नेपाली कला, संस्कृति र परम्पराको आकर्षक प्रस्तुति गर्दै ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ (ENCG) फ्रान्स भ्रमण सम्पन्न गरी स्वदेश फर्किएको छ । संस्थापक अध्यक्ष डा. आरसी कोइराला ‘रामचन्द्र’को नेतृत्वमा गएको टोलीले फ्रान्सको सैंट–मैक्सन सहरमा आयोजित ३८औँ अन्तर्राष्ट्रिय बाल सांस्कृतिक मेलामा सहभागिता जनाउँदै नेपालको मौलिक सांस्कृतिक पहिचान अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको हो ।
भ्रमण टोलीमा बागमती बोर्डिङ उच्च माध्यमिक विद्यालय, सुकेधाराका प्रधानाध्यापक श्याम दत्त अधिकारीको संयोजनमा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । टोलीमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष डा. आरसी कोइराला, लालिगुराँस नेसनल एकेडेमीकी सह–प्रधानाध्यापक सुजिता काफ्ले उदास, प्रधानाध्यापक श्याम दत्त अधिकारी तथा विद्यार्थीहरू सुरभि अर्याल, कसिश भट्टराई, सदिच्छा महत, आहना कार्की, श्रुतिरानी गिरि, शुभान्जली साप्कोटा, शुभम सम्राट घले, आध्या अधिकारी, आर्नबी गौतम, सम्पदा ओली, आयुश मिश्र, समृद्धि पौड्याल, आयुषा मिश्र र सम्बन्ध सिवाकोटी सहभागी थिए ।
मेलामा टोलीले मारुनी, कौरा, गर्रा, यति, कुमारी, झ्याउरे र थाली नृत्य प्रस्तुत गर्दै नेपाली लोकसंस्कृतिको विविधता र मौलिकतालाई जीवन्त रूपमा प्रदर्शन गरेको थियो । ती सबै नृत्यको निर्देशन सपना महर्जनले गर्नुभएको थियो ।
फ्रान्स भ्रमणको सम्पूर्ण व्यवस्थापन एभरेष्ट नेपाल कल्चरल ग्रुपकी निर्देशक सीतल आचार्यले गर्नुभएको थियो । भ्रमणका क्रममा विद्यार्थीहरूले विभिन्न विद्यालयहरूको अवलोकन गर्दै शैक्षिक तथा सांस्कृतिक आदान–प्रदानमा समेत सहभागिता जनाएका थिए। यस अवसरमा प्रधानाध्यापक श्याम दत्त अधिकारीले भविष्यमा नेपाल र फ्रान्सका विद्यालयबीच यस्ता शैक्षिक तथा सांस्कृतिक कार्यक्रमलाई अझ विस्तार गर्ने पहल गरिने बताउनुभयो ।
भ्रमणकै क्रममा समूहका प्रमुख डा. आरसी कोइरालाले स्थानीय नगरपालिकाका प्रमुख, आयोजक तथा अन्य विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्दै नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धनका सम्भावना र आगामी सहकार्यबारे छलफल गर्नुभएको थियो । साथै, सरकारी तथा गैरसरकारी निकायहरूको सहकार्यमा यस्ता अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रमलाई अझ व्यापक बनाउने विषयमा पनि सकारात्मक संवाद भएको जनाइएको छ ।