– सन्तोष सेन
कला, साहित्य, सौन्दर्य र पर्यटनजस्ता विषयहरू कुनै पनि देशको सिमानामा बाँधिदैनन् ।
कुनैपनि देशमा किन नहोस् यदि त्यहाँ सौन्दर्य छ, कला छ, पर्यटन छ, फिल्म छ भने सबै देशका मानिसहरू त्यसको स्वाद लिन चाहन्छ्न् किनभने महत्व देशको हुदैन; कला र सौन्दर्यको हुन्छ । नेपाल जस्तो देशमा जहाँ कला र सौन्दर्य प्राकृतिक रूपमा पनि छ, सांस्कृतिक रूपमा पनि छ, धार्मिक रूपमा पनि छ । त्यस्ता चीजहरूको सौन्दर्यलाई यदि हामीले विश्व बजारिकरण गर्न सक्यौं भने नेपालमा थुप्रै किसिमका सेवाग्राहीहरू आकृष्ट हुन्छन् । अझ फेरि डिजिटल प्लेटफर्म यस्तो क्षेत्र हो जो मानिसका घरघरसम्म पुग्छ । हामी फिल्मको उत्पादन गरेर पनि विश्वभर व्यापार गर्न सक्छौ । हाम्रो फिल्मले पनि विश्वमा बजार बनाउन सक्छ ।
यसका लागि नेपाली फिल्म उत्पादनकर्ताहरूले दुईटा काम गर्न आवश्यक छ । पहिलो काम के भने नेपालको कला, संस्कृति, यहाँको पर्यटन, यहाँको भेषभुषालाई झल्काउने गरेर यहाँको पौराणिक ऐतिहासिक तथा सामाजिक महान कथाहरूलाई अहिलेका विश्वदर्शकका लागि चाहिने विषयवस्तुगत खुराकको अध्ययन गरी त्यस अनुसारका स्क्रिप्ट लेखनमा ध्यान दिनू । नेपाली फिल्मको अवस्था कस्तो छ भने केही औंलामा गन्न सक्ने फिल्मलाई छाडेर बाँकि यसका आफ्नै दर्शक पनि यसलाई हेर्न चाहँदैनन् । अनि विदेशीले हेर्न लायक हामी बनाउन खोज्छौं ।
शैलीमा परिवर्तन ल्याउनुपर्यो । अहिलेको युग अनुसारका दर्शकहरूको मनोविज्ञान बुझेर उनीहरूको प्यास मेटाउने खालका मनोवैज्ञानिक प्रविधिहरूको प्रयोग गरी यसको प्लट तयार गर्न आवश्यक छ । कथा भन्ने पुरानो शैली, पुरानै कथा संरचना, पुरानै गीत संगीत राखेर स्क्रिप्ट लेख्यो भने त्यसले अहिलेको युगका दर्शकको प्यास मेट्न सक्दैन । दोस्रो काम हुनेछ– राम्रो प्रविधिको प्रयोग गर्नु । अहिलेको युग सुगाउँँदो प्रविधिले मात्रै ती चिजलाई झल्काउन सक्छन् । पुरानै प्रविधिले आधुनिक दर्शकलाई तान्न सकिँदैन । यहाँ कलाकार, प्रकाशक, निर्देशकको पनि कमी छैन । यहाँ लेखक र प्रविधिको कमी छ । हामी कम लागतमा पनि विश्व बजारमा उभिन सक्ने सिनेमा बनाउन सक्छौं । प्रेमगीत ३ यसको उदाहरण हो । र तेस्रो काम भनेको विश्वका विभिन्न हलहरू तथा डिजिटल प्लेटफर्महरूसम्म कसरी पुग्न सकिन्छ भन्ने विषयमा चासो राख्नू । अहिले पहिलेको जस्तो देशको यो ठाउँको यो हल भए मात्रै फिल्म चल्छ, त्यहाँ मात्रै फिल्म देखाउनुपर्छ भन्ने छैन । आफ्नो उत्पादनलाई विभिन्न देशका हलहरूमा पनि चलाउन सक्छौं । ओटिटी प्लेटफर्महरूमा पनि चलाउन सक्छौं । सोसल मिडियाको सहयोग लिन सक्छौ । यहाँ कुरा बजारको छैन । अहिले सब भूमण्डलीकरण भइसक्यो । तपाईँसँग एक राम्रो उत्पादन हुनपर्यो ।
उत्पादनका रूपमा त हामी नेपाली पछि छौं तर कला र सौन्दर्यको दृष्टिले हामी निकै सम्पन्न छौं । हामीले अन्य वैज्ञानिक प्रविधिहरूको आविष्कार गर्न नसके पनि कलाको आविष्कार गर्न सक्छौं । एक राम्रो फिल्मको उत्पादन भइसकेपछि वास्तवमा त्यसले बजार आफैं लिन थाल्छ । तपाईँ त्यहाँसम्म पुग्नुहुन्न त्यो अर्कै कुरा हो । तपाईँ त्यहाँको बजारमा लगेर देखाउनुस् त्यहाँका डिस्ट्रिब्युटरहरूलाई देखाउनुस् । दर्शक तान्न योग्य विषयवस्तु छ भने त्यसले पक्कै पनि स्थान लिईहाल्छ किनकि दर्शक जहाँको होस् उसमा एउटा कलाको प्यास रहेको हुन्छ । उसको कलात्मक प्यास मेटिनुपर्यो । मुख्य कुरा त्यही हो ।
नेपाली चलचित्रको विश्व बजारीकरणका लागि पहिलोपटक प्रेम गीत ३ टिमले पहल गरेको थियो र विदेशका विभिन्न हलहरूमा फिल्म चलाउन सफल भएको थियो । नेपाली चलचित्र बजारका लागि यो एक राम्रो उदाहरण हो तर बजारीकरणमा मात्र ध्यान दिने विषयवस्तुमा ध्यान नदिने हो भने त्यो खाली समय र श्रम खेर जाने सम्भावना पनि हुन्छ । त्यसैले मुख्य कुरा संसारभरका दर्शकलाई तान्न सक्ने, छुन सक्ने विषयवस्तुमा आधारित कलात्मक चलचित्र निर्माण गर्न सक्नुप¥यो त्यसपछि विश्व बजारीकरणका लागि पहल गर्नुपर्यो । प्रेमगीतपछि “बलिदान“ चलचित्रलाई विभिन्न भाषामा अनुवाद गराई देशविदेशका विभिन्न सहरहरूमा प्रदर्शन गराइदै छ । नेपाली चलचित्र उत्पादनकर्ताले प्रेरणा ग्रहण गर्नु निकै आवश्यक देखिन्छ ।
(नेपाल चलचित्र संघको ५० औं साधारणसभामा प्रकाशित स्मारिकाबाट)