रदर्शन भए । त्यसमा लक्का जवान, म यस्तो गीत गाउँछु २, कठपुतली, चिसो एस्ट्रे, अकाशे खेती, चपली हाइट ३ र लप्पन छप्पन २ लगायत फिल्महरू रिलिज भए । यी कुनै पनि फिल्मका निर्देशकलाई हामीले वर्ष निर्देशकका रूपमा प्रस्तुत गर्न सकेनौँ । यस्तै २०७९ मा दर्जनाँंै फिल्महरू प्रदर्शन भए । ती फिल्महरूबाट प्रकाश, कबड्डी ४, चिसो मान्छे, झिँगेदाऊ, ऐना झ्यालको पुतली, महापुरुष, डेसान, फूलबारी, छक्का पञ्जा ५ जस्ता सफल फिल्महरू प्रदर्शन भएका छन् । यी फिल्महरूमा कतिपय फिल्म व्यावसायिक रूपमा सफल छन् त कतिपय फिल्म विषयवस्तुका कारण चर्चामा छन् । यी फिल्मबाट दुई फिल्मलाई वर्षको फरक कथाशैली र विषयवस्तुका आधारमा चयन ग¥यौँ । प्रकाश र चिसो मान्छे पनि कथाशैलीका आधारमा उत्कृष्ट फिल्महरू हुन्, यद्यपि फरक शैलीका कारण ऐना झ्यालको पुतली र देसानमा हामी केन्द्रित भयौँ ।
देशविदेशमा थुप्रै अवार्ड जित्न सफल फिल्म हो ऐना झ्यालको पुतली । बाल्यकालको अवस्था र उनीहरूको मनोविज्ञानमा निर्माण भएको यो फिल्मले जो कोहीलाई पनि छुन्छ । ऐना झ्यालको पुतली सरल र सुन्दर कला समावेश भएको फिल्म हो । दर्शकलाई फिल्मभित्रै पसाएर पात्रले बाँचेको जीवनलाई महसुस गराउन सक्ने खुबी यसमा छ । आत्मा र आवरणको अब्बल दृश्यभाषाको रूपमा यो चलचित्र स्मरणीय हुनेछ ।
जीवनमा मामुली कुराले अर्थ राख्छन् । ऐना झ्यालको पुतली बाल्यकालको मामुली क्षणहरूको सँगालो हो । सानो मनले भोगेका दुःखसुख, हाँसोरोदन र उच्छवासका ठूला अनुभूतिहरू सरल र सुन्दर कलामा बुनिएको फिल्मले वर्गीय, लैङ्गिक, भूगोलका असमानता र स्वतन्त्रताको उडान भर्न चाहने साना मनहरूको कथा भन्छ । आठ कक्षा पास गरेकी किशोरी विद्या (कञ्चन चिमोरिया) को लक्ष्य सहर गएर १ कक्षा पढ्ने हुन्छ । अध्ययन र व्यक्तित्व विकासको चाहनालाई उनले घरको विपन्नतासँग सम्झौता गर्नुपर्ने हुन्छ । प्रमुख पात्रले अभाव र गरिबीसँग गर्नुपर्ने सङ्घर्ष फिल्ममा चित्रण छ ।
यस्तै रामेछापको रामेछाप नगरपालिकामा जन्मिएका कमल एक्चै मगरको निर्देशन रहेको देसान फरक विषयवस्तु र कथाशैलीमा निर्माण भएको फिल्म हो । देसान शब्द नेपालमा बसोबास गर्ने १२५ जातिमध्येको मगर जातिको मगर भाषाबाट लिइएको हो जसको शाब्दिक अर्थ महामारी रोग भन्ने बुझिन्छ । परापूर्व कालमा मगर जातिका वस्तीहरूमा यस्ता महामारीको रूपमा फैलिने रोग आउँदा त्यसको निवारण र नियन्त्रणका निम्ति देवीदेवता पुकार्ने, पूजापाठ वा धुपधँुवार गर्ने परम्परा थियो जसलाई देसान पूजा भनिन्थ्यो । यसैलाई पृष्ठभूमिमा राखेर समाजमा विकसित पछिल्लो घटनाक्रमलाई फिल्मले प्रस्तुत गरेको छ ।
पर्फर्मिङ आर्ट क्रियसन प्रालिको ब्यानरमा निर्मित फिल्ममा नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, भोला सापकोटा, कविता आले, आरुषजङ्ग सारु, प्रमिशा सारुलगायतका कलाकारको अभिनय रहेको छ ।
ऐना झ्यालको पुतलीबाट निर्देशक सुजित बिडारी र फरक शैली तथा सामाजिक बेथितिको कथा बोल्ने फिल्म देसानबाट निर्देशक कमल एक्चै मगरलाई संयुक्त रूपमा वर्ष २०७९ को वर्ष निर्देशकका रूपमा प्रस्तुत गरेका छौँ ।
उपेन्द्र सुब्बा (२०८०)
