चलचित्र यस्तो विधा हो जसमा जहिले पनि टिमवर्क हुन्छ । कलाकारिता क्षेत्रदेखि प्राविधिकसम्म र लेखकदेखि निर्देशकसम्मको भूमिका उत्तिकै हुन्छ । तैपनि चलचित्र निर्देशककै माध्यम हो । चलचित्र सफल र असफल हुँदा चलचित्रका अन्य कर्मीभन्दा निर्देशकले नै जस–अपजस पाइरहेकै हुन्छ । चलचित्र निर्देशकको अभिव्यक्ति भएका कारण पनि निर्देशक नै जस–अपजसको पात्र बन्नु परेको हो । हाम्रो सन्दर्भमा कुरा गर्ने हो भने चलचित्र सफल हुँदा कलाकारले धेरै जस पाइरहेका छन् । निर्देशक ओझेलमा परेको हुन्छ तर बुझ्नैपर्ने के हो भने चलचित्र सफल हुनलाई सबैभन्दा बढि निर्देशकीय भूमिकाले काम गरेको हुन्छ ।
आज हामी चलचित्र निर्माणमा निर्देशकीय क्षमताको प्रभाव र चलचित्र सफलताको कारणले नेपाली चलचित्रको ट्रेन्ड परिवर्तन गर्न, व्यावसायिक क्षमताका कारण चलचित्रको प्रभावलाई रोक्न वा बढाउन उल्लेख्य भूमिका खेलेका केही निर्देशकहरुका बारेमा चर्चा गर्दैछौं । निर्देशकीय क्षमताका कारण नयाँ मोडमा नेपाली चलचित्रलाई अगाडि बढाउन सफल केही निर्देशक र ती निर्देशकका चलचित्रको सानो चर्चा यहाँ गरिरहेका छौं ।
नेपाली चलचित्र २०२२ सालको ‘आमा‘बाट प्रारम्भ हुन्छ । नेपाली कलाकारले नै अभिनय गरेको चलचित्र ‘आमा‘ले हामी नेपालीलाई एकसूत्रमा नेपालीमा गाँस्यो । यसका निर्देशक हीरासिंह खत्री भने भारतीय मूलका नेपाली थिए । तत्कालीन अवस्थामा स्व. राजा महेन्द्रको उत्पे्ररणाबाट सञ्चार मन्त्रालयको मातहतमा निर्माण भएको नेपाली चलचित्रको पहिलो चलचित्र भएकै कारण पनि मानक मान्नुपर्ने हुन्छ । प्रारब्धका निर्देशक भएर पनि स्व. हीरासिंह खत्री चलचित्र निर्माणको सुरुमै भएका कारण यहाँ उल्लेख गरिएको हो ।
२०२३ सालमा निर्माण भएको चलचित्र ‘माइतीघर‘ नेपाली चलचित्रको स्थापित सूत्रको चलचित्र हो । निर्देशक बीएस थापाले निर्माण गरेको ‘माइतीघर‘ आजसम्मका व्यावसायिक चलचित्रको ‘मानक‘ हो भन्दा फरक पर्दैन । व्यावसायिक चलचित्र बनाउनेहरुले यसकै ट्रेन्ड पछ्याए भने कतिले यो चलचित्रजतिको पनि बनाउन सकेनन् । बीएस थापाले कोरेको यहि व्यवसायिक चलचित्रको बाटोमा हाम्रो व्यवसायिक चलचित्र अझै निर्माण भइरहेका छन् । चलचित्रले व्यवसायिक सफलता पाउनु र ट्रेन्ड पछ्याउनु फरक कुरा हो । २० को दशकमा आमा, माइतीघर, हिजो आज भोलि, परिवर्तन, मनको बाँध गरी जम्मा पाँच चलचित्र बन्नु नै ठूलो कुरा थियो । हिजो आज भोलि र परिवर्तन हीरासिंह खत्रीकै थिए । मनको बाँधबाट प्रकाश थापा उदाए । चलचित्र निर्माण भयो