सभ्यताको उषा काल देखि नै सायद मान्छेहरु गुनगुनाउथे होला । सङ्गीतको विन्दू ध्वनीसँग सम्बन्धित हुन्छ भनिन्छ, जसलाई शास्त्रले नाद भनेको पाइन्छ । संसारमा गीत सङ्गीत मन नपर्ने मान्छे सायद को नै होला र ? त्यसैले इच्छा, आकांक्षा, चाहाना वा रहर–लहरले गीत सङ्गीतमा विश्वका राजादेखि रङ्कसम्म होमिएका छन् ।
हाम्रो कानसम्म आई पुगेको गीत सङ्गीतमा गायक, गायिका, रचनाकार, सङ्गीतकार सबैको उत्तकै मिहिनेत रहेको हुन्छ । तर, हामीले गायकको मात्र ऊ फलनाको गीत भन्ने गर्दछौं । हो गीत जस्तो सुकै राम्रो भए पनि यदि त्यसलाई समधुर आवाज भएन भने त्यो गीत, गीत हुन सक्दैन । त्यस्तै शब्द, सङ्गीत र आवाजको उत्तिकै तालमेल आवश्यक हुन्छ एउटा राम्रो गीतका लागि ।
नेपाली गीत सङ्गीत आजको अवस्थासम्म आइ पुग्दा यसमा खोला–नाला र भङ्गालाहरु अनेक छन् । यो समयमा गायक, गायिका, रचनाकार, सङ्गीतकारहरुले अमूल्य योगदान दिएका छन् । सेतुराम नेपाली आधुनिक गीतका आदिगायक मान्निछन् । उनले वि.सं. १९६५ सालमा नै गीत गाएर नेपाली साङगीतिक आकाशमा नेपाली भाषाको गीत रिकर्डिङ गर्ने पहिलो गायक हुने सौभाग्य पाए । गीत गाउने क्रममा उनले सुरुमै राष्ट्रिय विभूति मोतीराम भट्टद्वारा लिखित ‘यता हे¥यो यतै मेरा नजरमा राम प्यारा छन्’ बोलको गजल गाए । यस गीतको धून पनि उनैले दिएका थिए । नेपाली गीत सङ्गीतको प्रारम्भिक कालमा मित्रसेन जति लोकप्रिय बनेर विस्तारित भए मेलवादेवीको कमनीय कण्ठले उनीभन्दा कम प्रसिद्धि पाएन । मेलवादेवीको स्वर विदेशमा बस्ने नेपालीका मनमनसम्म पुगेको थियो । प्रसिद्धिको हिसाबले मात्र होईन स्तरीय गायनकै हिसाबले हेर्दा पनि वि.सं. २००७ साल अघि मेलवादेवीको स्वर–साधन, सङ्गीत ज्ञान, स्वर मिठास र स्वर श्रृष्टिलाई उछिन्न सक्ने कुनै महिला र पुरुष स्वर फेला पर्दैन । यसले के देखाउछ भने नेपाली आधुनिक सङ्गीतको क्षेत्रमा आधुनिक सङ्गीतको विकासको प्रारम्भिक–कालदेखि नै सङ्गीतमा महिला स्वरहरुले पनि झ्याली पिट्दै आएका पशस्तै उदाहरणहरु छन् । महिला गायकीको सङ्ख्या र स्तरकै हिसाबले पनि नारी स्वरहरु पुरुषको प्रतिस्पर्धामा प्रखर बन्दै आएकै छन् ।
नेपाली गीत सङ्गीत कसैले शौखको रुपमा, कसैले आफ्नै रहरमा त कसैले अरुको प्रेरणा र प्रोत्साहनले गाएको देखिन्छ भने हाम्रो देशमा यसलाई जिविकोपार्जनका लागि पनि गाएको पाइन्छ जस्तै गाइने । विगतमा जे जसरी गीत गाइए पनि अहिले यो व्यवसायिक, शौख र मनोरञ्जनको एउटा साधनको रुपमा अगाडी बढी रहेको छ । नेपाली गीत सङ्गीत वि.सं. १९५० सालपछि मात्रै प्रमाणिक रुपमा उठेको भेटिन्छ त्यसैलाई आधार मान्ने हो भने पनि यसले १ सय २६ वर्ष पार गर्न लागेको छ । नेपाली गीत सङ्गीतको यो कालखण्डमा नारी आवाज र हस्ताक्षर पनि त्यतिकै पाइन्छ । म यस लेखमा नेपाली गीतहरुमा नारी हस्ताक्षरका केही कुराहरु ब्यक्त गर्ने जमर्को गर्दै छु ।