उपेन्द्र सुब्बा लेखक मात्र हैनन् अब्बल निर्देशक र कवि पनि हुन् । विशेष गरी सिनेमान्डुमा आदिवासीका कथालाई विश्वसामु सुनाउने प्रयत्न गर्नेमध्येका एक हुन् उपेन्द्र सुब्बा । जातीय फिल्म होस् या मूलधारका नेपाली फिल्म सयौँ फिल्ममा उनले प्रत्यक्ष भूमिका निर्वाह गरेका छन् । रामबाबु गुरुङ निर्देशित कबड्डी सिरिज होस् या अन्य फिल्म, उनको सम्बन्ध प्रगाढ छ । सिनेमान्डुमा उनलाई निर्देशक कम लेखकका रूपमा बढी चिनिन्छ तर फिल्म जारीले उनलाई सफल निर्देशकको रूपमा स्थापित गरेको छ । उनले पहिले पनि फिल्म निर्देशन नगरेका हैनन् तर जारी उनको रेकर्डेड बन्यो । यही फिल्मबाट स्थापित सफल लेखकका छवि बनाएका उपेन्द्र स्थापित सफल निर्देशक बने ।
दयाहाङ राई जारीका नायक हुन् भने मिरुना मगर नायिका । यो चलचित्रले सुदूरपूर्वी पहाडका रैथाने जाति लिम्बू समुदायको संस्कृतिको कथा उठाएको छ । विशेष गरी पालम र ख्यालीमार्फत लिम्बू समुदायको आफ्नो छुट्टै संसार देखाएको छ । लिम्बू समुदायमा कसरी विवाह हुन्छ त्यो फिल्ममा देखिन्छ ।
मौलिक रैथाने कथा हेर्न दर्शक लालायित छन् भन्ने पनि आजको यथार्थता हो । संस्कृति र सिनेमामार्फत मान्छेले आफ्नो पहिचान खोजिरहेको छ । कतिले आफ्नो संस्कार र रीतिरिवाज बिर्सिदै गएका छन् । मौलिक फिल्महरूले त्यसको सम्झना गराउने हुँदा दर्शकले यस्तो फिल्मलाई रुचाउने गरेको पाइन्छ । यसको उदाहरण उपेन्द्रले जारीमार्फत प्रमाणित गरेका छन् । त्यसो त उपेन्द्र र रामबाबुलाई दर्शक हलसम्म ल्याउन कुनै जाति विशेषको कथा नै चलचित्रमा भन्नु पर्दैन । उनीहरू दुवै प्रमाणित भइसकेका लेखक तथा निर्देशक हुन् । कबड्डी सिरिज यसको प्रमाण हो । यसकारण २०८० मा सफल बनेको फिल्म जारीबाट उपेन्द्र सुब्बालाई वर्ष २०८० को वर्ष निर्देशकका रूपमा प्रस्तुत गरेका छौँ ।
सरोज पौडेल (२०८१)
यस वर्षको मात्र नभई सिनेमान्डुको अहिलेसम्मकै सर्वाधिक कमाई गर्न सफल फिल्मका रूपमा पूर्ण बहादुरको सारङ्गी रह्यो । नेपालमा पछिल्लो समय मौलिक कला, संस्कृति र गाउँले परिवेश र यसमा रैथाने कथासँगै रैथाने पात्रहरूलाई दर्शकले रुचाइरहेका छन् । पूर्ण बहादुरको सारङ्गी यसको ज्वलन्त उदाहरण हो ।
फिल्म निर्माणताका निर्माताले नयाँ निर्देशकलाई फिल्म सुम्पिए । निर्माण पक्षलाई मनमा शङ्का त थियो.नै । स्वयं नवनिर्देशक सरोज पौडेललाई पनि शङ्का थियो कि मैले सफल सिनेमा बनाउँछु कि बनाउँदिन भनेर । उनले मिडियामा पनि राम्रो फिल्म बनेको र औसत रूपमा सफल हुने दाबी गरेका थिए । फिल्म रिलिजको सुरुवाती दिनमा औसत नै थियो ब्यापार पनि तर केही दिनपछि फिल्मले व्यापारमा उल्लेख्य वृद्धि गर्न थाल्यो । नवनिर्देशक सरोज पौडेल पहिलो फिल्मबाट नै स्थापित हुने निश्चित भयो । फिल्मले अहिलेको समयमा पनि ५१ दिन मनाएसँगै सरोज पौडेल सफल मात्र भएनन् सिनेमान्डुमा स्थापित पनि भए । पूर्ण बहादुरको सारङ्गीले गरिब परिवार गन्धर्वजातिको कथा बोलेको छ । फिल्ममा विजय बराल, प्रकाश सपूत र अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ ।
काठमाडौँको चन्द्रागिरीमा बस्दै आएका युवा निर्देशक सरोज पौडेलले नयाँ फिल्म कोसेढुङ्गा निर्माण र निर्देशन गर्ने घोषणा गरेका छन् । २०८१ मा सफल भएको फिल्म पूर्ण बहादुरको सारङ्गीबाट उनलाई वर्ष २०८१ को वर्ष निर्देशकका रूपमा प्रस्तुत गरेका छौँ ।
(नेपाल चलचित्र निर्देशक समाजद्वारा रजत जयन्ती वर्षको उपलक्ष्यमा प्रकाशित स्मारिका बाट साभार)