यही ठूलो कुरा भयो । २०३४ मा ‘कुमारी‘ निर्माण भयो । प्रेमबहादुर बस्नेतको निर्देशनमा बनेको यो चलचित्र रङ्गीन थियो । प्रविधिको हिसाबमा यसले फड्को मा¥यो र त्यसपछि नेपालमा कुनै श्यामश्वेत चलचित्र बनेनन् पनि । यो चलचित्र पनि प्रविधि परिवर्तन गर्ने चलचित्र मात्रै बन्यो । स्व. प्रकाश थापाको निर्देशनमा बनेको चलचित्र ‘सिन्दुर‘ २०३६ सालमा रिलिज भयो । यसअघि बीएस थापाले बनाएको जुन ट्रेन्डमा ‘माइतीघर‘ थियो त्यसैको नजिक भएपनि नेपाली चलचित्रको मानक बनाउन यो चलचित्र पनि सफल रह्यो । हुन त यसअघि नै प्रकाश थापाले ‘मनको बाँध‘ निर्देशन गरेका थिए तापनि यो चलचित्र अलिकति माथि नै थियो । व्यावसायिक धार निर्माण गर्न र नारीलाई सशक्त चित्रण गर्न यो चलचित्र अझै बलियो देखियो । एउटा व्यावसायिक धारमा यो चलचित्रले प्राथमिकता पायो ।
४० को दशकमा बनेको तुलसी घिमिरे निर्देशित चलचित्र कुसुमे रुमाल र २०४४ सालमा प्रदर्शित चलचित्र ‘साइनो‘ नयाँ ट्रेन्डका साथ आए । व्यावसायिक चलचित्रका रुपमा मात्र होइन यी चलचित्र ट्रेन्ड निर्माण गर्न पनि केहि सफल भएकै हुन् । यसो त व्यावसायिक र कलात्मक बनाएर असफल हुनु तर ट्रेन्ड पछ्याएनन् भने खासै व्यावसायिक सफलता प्राप्त गर्न सकेन तर निर्देशक नीर शाहले ‘कट्टेल सरको चोटपटक‘ उपन्यासमा आभारित रहेर कलात्मक चलचित्र बनाएका हुन् । २०४७ सालमै निर्माण भएका चलचित्र तुलसी घिमिरेको चिनो, प्रकाश थापाको कन्यादान व्यावसायिक आकर्षणका चलचित्र भए यसबाट आर्थिक मुनाफा देखेर कोही आकर्षित भए होलान् तर ट्रेन्ड नै स्थापना गर्न सकेका चलचित्र भने होइनन् । तर व्यावसायिक मानकका प्रशंसायोग्य चलचित्र भने हुन् ।
४० को दशकसम्म बन्ने चलचित्र नेपाली चलचित्र भएपनि पुग्ने अवस्था थियो । त्यतिखेर धेरै सङ्ख्यामा चलचित्र नबनेका कारण पनि नेपाली भाषाका चलचित्र हेर्न दर्शक इच्छुक हुन्थे । सामाजिक कथा र गाउँले परिवेशको कथावस्तु हुनाका कारण पनि चलचित्र सफल मानिन्थे । दीपक रायमाझीको युगदेखि युगसम्म, सुबोधकुमार पोखरेलको मनकामना, उगेन छोपेलको तृष्णा, उद्धव पौडेलको गोपीकृष्ण, तुलसी घिमिरेको दुई थोपा आँसु, यादव खरेलको आँधीबेरी, राजेन्द्र शलभको भाउजु, तुलसी घिमिरेको देउता, यादव खरेलको प्रेमपिण्ड, राजकुमार शर्माको ट्रक ड्राइभर ५० को दशक सुरु हुनुपूर्वका उल्लेख्य चलचित्र हुन् । व्यावसायिक रुपमा कतिपय चलचित्र सफल भए कतिले जोखिममा चलचित्र निर्माण गरे । यसबाट पनि उल्लेख्य चलचित्र हुनु नै ट्रेन्ड पछ्याउनु हो भन्न सकिदैन ।
