गीत उबेला पनि गुञ्जिन्थ्यो
गीत अहिले पनि गुञ्जन्छ ।
पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालेँ
त्यहि साल माया फाट्यो त्यसलाई पनि मनले टालेँ
यसपालि त मनै फाट्यो के ले सिउने, के ले टाल्ने हो
बस्, अरुणा लामाको गला र गायकीबाट प्रभावित युवा पुस्ताका नयाँ नयाँ गला, गायकी र शैली फेरिए होलान । उबेला र अहिलेका संगीतानुरागीहरुले गीत फरक फरक सन्दर्भमा सुन्दै आए होलान, डुब्दै आए होलान । तर शब्द उही छ, गीतकार उही छ ।
२०३३ सालमा रेकर्ड भएको यो गीतका गीतकार अरु कोही नभएर उनै राजेन्द्र थापा हुनुहुन्छ ।
२०२६ सालदेखि अहिलेसम्म निरन्तर हिट गीति दिइरहनु संयोग मात्र नहोला । यो साधना, समर्पण र संगीतानुरागीहरुको साथको अभिव्यक्ति हो । राजेन्द्र थापा, नामै काफि छ ।
त्यसो त राजेन्द्र थापाको व्यक्तित्व अनेक छन, तर लाग्छ थापाको जन्म गीत लेख्नकै लागि भएको हो ।
पर लैजाउ फुलहरु, छोपी देउ तारा जुन
बन्द गर गीतहरु, तिम्रो याद आउने सबै चिजहरु
राजेन्द्र थापाकै शब्द सापटी लिँदा सामान्यतः एक दशकभन्दा बढि मनपराइएको गीत सदाबहार गीत हुन्छ । राजेन्द्र थापाले लेख्नुभएका उबेलाका गीत पनि स्रोताका रोजाइमा थिए । अहिले लेखेका गीत पनि रोजाइमा छन । उबेला देखि अहिलेसम्म निरन्तर लेखन कार्यमा सक्रिय मात्र होइन, निरन्तर लोकप्रिय र हिट नम्बर पनि । नेपाली संगीतको फरक फरक कालखण्डमा लोकप्रियताको शिखरमै कायम रहिरहने दुर्लभ संयोग राजेन्द्र थापामा सम्भव भएको छ । त्यसैले गीत मात्र होइन थापा स्वयं पनि सदाबहार गीतकारका रुपमा नेपाली संगीताकाशमा चम्किरहनुभएको छ ।
झीरमा उनीनु त्यो एउटा कुरा
पीरमा उनीनु त्यो एउटा कुरा
नभिज्ने आँखा कसको छ र,
तर झर्नु न झर्नु त्यो अर्कै कुरा
गीत लेखनमा थापा अलग लाग्नुहुन्छ । बिल्कुलै अलग, तर पनि स्रोता दर्शकको भावनामा सललल बग्नुहुन्छ । यो नै राजेन्द्र थापाको मौलिक उचाई हो । मौलिक पहिचान हो ।
“पर लैजाउ फुलहरु” भन्दै थापा क्षणिक प्रेमभावबाट जीवनको धरातलमा ओर्लिनुहुन्छ । “पोहोर साल खुसी फाट्दा” भन्दै विमेलमा पोखिनुहुन्छ । “मेरो खुकुरीको नौलो कथा” भन्दै देश दुःख्दा आँफु दुःख्नुहुन्छ । “पहिलो नम्बरमा” भन्दै ठट्यौलीपारामा प्रेमभावमा फुल्नुहुन्छ । “क्या दामी भो” भन्दै जवानीको मुक्त आकाशमा पंक्षी भैmँ बेफिकर बरालिनुहुन्छ । अनि “दर्शन नमस्ते” भन्दै दौँतरीहरुसँग जीवनको उमंग साट्नुहुन्छ । जीवनका सबै रंगहरुमा रंगिनु गीतकार थापाको विशिष्टता हो ।
बोहोसी पछि त होसमा आउँदा क्या दामी भो
यहाँ पिउने म पिलाउने को पो क्या बदनामी भो
थापा गीतकारका रुपमा एक हुनुहुन्छ तर अनेकका हुनुहुन्छ । वहाँका गीत निष्चित समयको सांग्लोमा बाँधिएनन । निष्चित संगीतकार र गायक गायिकाको सेरोफेरोमा सिमित भएनन । नातिकाजी, अम्बर गुरुङदेखि राजनराज शिवाकोटी, दीपक शर्माहरुसम्म । प्रेमध्वज प्रधान, अरुणा लामादेखि समिक्षा अधिकारी, वेनिसा पौडेलहरुसम्म । थापाका शब्दभाव स्पर्श गर्न संगीतकारका औँलाहरु हारमोनियमका रिडमा भौँतारिरहे, गायक गायिकाहरुको गला उतार चढाबमा बगिरहे । अनि जनजन र हरेक मन त्यहि भावमा डुबिरहे । टोल, बस्ती र घरघरमा मानिसहरु नाचिरहे ।
घिन्ताङ घिन्ताङ मादल मात्रै कति बजाम
दिल भए नि फलाम, चट्ट माया दर्शन सलाम
गीत के हो ? शैली कस्तो हो ? अनि जनमनको भावना के हो ? लेखन मात्र होइन, समयानुकुल समिक्षा र बेजोड तर्क क्षमता छ राजेन्द्र थापामा ।
हिजो छुटेदेखि आज हो बल्ल बल्ल भेट भो
बाँचियो कसरी यतिसम्म
धेरैपछि भेट भो
बल्ल बल्ल भेट भो दर्शन नमस्ते
कति छ गीतको संख्या ? गनिरहनुपर्दैन । सब एकसे एक । धेरै भए पनि पुगेको छैन, संगीतप्रेमीलाई अझै नयाँ नयाँ चाहिएको छ । थोरै भए पनि केहि छैन, जति छ, त्यति नै काफी छ ।
राजेन्द्र थापा जनमनका लागि गीत लेख्नुहुन्छ, भन्नुहुन्छ त्यही गीत राम्रो गीत हो जसलाई लोकले मनपराउँछ, जसलाई लोकले मनमष्तिष्कमा सजाउँछ । यस्तो लाग्छ थापा गीतसंगीतका ठूला लोकतन्त्रवादी गीतकार हुनुहुन्छ । त्यसैले वहाँ आँफु भित्रको कविमन र लोकमनलाई भावनाको एकै धागोमा कलमरुपी सियोले उनी शब्द माला बनाउन खप्पिस हुनुहुन्छ ।
यस्ता सक्रियता र सिर्जनशिलताका प्रतिमूर्ति वरीष्ठ गीतकार राजेन्द्र थापालाई “तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२” का अवसरमा “दीर्घ साधना सम्मान” बाट सम्मान गर्न पाउँदा अवार्ड परिवारले आँफुलाई धन्य ठानेको छ । साढे पाँच दशकको अथक, अतुलनीय योगदानप्रति नमन । सँगै आगामी दिनमा समेत पृथकता, सक्रियता र सिर्जनशिलताको हार्दिक मंगलमय शुभकामना !