– कमला जोशी
नेपाली हिन्दू नारीहरूको घर–आँगनमै आईपुगेकोे महान पर्व हरितालिका तीज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाउने तयारी भइरहेको छ । तर विगत केही दशकदेखि यस पर्वले सामना गर्दै आएको सबैभन्दा ठूलो चुनौती भनेको यसको मौलिक स्वरूप र धार्मिक–सांस्कृतिक महत्त्व क्रमशः हराउँदै जानु हो । नारीहरूको आत्मसम्मान, भक्ति, आस्था र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा परिचित तीज, आज आधुनिकरणको नाममा भड्किलो फेसन, सामाजिक सञ्जालमा प्रदर्शन र आर्थिक प्रतिस्पर्धामा सीमित हुँदै गएको छ । यसले केवल पर्वकै सारलाई कमजोर बनाएको छैन, नारी चेतना र हाम्रो मौलिक संस्कृतिलाई समेत गम्भीर प्रश्नमा ल्याइदिएको छ ।
एक समय थियो, तीज आउनु अघिदेखि नै गाउँ–घरमा यसको तयारी सुरु हुन्थ्यो । महिलाहरू गाउँको चौतारो, पाटी वा घर आँगनमा भेला भई सामूहिक रूपमा गीत गाउने गर्थे। ती गीतहरू जीवनका सुख दुःख, मायाप्रेम, परदेशी श्रीमानको अनुपस्थितिको पीडा, सासू–बुहारीबीचको संवाद, चेलीहरूको हाँसोठट्टा र समाजका असमानतालाई समेत उजागर गर्ने खालका हुन्थे । गीतका शब्द सरल तर मार्मिक हुन्थे, लय मौलिक र भाव गहकिला हुन्थे । महिलाहरू बिहानै स्नान गरेर निराहार व्रत बस्थे, सबैजना महिला जम्मा भएर गाउकको एउटै द्दरमा सामुहिक पुजापाठ तथा भजनकिर्तन गर्थे, शिव–पार्वतीको पूजा–अर्चना गर्थे । यो केवल धार्मिक विधि मात्र नभई सामूहिकता, आपसी सम्बन्ध र सामुदायिक एकताको अद्भुत उत्सव थियो ।
तर समयसँगै तीजको स्वरूपमा ठूलो परिवर्तन आयो । आज तीज अघिदेखि नै होटल–रेस्टुराँमा दर खाने कार्यक्रमहरूको बाढी देखिन्छ । महँगो डिजाइनर साडी, ब्रान्डेड गहना, ग्ल्यामरस मेकअप र स्टुडियो फोटोसुटमा महिलाहरू व्यस्त हुन्छन् । सामाजिक सञ्जालमा फोटो र भिडियो अपलोड गर्ने प्रतिस्पर्धाले तीजलाई धार्मिक भन्दा बढी ‘फोटो इभेन्ट’ मा सीमित बनाइदिएको छ । यस प्रवृत्तिले चाडमा आर्थिक असमानताको गहिरो विभाजन देखाइदिएको छ । महँगो खर्च गर्न सक्ने र नसक्नेबीचको दूरी बढेको छ भने परम्परागत आत्मीयता र सामूहिकता पनि ओझेल परिरहेको छ ।
तीज गीत तीजकै आत्मा हो । पुराना गीतहरूमा जीवनको यथार्थ, परिवारको माया, माईतको सम्झना र समाजप्रतिको सन्देश हुन्थ्यो। “माईत जाने”, “दर खाने” जस्ता शब्दहरूले मात्र पनि भावनाको गहिरो संसार कोर्ने गर्थे । तर पछिल्ला वर्षमा तीज गीतको धारा पूर्णतः बदलिएको छ । ‘भाइरल’ बन्ने मोहमा गीतका शब्दहरूमा अश्लील संकेत, भड्किलो प्रस्तुति र मौलिक लयभन्दा बढी पाश्चात्य धुनको प्रयोग बढ्दै गएको छ । भिडियोमा पोशाक, मुद्राभाव