२०४६ को राजनैतिक परिवर्तनपछि चलचित्र निर्माणमा देखिएको तीव्रता ५० को दशकमा अत्याधिक देखियो । ५० को दशकमा धेरै चलचित्र निर्माण भए । एक से एक सफल पनि भए । केही चलचित्र ट्रेन्ड स्थापना गर्न पनि सफल भए । सबै चलचित्र सफल हुन्छन् भन्ने पनि छैन । यो दशकमा धेरैभन्दा धेरै चलचित्र सफल भए । सफल चलचित्रबाट नै ट्रेन्ड स्थापति हुने हो तर सबै सफल चलचित्रले ट्रेन्ड बनाउन सक्दैनन् । जब सफल भएर पनि ट्रेन्ड पछ्याउने चलचित्र बन्दैन त्यसलाई ट्रेन्ड भन्न सकिदैन । ५० को दशकमा खास गरी आफ्नो मान्छे, बलिदान, जिन्दगानी, दर्पण छायाँजस्ता धेरै चलचित्र सफल भए । यसमा खासगरी दर्पण छायाँचाहिँ ट्रेन्डिङ चलचित्र बन्न सक्यो । यसैबाट प्रभावित भएर धेरै चलचित्र बन्न थाले तर सफलता एउटा कुनै चलचित्रलाई पछ्याएर मात्र हुँदैन । कथा र विषयवस्तुको प्रस्तुतीकरणमा नयाँपन ल्याउँदै पुरानो अवस्थालाई जसले ब्रेक गर्न सक्छ त्यही चल्ने हो । यसो त शिव रेग्मी आफ्नो मान्छेमा, तुलसी घिमिरे बलिदानमा, उज्ज्वल घिमिरे जिन्दगानीमा सफल पनि भएका छन् तर तुलसी घिमिरे दर्पण छायाँमा भने धेरै हदमा सफल मानिए । ट्रेन्डका रुपमा दर्पण छायाँ सफल भयो । व्यावसायिक रुपमा त सुखःदुख पनि उत्तिकै सफल भएको हो । पीडा र दुख देखाएर कथालाई प्राथमिकता दिने चलन पुराने ट्रेन्ड हो । तुलसी घिमिरेले जसरी कथा भन्ने शैली देखाए चलचित्रमा शिव रेग्मीको धार पनि त्यही थियो । यसो भन्दैमा सबैले सफल चलचित्रलाई पछ्याउदैनन् । पछ्याउने चलचित्र हो कि व्यावसायिक रेकर्डको चलचित्र हो भन्ने बुझ्नुपर्छ । आफैंमा ५० कै दशकलाई चलचित्रको सफल एवं व्यावसायिक काल मान्न सकिन्छ । यसैले यस दशकमा धेरै सफल चलचित्र बनेका छन् । १०० दिन वा ५१ दिन मनाउने चलचित्रको लाइन नै थियो त्यसबेला । यो मनाउने अवसर पाउनु पनि सफलता हो भन्ने बुझ्नुपर्छ ।
६० को दशकमा पनि धेरै चलचित्र सफल रहे । हामी तीन भाइ, मुग्लान, तक्दिर, म तिमीबिना मरिहाल्छु, मेरो एउटा साथी छ, नाइँ नभन्नु ल लगाय थुप्रै चलचित्र सफल भए । शिव रेग्मी हुन् वा दयाराम दाहाल हुन् वा दीपक श्रेष्ठ हुन्, विकास आचार्य हुन् वा सफल चलचित्रका कुनै पनि निर्देशक हुन् वा आफ्नोपनलाई पछ्याइरहे । सफलताको मापक र ट्रेन्डिङको मिलेमतो भएन ।
