नेपाली रंगमञ्चमा अभूतपूर्व दर्शक आकर्षण बटुलिरहेको नाटक ‘सेतो धरती’ले आफ्नो मञ्चन यात्राको ५१औँ दिन पार गर्दै १०१औँ शोको तयारी गरेको छ । निरन्तर बढ्दो दर्शक चाप र उत्साहजनक उपस्थितिलाई ध्यानमा राख्दै नाटकको प्रदर्शन अवधि श्रावण १६ गतेसम्म लम्ब्याइएको कान्तिपुर थिएटरले जनाएको छ ।
मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेको चर्चित उपन्यासमा आधारित यस नाटक पुनःमञ्चनपछि पनि लगातार लोकप्रिय बनेको छ । दर्शकको माग बढ्दै गएपछि आयोजकले हालसम्म तीन पटक शो थप गरिसकेको छ । अहिले नाटकका अधिकांश शो अग्रिम टिकट बुकिङकै आधारमा भरिने गरेका छन् ।
दैनिक दुईवटा शो सञ्चालन हुँदै आएको नाटक बिदाका दिन भने तीनदेखि चारवटासम्म मञ्चन गरिन्छ । बिहान ९ बजेदेखि राति ८ बजेसम्म विभिन्न समयमा शो आयोजना गरिए पनि अधिकांश टिकट पहिले नै बिक्री हुने गरेको थिएटरले जनाएको छ ।
कान्तिपुर थिएटरका अनुसार पछिल्लो समय ‘सेतो धरती’ले नेपाली रंगमञ्चमा विरलै देखिने दर्शकीय सहभागिता हासिल गरेको छ । दर्शकको अत्यधिक भीडका कारण कतिपय शोमा विशिष्ट अतिथिहरूलाई समेत नियमित सिट उपलब्ध गराउन कठिन हुने अवस्था सिर्जना भएको बताइएको छ ।
नाटक हेर्न पूर्वराष्ट्रपति विद्या देवी भण्डारी, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानमन्त्रीपत्नी सबीना काफ्ले, सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शोभिता गौतम, पूर्वमन्त्रीहरू हिसिला यमी, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भानुभक्त ढकाल, सांसद गणेश कार्की र अनुष्का श्रेष्ठसहित साहित्य, कला, सञ्चार तथा राजनीतिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूले कान्तिपुर थिएटर पुगेर नाटक अवलोकन गरिसकेका छन् । उनीहरूले नाटकको कथावस्तु, प्रस्तुति र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन् ।
गैह्रीधारास्थित कान्तिपुर फिल्म एकेडेमी अन्तर्गत सञ्चालित कान्तिपुर थिएटरमा मञ्चन भइरहेको ‘सेतो धरती’को परिकल्पना तथा निर्देशन सुन्दर धितालले गरेका हुन् ।
नाटक श्रावण १६ गतेसम्म बुधबार बाहेक हरेक दिन साँझ ४ः१५ बजे र ७ः१५ बजे मञ्चन हुनेछ। बिदाका दिन अतिरिक्त दिउँसो १ः१५ बजे पनि शो राखिएको छ । विद्यार्थीका लागि टिकट शुल्क रु. ३००, सामान्य दर्शकका लागि रु. ५०० र विशेष दर्शकका लागि रु. १,००० तोकिएको छ । शोको समयतालिका र अनलाइन टिकट बुकिङको जानकारी कान्तिपुर थिएटरको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।
नाटकमा गीता बिष्ट, सुहाना आचार्य, उमेश सुनाम, सजना थापा, सुस्मिता श्रेष्ठ, एड्रिन धमला, प्रतीक चौधरी, सुप्रज्ञा शर्मा, बिनीता गिरी, अर्नव घिमिरे, सम्राट भुजेल, विरान दाहाल, नितेश लोहार, विकल्प ओली, अर्जुन राई, एलिना कार्की, विशाल कार्की, प्रयास खत्री, वर्षा भण्डारी, रवीन पुन मगर, रबीना भण्डारी, संस्कार चौलागाईं, स्वीकृति पन्त, नविनेश ठाकुर र आराध्या दाहालसहित ३० भन्दा बढी कलाकारहरूको अभिनय रहेको छ। अधिकांश कलाकार कान्तिपुर फिल्म एकेडेमी तथा कान्तिपुर थिएटरसँग आबद्ध छन् ।
बालविवाह, बालविधवा र महिलाको अस्तित्वसँग जोडिएका गम्भीर सामाजिक विषयलाई संवेदनशील ढंगले प्रस्तुत गर्ने ‘सेतो धरती’ अहिले नेपाली रंगमञ्चको सर्वाधिक चर्चित र दर्शकप्रिय नाटकमध्ये एकका रूपमा स्थापित हुँदै गएको छ ।