नेपाली महिला गतिकारमा पहिलो को भन्ने कुरा इतिहासमा लुप्त छ । अर्थात कतै प्रष्टरुपमा भएको पाइदैन् । यस सम्बन्धी खोज कर्ता वरिष्ठ सङ्गीतकार तथा अनुसन्धानकर्ता बुलु मुकारुङका अनुसार नेपाली गीतहरुमा गीतकारको नाम हुदैन्थ्यो । मेलवादेवी, पारुलवाला, पञ्चवालादासी, हिना देवी, जोनी सिंह, मिसप्रिया हिरावाई आदीले गाएका नेपाली गीतहरुमा पनि गीतकार सङ्गीतकारको नाम उल्लेख भएको पाइदैन । ती गीतहरु उनै गायिकाको रचना र सङ्गीत हो भन्ने गरेको पनि पाइन्छ । मेलवा देवीका कतिपय गीतहरुमा रचना र सङ्गीत उल्लेख भएको पाइन्छ ।
रेडियो नेपालको स्थापनासँगै गीतकारहरुको नाम उल्लेख हुनेगरेको पाइन्छ । यसमा पनि नारी हस्ताक्षरको संख्या भने निकै कम रहेको छ । गीतकार चादनी शाह, कोइली देवी, छिन्नलता, उवर्शी केशरी, लक्ष्मि उप्रेति, जलेश्वरी श्रेष्ठ, उन्नती शिला बोहरा, सितल काम्दवीनी, ललिता कुवर, गङ्गा सुवेदी, पुजा मारिया, गीता खत्री, गायत्री थापा, गीता त्रिपाठी, उषा शेरचन, प्रतिमा श्रेष्ठ, शोभा केसीलगायतका पछिल्लो पुस्ताका नारी हस्ताक्षरहरु हुन ।
नेपाली गीत सङ्गीतमा नारी हस्ताक्षरका बारेमा शितल काम्दवीनी यसो भनछिन्– ‘महिला गीतकारको संख्या हाम्रो देशमा धेरै नै भए पनि सबैले निरन्तरता दिने कम छन् । पारिवारिक तथा अन्य कारणले यस्तो भएको हुन सक्छ । महिलाहरुलाई सजिलो पनि छ र गाह्रो पनि छ । हुनत हरेक क्षेत्रमा सजिलो र गाह्रो त भइहाल्छ नि । हाम्रो समाज पुरुष प्रधान भएको हुनाले पनि त्यसको असर हाम्रो समाजमा पर्ने नै भयो । त्यस्तै ललिता कुवर का शब्दमा ‘गीतकारहरुले कतिपय अवस्था निरन्तर गर्न नसक्नुमा पारिवारीक कारण पनि हुने गर्दछ । त्यस्तै पच्छिलो समयमा आएर पैसा हुनेले मात्र एलब्म निकाल्ने जस्तो अवस्था देखिएको छ । फेरि हामिकहाँ गीतकारलाई पारिश्रमिक दिनु पर्छ भन्ने सोचको विकास नै भएको छैन् ।’ अनि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी पूर्व अध्यक्ष तथा गीतकार गीता खत्रीका अनुसार ‘नेपाली गीत सङ्गीतमा महिला गीतकारहरु पनि अग्रस्थानमा छन् । नेपालीहरु विश्वमा जहाँ जहाँ रहेका छन् ति ठाउँहरुमा नेपाली भाषा, साहित्य, कला संस्कृतिको जर्गेना गर्न अग्रसर भएका छन् । नेपाल बाहिर भएका नेपालीमा महिलाहरुको स्थान अग्रणी रहेको छ ।’ गीतकार शोभा केसी भन्छिन्– नेपाली गीत सङ्गीतमा महिला गीतकारहरुको उपस्थीति पच्छिल्लो समय बढेको देखिन्छ । यसले पनि सङ्गीतमा नयाँपन र नौलो आयाम आएको छ । तर, कतिपय अवस्थामा आफू संक्षम हुँदाहुदै पनि पारिवारिक सर्पोट नहुँदा चाहे जस्तो गर्न नसकेको अवस्था पनि भएको पाइन्छ ।
आधा आकाशको उपमाको रुपमा लिने महिलाहरु पनि नेपाली गीत सङ्गीतमा आधा आकाश भन्दा बढीनै भएको पाइन्छ । तर, कतिपय अवस्थामा नारीहरुलाई नजर अन्ताज गरेको पाइन्छ । हुनत यो पुरुषप्रधान समाजको उपज पनि हुन सक्छ । जे होस नेपाली गीत सङ्गीतमा नारी हस्ताक्षरको उपस्थि दब्रिलो रहेको छ । हाम्रो समाजको जुनसुकै अङ्गमा नारी र पुरुषबीच लैङ्गीक विभेद रही आएको छ । जुनसुकै क्षेत्रमा पनि महिलाहरु सुषुप्ति बाँचिरहेको देखिन्छ । समष्टिमा महिलाको उत्साह, आँट र समथ्र्यजन्य विस्तृतिले भूमि पाउन समय लाग्ला नै ।