२०६८ मा आएको चलचित्र निश्चल बस्नेतको ‘लुट‘ भने फरक रह्यो । यो चलचित्रले आफूलाई सफल मात्र बनाएन कि ट्रेन्डिङका हिसाबमा पनि अगाडि देखियो । यसो त चलचित्रमा अश्लीलता भित्राउने आरोप पनि यसैलाई जान्छ । चलचित्रमा छाडा शब्द बोलेर विकृत बनायो भन्ने आरोप पनि यो चलचित्रले बेहोर्नु प¥यो । तर राम्रा दर्शक भएनन्, गाउँमा हल छैन, सहरका युवा चलचित्र हेर्दैनन् । खासगरी प्लस टु पढ्ने दर्शक हलसम्म आएनन् भने चलचित्रलाई चिर्दै युवा र टिनएजरलाई हलसम्म ल्याउने काम यो चलचित्रले ग¥यो । व्यावसायिक रुपमा मुनाफा राम्रो थियो । नयाँ दर्शक थप्न सफल भयो । यसैको सिको गर्दै विभिन्न चलचित्र आए । ‘लुट‘ ले बनाएको ट्रेन्ड धेरैले पछ्याए तर एउटै विषयमा मात्र चलचित्र कहाँ चल्छन् र ∕ जसले नयाँ वर्गलाई तान्नुपर्छ भनेर नवीनता दिए उनीहरु सफल भए ।
७० को दशक छक्का पञ्जामय र कमेडीमय भयो । दिनेश डिसी निर्देशित छ एकान छबाट सुरु भएको छक्का पञ्जा टिमले यसपछि उज्ज्वल घिमिरेको निर्देशनमा वडा नम्बर छ बनायो । त्यसपछि छक्का पञ्जा नामबाटै अगाडि बढेको यो टिम २०८१ सम्म पनि जारी छ । यस्तै रामबाबु गुरुङले निर्देशित कबड्डी–४ सम्म आफूलाई सफल निर्देशक बनाइराखे । बरु्र फुलबारी, डिग्री माइलाजस्ता चलचित्रले भने उनलाई साथ दिएनन् । ७० कै दशकबाट ए मेरो हजुरले पनि सिरिज बनाइरह्यो । कुनमा कत्ति सफल÷असफ बक्स अफिसले निर्धारण गर्ने हो ।
निर्देशकले आफूलाई आफ्नै चलचित्रको सिरिजमा उर्तान र कलाकार भने एउटा चलचित्रमा सफल हुनेबित्तिकै तानातान गर्ने प्रवृत्ति छ । यसबाट निर्देशकको अभिव्यक्ति भनिने चलचित्रको निर्देशक पछाडि परेको छ भने एउटै चलचित्रका आधारमा कलाकारलाई बढी भन्दा बढी पारिश्रमिक तोकेर उकासिएको छ जसका कारण चलचित्रको बजार भन्दामाथि आफू पुगेको भान कलाकारले गर्न थालेका छन् । जुन कुरा अन्य चलचित्रकर्मीका लागि मात्र होइन स्वयं कलाकारका लागि पनि राम्रो होइन । बजारभन्दा माथि कलाकार हुँदैनन् । यस तर्फ स्वयं कलाकारले पनि सोच्नुपर्ने हुन्छ । चलचित्रको ट्रेन्ड के हो ∕ त्यो प्रवृतिलाई पछ्याउनु हो कि नक्कल गर्ने हो ∕ यही कुरा बुझ्न जरुरी छ । ट्रेन्ड त्यो हुनुपर्छ जसले चलचित्र उद्योगलाई हलचल गराओस्, व्यावसायिक रेकर्ड कायम गरोस्, लयात्मक चलचित्र बनोस्, प्रस्तुतिकरण राम्रो होस् । तब न अर्थ राख्छ । निर्देशकले अरुको चलचित्रलाई पछ्याउने होइन ∕ आफूले आफ्नो सृजना दिन र देखाउन सक्ने हुनुपर्छ ।
यो आलेखमा यो चलचित्र चल्यो भनेर सबै चलेका चलचित्रको बिवरण राख्न खोजिएको पनि होइन । ‘ट्रेन्ड‘ को चर्चा गर्न खोजिएको हो । अधिकांश चलचित्र सिर्जनात्मक नहुनु विडम्बना हो । सफल चलचित्र केलाई भन्ने पनि प्रश्न छन् । बौद्धिक जमात व्यावसायिक क्षमता खोज्दैन भने फिल्मी पण्डित व्यावसायिक सफलता खोज्छन् ।
