थाइल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’मा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ३ स्वर्ण र १ रजत पदक जित्न सफल भएको छ । फिलिपिन्स, दक्षिण अफ्रिका, भारत, म्यानमार, श्रीलंका र आयोजक थाइल्यान्डसहित १६ देशका प्रतिस्पर्धीलाई उछिन्दै नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय सफलता हासिल गरेको हो ।
ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजका अनुसार ‘एनडिए जुनियर’ टोलीले जुनियर मेघा क्रु र टिन्स विधामा पहिलो स्थान हासिल गर्दै दुई स्वर्ण पदक जित्यो । यही टोलीले जुनियर क्रु विधामा दोस्रो स्थान हासिल गर्दै नेपाललाई एक रजत पदक पनि दिलाएको छ । यस्तै, ‘टिम एनटी’ ले लोक नृत्य विधामा प्रभावशाली प्रस्तुति दिँदै अर्को स्वर्ण पदक जित्न सफल भयो। खुला विधामा भने नेपाली टोली चौथो स्थानमा सीमित रह्यो ।
प्रतियोगितामा नेपाली कलाकारहरूको प्रस्तुतिले निर्णायक, विभिन्न देशका कन्ट्री डाइरेक्टर तथा दर्शकहरूको प्रशंसा बटुलेको थियो । प्रतियोगितास्थलमा नेपालको राष्ट्रिय गान बज्दा र राष्ट्रिय झण्डा फहराउँदा नेपाली प्रतिनिधिमण्डल गौरवान्वित बनेको बताइएको छ । प्रतियोगिता अवलोकन गर्न पुगेकी अभिनेत्री परीक्षा लिम्बुका अनुसार विश्वका विभिन्न देशबाट आएका कला पारखीहरूले नेपाली नृत्य टोलीको खुलेर प्रशंसा गरेका थिए ।
नेपाली टोली हालै नेपालमा सम्पन्न ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ बाट छनोट भएर थाइल्यान्ड पुगेको थियो । रोशन गहतराजको नेतृत्वमा गएको टोलीमा टिम डिभिजन विजेता ‘टिम एनटी’, रनरअप ‘दि इननेट सोल’ तथा जुनियर टिम डिभिजन विजेता ‘एनडिए जुनियर’ सहभागी थिए। गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा विश्वभरका सयौँ उत्कृष्ट डान्सर, प्रशिक्षक र कोरियोग्राफरहरूको सहभागिता रहेको थियो ।
यस संस्करण नेपाली नृत्य क्षेत्रका लागि अर्को कारणले पनि विशेष रह्यो। चर्चित नेपाली डान्स डिरेक्टर तथा कोरियोग्राफर जेडी तमू प्रतियोगितामा निर्णायकको भूमिकामा सहभागी भएका थिए । विश्वस्तरको यस्तो प्रतिष्ठित मञ्चमा नेपाली निर्णायकको उपस्थिति आफैंमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । तमूसँगै अमेरिकी पप स्टार जस्टिन बिबरको चर्चित गीत ‘क्यचचथ’ की कोरियोग्राफर तथा न्युजिल्यान्डकी डान्सर काया पियर्सले पनि निर्णायकको जिम्मेवारी सम्हालेकी थिइन् ।
नेपाली निर्णायकको सहभागिता र नेपाली टोलीको उत्कृष्ट नतिजाले अन्तर्राष्ट्रिय नृत्य मञ्चमा नेपालको प्रतिष्ठा अझ उँचो बनाएको विश्वास गरिएको छ ।