र नृत्यशैलीले प्रायः सांस्कृतिक मर्यादाको सीमा नाघेको देखिन्छ । यसले चाडको धार्मिक र सामाजिक महत्व कमजोर बनाइदिएको छ । तीज व्रत केवल मनोरञ्जनका लागि होइन, धार्मिक अनुशासन र आस्थासँग जोडिएको परम्परा हो । स्वास्थ्यका कारण फलाहार वा हल्का परिमार्जन गर्नु उचित भए पनि, अहिले कतिपयले पूजा–अर्चना नगरी केवल दर खाने र रमाइलो गर्ने कार्यक्रमलाई नै तीजको मुख्य पक्ष ठान्न थालेका छन् । यसले तीजको मूल मर्मलाई कमजोर पार्दै लगेको छ ।
तीजमा देखिएका विकृतिहरू धेरै छन् जस्तो फजुल खर्च, महँगो दर कार्यक्रम र फेसनले आर्थिक असमानता बढाएको छ । गीतसंगीतमा अश्लीलता, यसले नारीको गरिमा भन्दा बढी तुच्छ दृष्टिकोणलाई प्रोत्साहन गर्न सक्छ । व्यावसायिकरण, तीजलाई केवल व्यापारिक अवसरका रूपमा प्रयोग गर्ने प्रवृत्ति मौलिक पर्वलाई बजारको वस्तुमा रूपान्तरण गरिरहेको छ । यी चुनौतीलाई रोक्न सामूहिक प्रयास आवश्यक छ । तीज गीतमा मर्यादित भाषा, मौलिक लय र भावर्नालाई प्राथमिकता दिनुपर्छ । महिलासमूह र स्थानीय समुदायले भजन–कीर्तन, लोकगीत, नाटक र मौलिक नृत्यमार्फत तीजको महत्व जोगाउने अभियान सञ्चालन गर्न सकिन्छ । दर खाने परम्परालाई भव्य पार्टी होइन, आत्मीय भेटघाट र सांस्कृतिक कार्यक्रमका रूपमा पुनर्जीवित गर्नुपर्छ । मिडिया र सिर्जनाकर्मीहरूले समेत मौलिक संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राख्न जरुरी छ ।
तीज केवल एक दिनको चाड होइन; यो हाम्रो मौलिक पहिचान, परम्परा र सामूहिक स्मृतिको धरोहर हो । यसलाई फेसन शो, होटल पार्टी वा भाइरल भिडियोमा मात्र सीमित गर्नु भनेको हाम्रो मौलिकता हराउनु हो । आधुनिकता अस्वीकार गर्ने कुरा होइन, तर आधुनिकताको नाममा मौलिकता बिर्सनु हुदैन । जव जरानै भुल्यौं भने टुप्पोले कसरी पलाउनु त्यसैले हामीले जरा जोगाउनु सबैभन्दा जरुरी छ । तीजलाई धार्मिक, सांस्कृतिक र सामाजिक आत्मीयताको पर्वका रूपमा भावी पुस्तामा हस्तान्तरण गर्ने जिम्मेवारी हामी सबैको काँधमा छ ।
हरेक वर्ष आउने हरितालिका तीज केवल रमाइलोको अवसर मात्र होइन, हाम्रो मौलिक संस्कृति जीवित राख्ने महत्वपूर्ण साधन पनि हो। यसलाई जगेर्ना गर्न सक्ने हो भने तीजले नेपाली नारीको आत्मसम्मान, श्रद्धा र सांस्कृतिक पहिचानलाई सधैं बलियो बनाइराख्नेछ, साथै यसको मौलिकता र परम्परा भावी पुस्तासम्म निरन्तर प्रवाहित हुनेछ । तर यदि आजैदेखि सचेत प्रयास गरिएन भने, भड्किलो प्रदर्शन र व्यावसायिकरणको नाममा यस पर्वको मौलिकता क्रमशः हराउँदै जानेछ, र एक दिन तीज आफ्नो वास्तविक स्वरूपसहित सांस्कृतिक क्यानभासबाटै हराउने खतरा पनि बढ्नेछ ।