निर्देशक तुलसी घिमिरे कथावाचक भएर चलचित्रमा देखा परे । उनका सिनेमा हेरेपछि दर्शकक एकअर्कामा कथा सुनाउँथे । यही बाटेमा शिव रेग्मी देखा परे । शम्भु प्रधानका चलचित्र व्यावसायिक धारमा गए । यसो त जस्तो खाले चलचित्र चलेपनि त्यो व्यावसायिक नै हुन्छ । नीर शाहको बौद्धिकता चलचित्रमा देखियो । मसान, वासुदेव, वसन्तीजस्ता चलचित्रले उनको बौद्धिकतालाई मापन गर्छ नै । धमाधम चलचित्र निर्देशन गर्ने निर्देशक नारायण पुरी हुन् वा व्यावसायिक विविधता पस्किने निर्देशक दयाराम दाहाल हुन् अथवा कुनै बेला निरन्तर निर्देशन गरिरहने दीपक श्रेष्ठ हुन् सबै निर्देशक कहीँ न कहीँ चलचित्रघरको इट्टा बनेर बसेकै छन् । यादव खरेलले आफूलाई पृथक् निर्देशकको परिचय बनाएकै हुन् । प्रेमपिण्ड, श्री स्वस्थानी, आदिकवि भानुभक्तजस्ता चलचित्र निर्देशन गरेर आफूलाई प्रमाणित गरे । महिला निर्देशक दीपाश्रीले आफूलाई कमेडी चलचित्रमा ढालिन् भने रामबाबु गुरुङले अर्गानिक चलचित्रमा आफूलाई प्रमाणित गरे ।
युवायुवा पुस्तालाई आकर्षित गर्दै आएका निश्चल बस्नेत, दीपेन्द्र के खनाल, हास्यरसकै सिनेमा बनाउने प्रदीप भट्टराई (जात्रा सिरिज), सुदर्शन थापा, रमेश बुढाथोकी, स्व. दीपक रायमाझी फरक धार प्रस्तुत गर्ने मीन भाम, नवीन सुब्बा, दीपक रौनियार जस्ता निर्देशकले पनि आफूलाई अब्बल रुपमा देखाए । कसैले नेपाली मौलिकता र संस्कार एवं संस्कृतिलाई जोड दिए भने कोही अन्तर्राष्ट्रिय रुपमा लागे । लेखक, कलाकार हुँदै निर्देशक बनेका उपेन्द्र सुब्बा पनि अर्गानिक बनेरै देखा परे ।
प्रशस्त चलचित्रहरुको निर्देशन गर्नेको त एउटा धार बनिसकेको हुन्छ । कतिपय निर्देशक भने १∕ २ चलचित्रमै हराउँछन् र पनि कसैले आफ्नो प्रभाव छोड्न सक्छन् । सरोज पौडेल निर्देशित चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी‘ नेपाली चलचित्रको इतिहासमै अभूतपूर्व रह्यो । व्यापारिक हिसाबमा यसले ७५ करोडको व्यापार ग¥यो भनियो । यस हिसाबले नेपाली चलचित्रको इतिहासमा यो धेरै फड्को हो । चलचित्रको विषयले कत्तिको प्रभाव छोड्ला त्यो हेर्दै जानुपर्छ तर यो देखेर धेरै निर्माता, निर्देशक चलचित्र निर्माणको होडमा लागिसकेका छन् । प्रशस्त लगानी डुब्ने दुर्भाग्य नहोस् भन्ने कामना गर्न मात्रै सकिन्छ । एउटा चलचित्र ब्लकबस्टर भयो भन्दैमा सबै हुँदैनन् । मौलिक चलचित्रमा जोड दिउँ । मौलिक चलचित्र नै अझै व्यावसायिक हुन सक्छन् भन्ने बुझौं ।