ग्लोबल ग्ल्यामर भेन्चर्सले ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’ का लागि आधिकारिक रूपमा आवेदन खुला गरेको छ । शुक्रबार काठमाडौंस्थित सोल्टी होटलमा आयोजित कार्यक्रममा आयोजकले नयाँ संस्करणको अडिसन प्रक्रिया औपचारिक रूपमा सुरु भएको घोषणा गरेको हो ।
यस वर्षको प्रतियोगिता ‘एभचाभअत ब्क थ्यग ब्चभ’ (तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ) भन्ने नारासहित आयोजना हुँदैछ। आयोजकका अनुसार नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रतिनिधित्व गर्न सक्ने प्रतिभाशाली, बौद्धिक, आत्मविश्वासी र नेतृत्वदायी महिलाको खोजी प्रतियोगिताको प्रमुख उद्देश्य हो ।
मिस युनिभर्स नेपालकी नेसनल डिरेक्टर संगीता पुरीले यस संस्करणका लागि विगतभन्दा अझ भव्य तयारी गरिएको जानकारी दिँदै ग्रान्ड फिनाले आगामी सेप्टेम्बर ६ मा सोल्टी होटलमै आयोजना हुने बताइन् ।
आयोजक संस्थाकी सिइओ सबी पुरीका अनुसार यस वर्षको प्रतियोगितामा अविवाहित र विवाहित दुवै महिलाले सहभागिता जनाउन पाउनेछन् । साथै विदेशमा रहेका गैरआवासीय नेपाली (एनआरएन) महिलाले पनि प्रतिस्पर्धामा भाग लिन सक्ने व्यवस्था गरिएको छ ।
मिस युनिभर्स नेपाल २०२५ की विजेता सान्या अधिकारीको कार्यकालपछि सुरु भएको नयाँ संस्करणमा देश तथा विदेशमा रहेका नेपाली युवतीहरूलाई आवेदन दिन आह्वान गरिएको छ। प्रतियोगिताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गर्नेछन् ।
आयोजकले यस संस्करणमा व्यक्तिगत पहिचान, सामाजिक उत्तरदायित्व र नेतृत्व क्षमतालाई विशेष प्राथमिकता दिइएको जनाएको छ । साथै नेपालमा सौन्दर्य प्रतियोगिताको स्तरलाई थप उचाइमा पुर्याउने लक्ष्य राखिएको पनि उल्लेख गरिएको छ ।
यस वर्ष प्रतियोगिताको मुख्य प्रायोजक विद्युतीय सवारीसाधन ब्रान्ड दिपल रहेको छ भने एक्स–एज र अमृत शुद्ध सूर्यमुखी तेल सह–प्रायोजकका रूपमा आबद्ध छन् । दिपलका सिइओ विवेक सिकारियाले मिस युनिभर्स नेपालसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।
आयोजकका अनुसार आवेदन प्रक्रिया सुरु भइसकेको छ। इच्छुक तथा योग्य युवतीहरूले मिस युनिभर्स नेपालको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत आवेदन दर्ता गर्न सक्नेछन् ।