कवि हरिप्रसाद चौलागाईंको नयाँ कवितासंग्रह ‘देश बाँचे म बाँच्दछु’ राजधानीमा आयोजित विशेष समारोहबीच आइतबार लोकार्पण गरिएको छ । प्राडा. रामप्रसाद ज्ञवाली, प्राडा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, समालोचक ठाकुर शर्मा भण्डारी, कवि हरिप्रसाद चौलागाईं तथा रामसुन्दर देउजालगायतले संयुक्त रूपमा कृतिको विमोचन गरेका हुन् ।
समारोहका प्रमुख अतिथि प्राडा. रामप्रसाद ज्ञवालीले कविता भावनाको अभिव्यक्ति भएको उल्लेख गर्दै उत्कृष्ट कविताका लागि लय, शब्दको सौन्दर्य र भावबीच सन्तुलन अपरिहार्य रहने धारणा राखेका थिए । उनले कवितामा यी तीन पक्षको समुचित संयोजन भए मात्र सिर्जनाले प्रभावकारी रूप लिन सक्ने बताए ।
प्राडा. लक्ष्मणप्रसाद गौतमले चौलागाईंको व्यक्तित्व र सिर्जनाबीच गहिरो सामञ्जस्य रहेको उल्लेख गर्दै संग्रहमा नेपाली कविता क्षेत्रमा कम प्रयोग हुने केही छन्दको समेत प्रयोग गरिएको जानकारी दिए । उनका अनुसार सरल भाषाशैलीमार्फत गहन भाव प्रस्तुत गर्नु कृतिको विशेषता हो ।
कृतिमाथि समीक्षा गर्दै समालोचक ठाकुर शर्मा भण्डारीले संग्रहमा विविध विषयवस्तु समेटिएको र संवेदनशील ढंगले अभिव्यक्त गरिएको बताए । समाजका सकारात्मक तथा नकारात्मक पक्षलाई सन्तुलित दृष्टिकोणबाट प्रस्तुत गरिएको उल्लेख गर्दै उहाँले पदयोग र वियोगका केही पक्षमा सुधारको सम्भावना भए पनि छन्दगत संरचना भने सबल रहेको टिप्पणी गरेका थिए ।
साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले उमेरले सिर्जनशीलतालाई सीमित गर्न नसक्ने उदाहरणका रूपमा चौलागाईंलाई प्रस्तुत गर्दै उहाँका कविताहरू सरल, शालीन र कविको व्यक्तित्वसँग मेल खाने खालका रहेको धारणा व्यक्त गरेका थिए ।
लोकार्पण समारोहमा साहित्यकार, समालोचक, कवि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।