मोडल तथा सामाजिक अभियन्ता डली गुरुङ याक्थुम्बा ‘पाँचौँ मिसेस नेपाल युनिभर्स–२०२६’ घोषित भएकी छन् । तेस्रो चरणको कोलोन क्यान्सरलाई पराजित गर्दै जीवनमा पुनः सक्रिय बनेकी उनी अब आगामी अक्टोबरमा आयोजना हुने ‘मिसेस युनिभर्स–२०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्नेछिन् ।
ललितपुरको झम्सिखेलमा आइतबार आयोजित ‘क्राउन सेरेमोनी’मा डलीलाई औपचारिक रूपमा विजेताको ताज पहिर्याइएको थियो । लन्डन फेसन हाउसद्वारा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य र मिसेस नेपाल युनिभर्सकी राष्ट्रिय निर्देशक मनिषा डंगोल श्रेष्ठले संयुक्त रूपमा उनलाई ताज हस्तान्तरण गरेका हुन् ।
नेपाली विज्ञापन तथा फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय डली नेपालकै पहिलो टेलिभिजन भिडियो विज्ञापनमा देखिएकी भिजुअल मोडलका रूपमा परिचित छिन् । २०४० र २०५० को दशकमा उनले मोडलिङ क्षेत्रमा उल्लेखनीय योगदान दिएकी थिइन् । क्यान्सरसँगको कठिन संघर्ष जितेर पुनः सक्रिय जीवनमा फर्किएपछि उनी धेरै महिलाका लागि प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित भएकी छन् ।
कार्यक्रममा राष्ट्रिय निर्देशक मनिषा डंगोल श्रेष्ठले डलीको अनुभव, संघर्षशीलता र आत्मविश्वासले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिष्ठा अझ उचो बनाउने विश्वास व्यक्त गरिन् । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी, सहभागी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै ‘मिसेस नेपाल युनिभर्स’ अभियानलाई आगामी दिनमा अझ सशक्त रूपमा अघि बढाइने बताइन् ।
ताज ग्रहणपछि डलीले आफ्नो सफलतामा परिवारको साथ र प्रेरणाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिन् । श्रीमान् निराकर याक्थुम्बा, छोराछोरी तथा सासूआमा इन्दिरा याक्थुम्बाको हौसलाले आफू प्रतियोगितामा सहभागी हुन प्रेरित भएको बताउँदै उनले विश्वमञ्चमा नेपाली महिलाको क्षमता, आत्मविश्वास र पहिचानलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता जनाइन् । साथै, क्यान्सरलाई जितेर पाएको दोस्रो जीवनलाई अर्थपूर्ण बनाउने अवसरका रूपमा आफूले यो यात्रालाई लिएको पनि उनले बताइन् ।